राधादेवी पाटनका गणेशबहादुर र मोतीलक्ष्मी श्रेष्ठकी छोरी हुन्। उनका आमाबाबुका सात छोरी थिए। विभिन्न रोगले राधादेवीका पाँच दिदीबहिनीको कलिलैमा मृत्यु भयो। बाँच्नेमध्ये उनी र एक जना बहिनी 'रुक्मिणी' थिए।
उनको नाम 'राधा' र बहिनीको 'रुक्मिणी' राख्नुको पनि कारण रहेछ।
'मेरो घर (माइती) कृष्णमन्दिर पछाडि हो,' ९७ वर्षीया राधादेवीले सुनाइन्, 'त्यही भएर बाले राधा नाम राखिदिएको। बहिनी त कृष्णाष्टमीकै दिन जन्मिएको भएर 'रुक्मिणी' नाम राखेको थियो।'
उनकी यी बहिनीको पनि पछि निधन भएछ।
राधालाई आफू जन्मेको ठ्याक्कै साल याद छैन। भन्छिन्, '९० सालको भुइँचालोमा १० वर्षकी थिएँ।'
भुइँचालो बेला उनका बाबुले माथिल्लो तलाबाट भाइलाई लिएर ओर्लिएछन्। उनी पनि पछि-पछि लागेर ओर्लँदा भर्याङ ढलेछ। भर्याङले किचेर फुटाएको उनको निधार अहिलेसम्म पनि पुक्क परेको छ।
'टाउको माथिसम्मै चिरिएको थियो। घाउ ठीक हुन महिनौं लाग्यो,' उनले सुनाइन्।
पाटन, मंगलबजारमा जन्मिएकी राधादेवीको बाल्यकाल घ्वाइँकासा र गट्टा खेल्दै बित्यो। आलु, प्याज र अन्य सामग्री बेच्ने बाबुको पसलमा कहिलेकाँही बस्थिन्। त्योबाहेक भाइ हेर्ने काम पनि थियो।
करिब १३ वर्षकी थिइन्। खेल्दै गरेको ठाउँमा उनकी आमाले एक जना महिला लिएर आइन् र भनिन्, 'बिहे गर्ने भनेकी केटी यिनै हुन्।'
त्यो दिन सम्झिँदा राधादेवीलाई अहिले पनि लाज लाग्छ। भन्छिन्, 'यत्तिकै खेलेर बसेको ठाउँमा आमाले ल्यायो। म कस्तो फोहोरी देखिन्थेँ।'
त्यो सुन्नेबित्तिकै लाज लागेर उनी भागिछन्। भागेर के हुने थियो र ! बिहे हुनै थियो। १४ वर्षमा उनको बिहे बखुम्बहाल निवासी शंकरराज र नोगलदेवी जोशीको छोरा सत्यमोहन जोशीसँग भयो। राधादेवीभन्दा सत्यमोहन तीन वर्ष मात्रै ठूला थिए।
'गुफै नराखी बिहे गरेको नि,' उनले थपिन्, रजश्वला नै भएको थिएन। अनि त बिहे भए पनि श्रीमान-श्रीमती बेग्लै सुत्नपर्थ्यो।'
गुफा नराखेसम्म त उनीहरूबीच धेरै बोलचाल पनि हुन्थेन रे।
किन नि?
'लाज मानेर के। नजिक हुने समय नहुने। दिउँसो उहाँ पढ्न जाने,' उनले भनिन्, 'साँझ उहाँ आफ्नो बा र भाइसँग सुत्ने। म सासूआमा र उहाँको बहिनीसँग सुत्ने। गुफा राखेपछि पहिलोपटक उहाँसँग कोठामा पठाइदियो अनि बल्ल बोल्यो नि।'