सन्दीप र सोमपाल क्यानडामा : मौका पाउँलान् त आज आम्ने-साम्ने हुन ?

तस्बिरः एजेन्सी

टोरन्टो । क्यानडामा जारि ग्लोबल टी-२० लिगमा आज नेपाली बलरद्वय सन्दिप लामिछाने र सोमपाल कामि आमने सामने हुनेछन्।

सिंगापुरमा सम्पन्न विश्वकप छनोट खेलेर गएराति नै क्यानडा उडेका उनीहरू आज बिहान ८:२५ बजे टोरोन्टो आइपुग्ने छन्।

दुवै खेलाडी आजै टोलीमा सहभागी हुनेछन्।

शुक्रबारबाट सुरु भएको ग्लोबल टि-२० लिगको दोस्रो संस्करणमा सोमपाल विन्नीपेग हक्समा तथा सन्दिप टोरोन्टो नेसनल्स टिममा रहेका छन्।

सोमपाललाई ३ हजार डलरमा तथा सन्दिपलाई ६० हजार डलरमा ड्राफ्टमा लिईएको थियो।

विन्नीपेग हक्सको कप्तान वेस्ट इन्डिज क्रिकेटर रायद इमरितले तथा टोरोन्टो नेसनल्सको भारतीय क्रिकेटर युभराज सिंहले गरिरहेका छन्।

सोमपालको टिम विन्नीपेग हक्सले पहिलो खेलमा मोन्टरियल टाइगर्ससँग हार बेहोरे पनि दोस्रो खेल भान्कुभर नाइट्सलाई हराउँदै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ।

यस्तै सन्दिपको टिम टोरोन्टो नेसनल्सले पनि २ खेलमा १ जित र १ हार बेहोर्दै अंक तालिकाको तेस्रो स्थानमा छ।

टोरोन्टोले तेस्रो खेल आज राति १०:१५ बजे सोमपालको टिम विन्नीपेग हक्ससँग खेल्दैछ।

सन्दिपले आजै खेल्ने सम्भावना उच्च रहेको छ भने सोमपालले अन्तिम-११ मा मौका पाउनेछन् या छैनन् हेर्नुपर्नेछ। सोमपाल पहिलो पटक ठुलो लिग खेल्न छनौट भएका हुन्।

सन्दिपको टिममा युभराज सिंह लगायत ब्रेण्डन म्याकलम, काइरन पोलार्ड, मिचेल म्याक्लेनघन जस्ता खेलाडीहरु रहेका छन्।

सोमपालको टिममा जेपी डुमिनि, ड्वेन ब्राभो, ड्वेन स्मिथ, उमर अकमल, क्रिस लिन जस्ता खेलाडीहरु रहेका छन्।

१८ दिनसम्म चल्ने यो फ्रेन्चाइज प्रतियोगितामा क्रिकेट जगतमा सनसनी मच्चाउन सफल क्रिस गेल, युवराज सिंह, केन विलियम्सन, शाहिद अफ्रिदीदेखि ब्रेन्डन म्याक्ल्हन, ड्यान ब्राभो, आन्द्रे रसेल, थिसरा परेरा, सकिबअल हसनसँगै दुई नेपाली खेलाडी पनि मैदान उत्रिँदैछन्।

यसअघि पहिलो सस्करणमा सन्दीप लामिछाने ‘मन्ट्रियल टाइगर्स’ बाट खेलेका थिए भने सोमपालको यो पहिलो अन्तर्राष्ट्रिय टीटेन्टी सहभागिता हो ।

पहिलो संस्करणमा थोरै पारिश्रमिकमा खेलेका सन्दीपले पाँच खेल खेल्दै ८ विकेट लिएका थिए।

पहिलो संस्करणको ग्लोबल टी–ट्वेन्टी भ्यान्कुभर भाइब्सले जितेको थियो ।

 

प्रकाशित मिति: : 2019-07-29 07:59:25

प्रतिकृया दिनुहोस्