धादिङको ३१ वर्षे समिर घिसिङको (नाम परिवर्तन) हातमा इन्जिनियरिङको डिग्री थियो तर बेरोजगार । जागिर खोज्न भौतारिदाँ भौतारिदै उनलाई निराशाले गाँज्यो। एक्लै बस्न थाले । त्यो बिचमा उनले विभिन्न मानसिक रोग उपचार केन्द्रमा परामर्श लिए, औषधि खाए । परिवारको एक लाख बढी खर्चिँदा पनि उनको समस्या रत्तिभर कम भएन ।
त्यसपछि उनकी ४६ वर्षीया आमाले केन्द्रीय मानसिक अस्पताल पाटन लिएर आइन् । डाक्टरले त्यहीँ राखेर उपचार गराउन सल्लाह दिए ।
तर बेड पाए पो राख्नू ।
अस्पतालका कर्मचारीलाई भनसुन लगाउन पाए बेड पाइन्थ्यो कि भन्ने झिनो आशा बोकेर उनी प्रशासन भवनतर्फ अघि बढ
अस्पतालको ओपीडी कक्षबाट निस्किदै गरेको डाक्टरलाई रोक्दै भनिन्, ‘लौन डाक्टर सा’ब, मेरो बिरामीलाई एउटा बेड मिलाउनु पर्यो ।’
डाक्टरले अफ्ठ्यारो मान्दै भने, ‘कसरी पो मिलाउनु खोर्इ ? एउटै बेड खाली छैन् । अब कसलाई हटाएर तपाईको बिरामीलाई बेड दिनू ।’
उनी निराश भइन् । उनी भन्दै थिइन्, ‘अब यो अवस्थामा कता पो लानु ? यही ढोकाअगाडि सुताएर जानु पर्ला ।’
चिकित्सकहरूका अनुसार देशकै एक मात्र केन्द्रीय मानसिक अस्पतालमा बिरामीको चाप धानिनसक्नु छ । विपन्न वर्गका मानसिक रोगीहरुको भीड नै लाग्छ तर, अस्पतालको उपचार सेवा भद्रगोल छ । उपचारका लागि चाहिने पर्याप्त उपकरण,औषधि, बेड, विशेषज्ञ चिकित्सक र नर्स छैनन्, जसको प्रत्यक्ष फाइदा नजिकका निजी अस्पताललाई भइरहेको छ भने विपन्न वर्गका बिरामीहरुलाई मार ।
****
विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्याङ्कअनुसार पनि नेपाल आत्महत्या गर्ने देशहरूको सूचीमा आठौँ स्थानमा छ । गत आर्थिक वर्षमा मात्र नेपालमा आत्महत्या गर्नेहरुको संख्या ५ हजार भन्दा बढी थियो । ९५ प्रतिशत आत्महत्या मानसिक रोगको कारणले हुन्छ । त्यस्तै अपराधमा संग्लग्न अधिकाशं व्याक्तिहरु कुनै न कुनै मानसिक रोगबाट पीडित हुने गरेको अध्ययनहरूले देखाएको छ ।
विकासशील देशहरुमा मानसिक रोग हुने प्रमुख कारण गरिबी भएको विश्व स्वास्थ्य संगठनको अनुसन्धानको निष्कर्ष छ । यस्ता देशहरुमा १९ देखि ३९ वर्ष उमेर समूहका ८० प्रतिशत मानिसहरु मानसिक रोगसँग संघर्ष गरिरहेका हुन्छन् ।
विश्व स्वास्थ्य संगठनको यो निष्कर्षले पनि नेपालमा मानसिक रोग चुनौती बन्दै गएको प्रष्ट हुन्छ । मानसिक अस्पतालमा आर्थिक वर्ष ०७२/७३ मा ३८ हजारले उपचार सेवा लिँदा ०७३/७४ को आर्थिक वर्षमा ४१ हजार पुगेको तथ्यांक छ । यो सङख्या आव २०४/७५ मा बढेर ५० हजारमा पुग्यो ।
यो तथ्यांकले नेपालमा मानसिक स्वास्थ्यसम्बन्धी समस्या भयाबह बन्दै गएको देखाउँछ तर केन्द्रीय अस्पतालको हालत बेहाल छ । अस्पतालले सेवा दिन नसक्दा बिरामीहरुले भोग्ने हैरानीको फेहरिहस्त लामो छ ।
मानसिक अस्पताल पाटनबाहेक त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा पनि साइक्याट्री विभाग छ । शिक्षण अस्पताल र वीर अस्पतालको साइक्याट्री विभागले बिरामीको चाप अनुसार सेवा दिन सकेको छैन ।
२ साउनमा अस्पताल पुग्दा देखिएको दृश्यले पनि त्यही भन्छ । अस्पतालको ओपीडीबाट एक युवा बिरामीसहित टिकट काट्ने ठाउँमा आइपुगे र कर्मचारीलाई सोधे, ‘यहाँ एमआरआई, सिटीस्क्यान गराउने कता हो ?’
बिरामीको अनुहारतिर पनि नहेर्दै कर्मचारीले भने, ‘यहाँ हुँदैन ।’
‘डाक्टरले रिपोर्ट ल्याउनु भनेका छन्, कहाँ हुन्छ त ?’
फेरि जवाफ आयो, ‘यहाँ हुँदैन भनेको सुन्नु भएन, डाक्टरले जहाँ भनेका छन् त्यही जानू ।’
कर्मचारीको रूखो व्यवहारपछि बिरामीको आफन्त ओपीडीतिर लागे ।
सरकारी वेवास्ताको हद्
अस्पतालको यो हालत हुनुमा प्रमुख कारण हो, सरकारी वेवास्ता । ३५ वर्षअघि मानसिक अस्पताल स्थापना हुँदा ५० शैया थियो, जसमध्ये तीन वटा इमर्जेन्सीमा छुट्याइएको छ । अहिलेसम्म पनि अस्पतालले बेड सङख्या बढाउन सकेको छैन ।
दैनिक ३ सय बिरामी पुग्ने अस्पतालमा जम्मा १६ जना नर्सको दरबन्दी छ । यो दरबन्दी पनि २०४० सालकै हो ।
मानशिक अस्पतालले उपलब्ध गराएको तथ्यांक अनुसार एघारौं तहको चिकित्सकको ३ वटा दरबन्दी छ । कन्सलटेन्ट साइक्याट्रिकको ६ वटा दरबन्दी रहेकोमा १ जना मात्र कार्यरत छन् । ६ जना मेडिकल अधिकृतको दरबन्दी छुट्याइएपनि ३ जना मात्र कार्यरत छन् । कुल ७४ दरबन्दी मध्ये २६ खाली नै छ ।
११ जना रेजिडेण्ड चिकित्सकको भरमा अस्पताल चलिरहेको छ ।
बिरामीको चाप बढेर सेवा दिन गाह्रो भएपछि अस्पतालले एक वर्षअघि ‘ओएनएम’ सर्भे पनि गराएको थियो । अस्पतालको बेड सङख्या कम्तिमा ३ सय हुनुपर्ने, नर्स १६० र नर्सिङ अधिकृत ५२ जना चाहिने देखियो । डाक्टरसँगै अस्पतालको लागि नयाँ भवन र उपकरण ल्याउनुपर्छ भन्ने ‘ओएनएम’ सर्भे रिपोर्टमा उल्लेख छ । तर स्वास्थ्य मन्त्रालयमा बुझाइएको प्रतिवेदनबारे अहिलेसम्म कुनै जवाफ आएको छैन ।
नाम मात्रको केन्द्रीय अस्पताल !
केन्द्रीय अस्पतालको अवधारणालाई मान्ने हो भने अस्पतालमा फरकफरक विभाग हुनुपर्छ तर, मानशिक अस्पतालमा न’चाइल्ड साइक्याट्रिक’ विभाग छ न त लागूऔषध प्रयोगकर्ताहरुको । आपराधिक घटनामा संलग्न मानसिक रोगीदेखि विभिन्न घटनाका पीडित एकै ठाउँमा उपचार गराइन्छ ।
अस्पतालमा जिल्ला अस्पताल सरहको सुविधा पनि नभएको डा. आनन्द अधिकारी स्वीकार गर्छन् । उनकाअनुसार नयाँ ओएनएम सर्भेले बाल, लागूऔषध, एडल्ट र फरेन्सिक साइक्याट्रिक विभाग लगायत ६ वटा विभाग माग गरेको छ । ‘मन्त्रालयले माग पुरा गर्ला कि नगर्ला शंका व्यक्त गर्दै उनले भने, यो नाम मात्रको केन्द्रीय अस्पताल हो । बजेट कम, जनशक्ति पनि कम । उपकरण पनि छैन ।’