नेपाललाई सिंगापुरको बिशाल लक्ष्य, जित्नका लागि १९२ रन बनाउनुपर्ने, हेर्नुहोस् नेपालको ब्याटिङ LIVE

तस्बिरः बिएल

सिंगापुर ।  सिंगापुरमा जारी आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत अन्तिम तथा निर्णायक खेलमा सिंगापुरले नेपाललाई १९२ रनको बिशाल लक्ष्य दिएको छ।

इन्डियन एसोशिएसन मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १९१ रन बनाएको हो।

सिंगापुरका लागि टिम डेभिडले सर्वाधिक ७७ रन बनाए। ४३ बल खेलेका उनले ८ चौका र ३ छक्का प्रहार गरे।

यस्तै ओपनर रोहन रंगाराजनले ४९ रन बनाए। ३३ बल खेलेका उनले ४ छक्का र ३ चौका प्रहार गरेका थिए।

यस्तै मन्दीप सिंहले २७ बलमा ४२ रन बनाउँदै सिंगापुरलाई ठूलो स्कोरतर्फ डोहोर्‍याए।

नेपालका लागि अभिनास बोहोराले सर्वाधिक  ४ विकेट लिए। करन केसीले २ विकेट लिएका थिए।

सन्दीप लामिछानेले ३ ओभरमा ३४ रन खर्चिँदा बसन्त रेग्मीले ४ ओभरमा ५४ रन दिएका थिए।

आजको विजेता टोली आगमी अक्टोबरमा यूएईमा हुने ग्लोबल छनोटमा स्थान बनाउने छ। नेपाल पराजित भए वा वर्षाको कारण अंक बाँड्नु परे विश्वकप खेल्ने सपना समाप्त हुने छ।

सिंगापुर ३ खेलमा २ मा जित सहित ५ अंक जोड्दै शीर्ष स्थानमा छ । वर्षाको कारण कुवेतसँग सिंगापुरले अंक बाडेंको थियो । नेपाल तीन खेलमा २ मा जित र १ मा हारका साथ ४ अंक जोड्दै दोस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति: : 2019-07-28 08:54:11

प्रतिकृया दिनुहोस्