खोई कता छ त्यो भाग्य?
देखाइदेऊ कोही,
चिमोट्नु छ, कोट्याउनु छ,
चिथोर्नु छ, कोतर्नु छ,
एक लात्ती हिर्काउनु छ।
बरु जेल जान्छु
मार्नु छ।
अभागी बनाउनु छ त्यसलाई।
कोही भेटाइदेउन ए,
कहाँ छ त्यो भाग्य?
‘बा मलाई माफ गरिदिनुस्। मैले वचन पूरा गर्न सकिनँ।’
रातो बाकस खोलेर मस्त सुतेको छोरोको टाउको मुसार्दा यसरी बोल्लाजस्तो लागेको थिएन डम्मर बहादुरलाई। कपाल आधा जिङ्रिङ छ। झासझुस उम्रिएका दारी अलिक लामा भएर एकले अर्कालाई बेरेका छन्।
सँगै उम्रिए पनि धेरै सेता भइसकेका र, अलिअलि बचेका काला दारीले एकले अर्कोलाई अंगालो मारेजस्ता। त्यो रातो बाकसभित्र सधैँका लागि निदाएको छोरोलाई हेर्न ती दारी पनि डराएका छन्। केही दिन अघिमात्रै छोरो दसैंमा आउँछुभन्दा मेहेन्दीले रंगिएर कालो हुने रहर बोकेका ती दारी अब कहिल्यै काला हुने छैनन्।
सत्तरी पुग्नै लागेका छन्। एक वर्षअघि मात्र छोरालाई फूलमालाले बिदाइ गर्दाको तस्बिर आँखामा झलझली आए होलान्। तस्बिरले घोचेका आँखाबाट चार थोपाजति आँसु निदाएको छोराको हातमा तप्प गरे। अहँ चलमलाएन छोरो। अरु कसैले नसुन्ने गरी खुसुक्क उनलाई मात्र भन्यो, ‘बा मलाई माफ गरिदिनुस्। मैले वचन पूरा गर्न सकिनँ।’
‘केही छैन छोरा, प्रयास त गरिस्,’ फतफताए उनी।
वरिपरि जम्मा भएका आफन्त छोराको शब हेर्न नसकेर बौलाए भन्न थाले। तर, उनलाई केही मतलव छैन। छोरोसँग भलाकुसारी गर्दै छन्। उनलाई थाहा छ- अब छोरो घर होइन यतैबाट घाट जानेछ। वर्ष दिनपछि भेटेको छोरोसँग कुरा गर्न उनलाई त्यही एयरपोर्टअगाडिको भाग र थोरै समय मात्र त बाँकी छ। घाटमा जले पछि कसरी कुरा गर्नु।
‘बा कति रिन बाँकी छ?’
छोरोको प्रश्न नसकिँदै उनको मुखबाट निस्कियो, ‘छैन छोरा जेठाले सबै तिरिसक्यो।’
खै किन ढाँटे उनले। छोरो माथिजाँदा पिर नलागेस् भनेर होला पक्कै।
जेठोले घर छाडेको त दस वर्ष भइसक्यो। दस वर्षअघि नै बडा जातको छिमेकीकी छोरी भगाएर हराएको जेठोको अत्तो पत्तो छैन। र, त्यही दिनदेखि कान्छोले घर सम्हालेको थियो। ठिकठाक थियो घरको अवस्था।
आमालाई साथी पनि होस्, सहयोगी पनि होस् भनेर तीन वर्षअघि आमाकै माइती गाउँकी पातलीसँग बिहे भाको थियो। परदेश जाँदा सात महिनाको छोरी पातलीको पेटमा राखेर गएको थियो ऊ। पातलीलाई सबैभन्दा ठूलो पिर त्यही छ, बा खै भन्दा सानीलाई के भन्ने?
म मरे पनि,
तिम्रो सिन्दुर नपुछ्नु ल।
देखाइदिनु समाजलाई,
तिमीभित्रै जिउँदै छु म।
मरेको छैन,
तिमीलाई लुछ्ने छैनन्,
ब्वाँसाहरूले।
बिहे गरेको भोलिपल्ट उसले पातलीलाई यस्तै भनेको थियो।
‘बा, पातली खोइ त?’
जवाफ आएन एक छिन। ‘अस्पतालमा छ, तेरी आमासँग’। अस्पतालको कुरा ल्याउन चाहँदैनथे उनी। ठिकठाक चलिरहेको घर, आमा स्तन क्यान्सर भएपछि उपचारका लागि त परदेशिनु परेको थियो ऊ। त्यसबेलाको घटना आँखाअगाडि नाच्न थाले।
‘छोरा पर्दैन है उपचार गर्न मलाई, पातली दुई जिउकी छे, अब भुन्टेभुन्टी के आउने होला, त्यसका बारेमा सोच।’
डेढ वर्षअघि स्तन क्यान्सर भएको पत्ता लागेपछि, उपचार गराउन कसिएको छोरोलाई यसो भनेकी थिइन् आमाले। क्यान्सरको निःशुल्क उपचार भए पनि, काठमाडौं जानुपथ्र्यो। बस्नु पर्यो, खानुपर्यो। कता बस्नी के खानी कोही थिएन काठमाडौंमा।
त्यही क्यान्सर हो कि होइन भनेर जचाउन जाँदा भएको सबै सकिएको थियो। अब त्यहीँ बस्नसक्ने सामथ्र्य थिएन परिवारको।
‘आमा, म छु नि परदेश जान्छु, कमाउछु। एक वर्षमा त ठिक भइहाल्छ। उपचार त गर्नै पर्छ नि, म छु नि आमा’ बहादुर छोरो थियो ऊ।
‘बरु रगत क्यान्सर, टाउको क्यान्सर के जाती लाग्नु नि ठिकै नहुने गरी दूधमा डल्लो पलाएर सबैले दुख पाउने भए।’
यस्तै भनेकी थिइन् आमाले। तर, जिद्दी छोरोको अगाडि केही लागेन। र, छिमेकीकहाँ सानो घर धितो राखेर डेढ लाख तिरेर हिँडेको थियो ऊ आमाको उपचारको जोहो गर्न परदेश तिर।
अलिअलि साँवा ब्याज त तिरेकै हो। तर, अझै पचास हजार त बाँकी नै छ।
‘आमा कहिले ठिक हुनुहुन्छ?’
‘आमा ठिक भै सकी आज छाड्छ अस्पतालले, तँ सगै गाउँ जान्छे आज।’ आमा ठिक भैसकेकी छिन् र अब केही बेरमै अस्पतालबाट निस्कनेछिन्। आमालाई थाहा छैन छोराको बारेमा।
थेग्न नसक्लिन् भनेर विस्तारै पछि भन्ने सल्लाह भएको थियो घर छिमेकमा। डम्मरबहादुर मनमनै सोच्दै थिए, न बुहारीले भनी पो दिइकि? बुहारीको रुद्र घण्टीभित्र पसेको छ।
‘बा म बाकस बोकेर आउँछु भनेको थिएँ, भित्र बसेर आएँ रिसाको त छैनौ नि?’
अब बोल्ने हिम्मत सकियो डम्बरबहादुरको। चुपचाप हेरिरहे।
‘बा बोल न केही ? मरेको त म पो हुँ, तिमी त जिउँदै छौ त?’
अहँ डम्बरबहादुर चुपचाप हेरिरहे।
‘बा मलाई केही ढाँट्दै छौ कि क्या हो, बोल्दैनौं त?’