पारस खड्काको उत्कृष्ट प्रदर्शनमा नेपालको सानदार जित, कुवेत ७ विकेटले पराजित

तस्बिरः एजेन्सी

सिंगापुर । सिंगापुरमा जारी आईसीसी टी-२० विश्वकप छनोट (एसिया फाइनल) अन्तर्गत नेपालले आफ्नो तेस्रो खेलमा कुवेतमाथि सानदार जित निकालेको छ।

१४२ रनको लक्ष्य पछ्याएको नेपालले ३ विकेट गुमाउँदै १५.५ ओभरमा पुरा गरेको हो।

नेपालका लागि कप्तान पारस खड्काले सर्वाधिक ६८ रनको योगदान दिए। ३२ बलमा अर्धसतक प्रहार गरेका खड्काले ४२ बल खेल्दै ११ चौका र १ छक्कासहित ६८ रन बनाएर आउट भए।

पारस खड्काको तेस्रो अर्धसतक

कप्तान पारस खड्का आईसीसी टी २० एसिया विश्वकप छनोट खेलमा कुवतेविरुद्ध उत्कृष्ट अर्धशतक प्रहार गरेका छन्।

पारसले ३२ बलमा आफ्नो टी २० आई करिअरको तेस्रो अर्धशतक पुरा गरेका हुन्। पारसले ४२ बलमा ११ चौका १ छक्का सहित ६८ रन बनाए।

यो सँगै कप्तान पारस टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका लागि ३ वटा अर्धशतक बनाउने पहिलो खेलाडी बनेका छन्।

यसअघि मलेसियाविरूद्धको सिरिजमा अर्धशतक प्रहार गरेका उनले नेदरल्याण्ड बिरुद्ध २०१५ मा अर्धशतक बनाएका थिए।

लक्ष्य पछ्याउने क्रममा पहिलो विकेटको लागि पारस खड्का र ज्ञानेन्द्र मल्लले ४४ रनको साझेदारी गरेका थिए। मल्ल चौथो ओभरमा १९ रन बनाएर आउट हुनुअघि  १३ बलमा २ चौका र १ छक्का प्रहार गरेका थिए।

त्यसपछि पारस र शरद भेसावकरले ७८ रनको उत्कृष्ट साझेदारी गर्दै नेपाललाई जिततर्फ डोर्‍याए। यस क्रममा पारसले आफ्नो अर्धशतक पुरा गरेका थिए। 

अर्धशतक पुरा गरे पछि पारस १४ औं ओभरमा मुहम्मद कासिफको बलमा क्याच आउट भए। पारस आउट भए लगत्तै दिपेन्द्र ऐरी ठूलो सट खेल्ने चक्करमा सोही ओभरमा १ रन बनाएर क्याच आउट भए।

त्यसपछि रोहित पौडेल र शरदले नेपाललाई जितसम्म पुर्‍याए। शरदले अविजित ३८ रन बनाउने क्रममा ३० बलमा ४ चौका र १ छक्का प्रहार गरे।

रोहितले ७ बलमा १ चौका मदतले ६ रन बनाएर अभिजित रहे।

कुवेतको लागि ३ वटै विकेट मोहम्मद काशिफले लिए।

यसअघि सिंगापुर इन्डिएन एसोसीएसन मैदानमा टस जितेर नेपालले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कुवेतले २० ओभरमा ९ विकेट गुमाएर १४१ रन बनाएको थियो।

कुवेतका लागि कप्तान मुहमद कासिफले अविजित रहँदै सर्वाधिक ४९ रन बनाएका थिए। यस्तै आदनन इद्रेसले २५ तथा मोहमद आस्लमले २३ रन जोडेका थिए। राभिजा डी सिल्भाले १५ र बिलाल ताहिरले १३ रन जोड्नुबाहेक बाँकीले दोहोरो रनको स्कोर छुन सकेनन्।

कुवेतलाई सस्तैमा रोक्न स्पिनरद्वय सन्दीप लामिछाने र बसन्त रेग्मीले ३/३ विकेट लिए। यस्तै करण केसीले २ तथा अविनाश बोहराले १ विकेट लिए।

टी-२० अन्तर्राष्ट्रियमा सन्दिपको यो व्यक्तिगत उत्कृस्ट स्पेल हो। सन्दीपले ३ विकेट लिने क्रममा १ चौका र १ छक्कासहित २१ रन खर्चिए। 

आज ३ विकेट लिएसँगै बसन्त रेग्मी नेपालको लागि टी-२० अन्तर्राष्ट्रियमा सर्वाधिक विकेट लिने बलर बनेका छन्। उनले १७ खेलमा २५ विकेट लिएका छन्।

दोस्रो स्थानमा रहेका सोमपाललाई आज बसन्तले उछिनेका हुन्। सोमपालले २० खेलमा २३ विकेट छ। उनी आज विकेट विहिन रहे। तेस्रो स्थानमा रहेका करन केसीको १७ तथा सन्दिप लामिछानेको १६ विकेट छ।

यो जितसँगै नेपाल ३ खेलमा २  जित र १ हारका साथ ४ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ। त्यस्तै समान खेलमा २ मा जित र १ बराबरी सहित ५ अंक जोडेको सिंगापुर शीर्ष स्थानमा छ।

अब नेपाल र सिंगापुर बीच भोलि आइतबार हुने खेल फाइनल जस्तै भएको छ। जुन टिमले जित्छ त्यो टिम विजेता हुनेछ र युएईमा अक्टोबरमा आयोजना हुने टी-२० विश्वकप छनोट खेल्न छनोट हुनेछ। नेपाल र सिंगापुर बीचको खेल बिहान ७:१५ बजे सुरु हुनेछ।

प्रतियोगिताबाट कुवेत,मलेसिया र कतार भने बाहिरिएका छन्।

प्रकाशित मिति: : 2019-07-27 10:09:26

प्रतिकृया दिनुहोस्