त्यो दिन झमझम झरी थियो। साउनमा जन्मेकाले हो कि, झरी मलाई मन पर्छ। बाहिर झरी हुँदा मनमा घाम लाग्छ। खुशीको।
तर त्यो दिन पुरै भिजेकी थिएँ म। बरन्डामा भएका केही बोटबिरुवाहरुमा बतासले हानेर जान्थ्यो। त्यो बतासमा सुख थिएन। अत्यास थियो। पारिपट्टिको घरको छतमा केही मकैका बोट थिए। झरी र बतासको मिश्रणमा हल्लिएका। तर गीत गाएका थिएनन्। रोएजस्ता लाग्यो।
दिउँसो कतै जाँदै गर्दा सामाजिक सञ्जालमा मेरो नजर परेको थियो। उखुबारीको हिलोमा एउटा बच्चीको मृत शरीर। नांगो।
म हल्लिएँ। झटपट आँखा निकालेँ र काममा हिँडे। दिमागमा त्यही तस्बिर नाचिरह्यो। सोचेँ- आज सामाजिक सञ्जालमा बस्दिन। अक्सर यस्ता घटना पढेपछि म कल्पना गर्न थाल्छु। भोग्नेले कसरी भोग्यो होला, कति आत्तियो होला, कति दुख्यो होला। आफ्नो जीवनका लागि कति याचना गर्यो होला। अनि उसको परिवार सम्झन थाल्छु।
सपनामा आफ्नो परिवारको कोहि सदस्यलाई नराम्रो भएको देख्यौं भने हामी झस्कँदै उठ्छौँ। म पनि यसै गर्छु र भाइलाई फोन गर्छु। उसले सुरुमै भन्छ, ‘के सपना देख्नुभयो दिदी। सबै ठिकठाक छ।’
निर्मलाको आमाले उखुबारीमा जे देख्दै थिइन्- त्यो सपना थिएन। ब्युँझेर घटघट पानी खाएपछि, परिवारलाई फोन गरेपछि शान्त हुने मनको तुफान थिएन। कुनै पापीले त्यो बच्चीको शरीर कोपर्दै गर्दा, उसको योनीबाट रगत बग्दै गर्दा, धरती स्वयम् काँपेकी थिइन् होला। धरतीको पनि आमाको जस्तै आवाज हुने भए छोरीहरुलाई उनैले जोगाउँथिन् होला।
निर्मलाको हालत कल्पना गर्दा शरीर यसै गलेको थियो। सामाजिक सञ्जालमा ‘कता गए यिनीहरु किन नबोलेका’ भनेर गरिएको अपमानसहितको ट्विट पढ्दै थिएँ। रिसाएर जवाफ दिने तागत पनि थिएन। केही लेख्न र बोल्न मन पनि थिएन।
दिदीबहिनीका साना छोरीहरु छन्- उनीहरुको मुलायम तस्बिर आँखामा नाच्थ्यो। झनै गल्थेँ। बरन्डामा नै बसिरहेँ। मिनेट मिनेट गर्दै घन्टा बित्यो। रात छर्लङ्ग भयो। भोलिपल्ट लगभग आँसुकै मसीले लेख लेखेँ।
लेख आयो, गयो। मन शान्त भएन। घरमा गएको बेला यो कुरा आमालाई भनेँ। बल दिनुभयो, ‘यस्तो कमजोर मनले त हुन्न, हेर। हरेक घटनामा आफूलाई डुबाउन थालिस् भने खतरा हुन्छ। दिमाग अन्तै मोडेर हिँड्ने गर।’