‘नशा’ एउटा त्यस्तो ‘जेल’ हो जहाँ, ताला र चाबी भित्रतिरै हुन्छ।
विडम्बना, आफैंभित्र रहेको चाबी उनले न समाउन सकिन्, न ताला खोल्नै।
जब आफूलाई रोक्न सकिन्छ अनि हर चाहनाको अन्त्य त्यहीँनेर हुन्छ। तर, जब रोकिने चाहनामात्रै हुन्छ, त्यो रोक्नै सकिन्न।
बस् ‘लत’ भनेकै त्यही हो।
कैंयौपल्ट उनले रोकिन चाहिन्, ‘नशा’ यस्तो भइदियो कि त्यो रोकिनै मानेन।
उनी जे गरिरहेकी थिइन्, त्योसँग एकदमै डर लाग्थ्यो उनलाई। तर, उनी आफूलाई रोक्नै सकिरहेकी थिइनन्।
करिब पाँच वर्ष एक ‘भयानक’ जिन्दगी बाँचिन् उनले।
र, जिन्दगीको एउटा बिहान यस्तो आइदियो, जहाँ उनले आफैंलाई पछार्न सकिन्।
नशा’ को त्यो हार, जिन्दगीको जित भइदियो।
जिन्दगीको ‘नशा’
हरेक ‘नशा’ को जडमा दर्द हुन्छ, सायद।
भारतको सिक्किममा जन्मिएकी हुन्, उनी।
बाबुका पाँच श्रीमती थिए। उनी ‘साहिली’ श्रीमतीकी ‘जेठी’ छोरीका रूपमा जन्मिइन्।
उनकी आमाबाट अरु दुई भाइ जन्मिए।
कक्षा पाँचमा पढ्दै थिइन्। बुवा र आमाको सम्बन्ध बिग्रियो। आमा आफ्ना छोराछोरी बोकेर ‘माइती’ फर्किन् नवलपरासी।
केही समय उनी मामाघरमै बसिन्। पढाइ छुटिसकेको थियो। आमा ‘विदेश’ जाने तयारीमा लागिन्। छोराहरूलाई सिक्किमै फर्काइन्।
आमा कमाउन भनेर खाडी गइन्।
उनी साथीहरूसँग भागेर काठमाडौँ आइपुगिन्।
काठमाडौं आफैँमा एउटा सपना थियो। त्यही ‘सपना’ को काठमाडौँभित्र उनी गलैंचा कारखाना पुगिन्।
केही वर्ष त्यत्तिकै बिते। जाने ठाउँ कतै थिएन। बाआमा छुट्टिएका थिए। आमा विदेश थिइन्। बुवा इन्डियन आर्मी।
परिवार कसैले सोधिखोजी गरेनन्। उनी कहिल्यै घर पनि फर्किनन्।
जानु कता पो थियो र, ‘बुवाको घर जानु कि, आमाको?’
अब जे भने काठमाडौँ नै थियो। कहिले गलैंचा बुनिन्, कहिले रेस्टुराँमा ‘वेटर’ भइन्। कहिले रोदीघरमा पुगिन्।
काठमाडौँले उनलाई बस् यसरी नै घुमाइरह्यो।
जाेवनको ‘लाली’ चढ्दै थियो। एक युवकसँग उनको ‘लभ’ पर्यो। १७ वर्षमै उनले विवाह गरिन्। त्यसबेला श्रीमान् २३ वर्षका थिए।
सासु ससुरा त माया गर्थे। उनी गर्भवती भएदेखि नै श्रीमान् भने ‘बटारिन’ थाले।
सम्बन्धमा विस्तारै दरार पर्न थाल्यो।