सिंगापुर । सिंगापुरमा जारी आईसीसी टी २० विश्वकप एसिया छनोट अन्तर्गत शुक्रबारको पहिलो खेलमा कुवेतले कतारलाई १० रनरले हराएको छ।
कुवेतको जितसँगै नेपालको अघिल्लो चरण समिकरण केही सहज देखिएको छ।
टस हारेर पहिले ब्याटिङ गरेको कुवेतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ९७ रन बनाएको थियो। कुवेतका लागि अदनान आर्डिसले ३२ बलमा ८ चौका र २ छक्का सहित ५६ रनको उत्कृष्ट इनिङ खेल्दै टिमको सम्मानजनक स्कोर बनाए।
त्यस्तै मिट भावसार ३५, उस्मान वहीदले २८ रनको योगदान दिएका थिए।
कतारका लागि तमोर शज्जाद र इकवाल हुसेनले समान २ विकेट लिए ।
१ सय ९८ रनको विशाल लक्ष्य पछ्याएको कतार निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ८७ रन मात्र बनाउन सक्यो।
आक्रमक सुरूवात गरेको कतारका मध्यक्रम नचल्दा झिनो अन्तरमा हार व्यहोर्नुपर्यो।
उसका लागि तमोर शज्जाद ४६ रनमा अविजित रहे पनि टोलीको हार टार्न सकेनन्। उनले मात्र ३२ बल खेल्दै ३ चौका र २ छक्का हिर्काएका थिए।
त्यस्तै नोमान शनवार ३४, इनाम उक हल २८ र फैसल जाभेदले २५ रन बनाए।
कुवेतका लागि शिराज खान र जनदु हमौदले समान २ विकेट हात पारे ।
यो खेल सँगै अघिल्लो चरण समीकरण थप रोचक बनेको छ। ३ खेलमा २ मा हार र १ मा जितका साथ पुछारमा रहेको कतारको अघिल्लो चरण प्रवेश सम्भावना लगभग सकिएको छ। अब कतारले एक खेल मात्र खेल्न बाँकि छ।
त्यस्तै सिंगापुर २ खेलमा १ मा जितका साथ ३ अंक जोड्दै शीर्षस्थानमा छ। एक खेल बढी खेलेको कुवेत ३ खेलमा समान १ जित र १ हार सहित ३ अंक जोड्दै रनरेटमा दोस्रो स्थानमा रहेको छ।
यस्तै मलेसिया २ खेलमा समान १ मा हार र १ जितका साथ तेस्रो स्थानमा रहँदा समान अंक भए पनि नेपाल रन रेटमा पछि पर्दै चौथो स्थानमा झरेको छ।
अहिले मलेसिया र सिंगापुर भिड्दै छन्। यदि यो खेलमा सिंगापुर विजयी भएमा र नेपालले बाँकी दुबै खेल जितेमा सहजै अघिल्लो चरणमा प्रवेश गर्नेछ।
अब नेपालले शनिबार कुवेत र आईतबार सिंगापुरसँग अन्तिम खेल खेल्नेछ।