काठमाडौँ, साउन १० गते । नेपालमा प्राकृतिक विपद्भन्दा मानव निर्मित संरचना र कमजोरीका कारण जनधनको ठूलो क्षति हुने गरेको छ । बाढी, पहिरो, डुबान, आगलागी, सडक दुर्घटना, महामारीजस्ता गम्भीर प्रकृतिका विपद्मा मानवीय कमजोरी पनि देखिएको छ । गृह मन्त्रालय विपद् व्यवस्थापन महाशाखाका अनुसार प्रत्येक वर्ष ४२ किसिमका विपद्बाट ९४१ देखि एक हजार दुई सय जनासम्मको अकालमै ज्यान जान्छ । त्यस्तै १५ देखि आठ सयजना बेपत्ता, ९२८ देखि २२ हजार घाइते, ३१ हजारदेखि एक लाख १३ हजार घरपरिवार प्रभावित हुने गरेका छन् ।
बाढी, पहिरो, डुबान, दुर्घटना र आगलागीबाट जनधनको धेरै क्षति हुने गरेको छ । प्रत्येक वर्ष करिब डेढ अर्बदेखि छ अर्ब रुपियाँ मूल्य बराबरको क्षति हुने गरेको छ । आर्थिक वर्ष २०७०÷७१ देखि २०७५÷७६ मा विपद्का कारण सो क्षति भएको गृह मन्त्रालयको तथ्याङ्कले देखाएको छ ।
यो वर्ष पनि बाढी, पहिरो, डुबानका कारण बढी क्षति हुने सम्भावना देखिन्छ । पहाडमा पहिरो र मधेस तराईमा बाढी र डुबान हुनुमा मानव निर्मित संरचना दोषी देखिन्छन् । प्राकृतिक विपद्हरू पहिरो, हिमपहिरो, चट्याङ, भूकम्प र दुर्घटनाका लागि पनि नेपाल जोखिमपूर्ण छ ।
प्राकृतिक भूबनोटअनुसार भौतिक पूर्वाधारको अभाव, विकास निर्माणमा दिगो सोचको कमीका कारण मानव बस्तीहरू अव्यवस्थित र असुरक्षित बन्दै गएका छन् ।
विपद्विज्ञहरूका अनुसार आर्थिक आयआर्जन र सुविधाका नाममा प्राकृतिक सम्पदामाथिको ‘दोहन’ तीव्र हुन थालेसँगै विपद्को जोखिम बढ्दै गएको हो । विपद व्यवस्थापन विज्ञ मानबहादुर थापा भन्नुहुन्छ, “विपद् पूर्वानुमानको मूल्याङ्कन नै नगरी विकास निर्माण, सडक संरचना, रोडाढुङ्गा उत्खनन, जङ्गलको विनाश र अव्यवस्थित घरबस्ती बसाउने होडबाजी नै चल्न थालेको छ । यसले विकास नभई विनाश निम्त्याएको छ । ” प्राकृतिक विपद्हरूमा बाढी, पहिरो, डुबान, चट्याङ, असिनापानी, हावाहुरी तथा अप्राकृतिक विपद्हरू आगलागी, दुर्घटना, महामारी र आत्महत्या मुख्य चुनौतीका रूपमा देखिएका छन् । यसको नियन्त्रणका लागि पूर्वतयारीका अतिरिक्त नीतिगत निर्णय र सम्बद्ध निकायबीच समन्वयको अभाव देखिन्छ ।
मानवीय कमजोरी धेरै
विपद्विज्ञ थापा भन्नुहुन्छ, “प्राकृतिक तथा कृत्रिम सबै प्रकारका विपद्बाट जनधनको क्षति घटाउन सम्भव छ । कृत्रिम विपद्लाई नियन्त्रण गर्न सकिन्छ भने प्राकृतिक विपद्बाट जोगिन सकिन्छ । यसमा नेपाल चुकेको छ । ”
विपद् व्यवस्थापनको पूर्वतयारी, सचेतना, सुरक्षा, भौतिक संरचना निर्माणमा दिगोपन, बलियो संरचना र सशक्त कानुनी कार्यान्वयनले विपद्बाट हुने धनजनको क्षति घटाउन सकिने उहाँको भनाइ छ । उहाँका अनुसार काठमाडौँ उपत्यकाको हकमा बाढी बस्तीमा पस्यो कि बस्ती बाढीमा पस्यो सोच्ने बेला आएको छ ।
मानवले आफ्नै लागि विपद् निम्त्याइरहेका छन् । “तराईका विभिन्न भूभाग बाढी र डुबानमा पर्छन्, कहिल्यै हामीले यसको कारण खोजेका छौँ ?”, उहाँको प्रश्न छ । विपद्को पूर्वतयारी, उद्धार, पुनस्र्थापना, राहत वितरणले मात्र समस्याको दिगो समाधान होइन, सचेतनासँगै पूर्वतयारी आवश्यक छ ।