सिंगापुरमा जारी आईसिसि विश्वकप ट्वान्टी २० एसिया छनोट फाइनल अन्तर्गत मलेसियाले नेपालसामू ८४ रनको लक्ष्य दिएको छ।
इन्डियस एशोसिएसन मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित ९ ओभरमा ७ विकेट गुमाउँदै ८३ रन बनाएको हो।
मलेसियाको लागि सयद अजिजले सर्वाधिक ३० रन बनाए। उनले १५ बलमा ५ चौका र १ छक्का प्रहार गरे।
यस्तै भिरनदिप सिंहले १७ बलमा १ चौका र १ छक्का प्रहार गर्दै २१ रन बनाए। अन्य मलेसिया ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।
नेपालको बलिङमा सोमपाल कामिले सर्वाधिक ३ विकेट लिए। यस क्रममा उनले २ ओभरमा २३ रन खर्चिए।
यस्तै बसन्त रेग्मीले १ ओभर बलिङ गर्दै ९ रन खर्चेर २ विकेट लिए। सन्दिप लामिछानेले २ ओभर बलिङमा १७ रन खर्चिएर १ विकेट लिँदा करन केसीले २ ओभरमै १२ रन खर्चिएर १ विकेट लिए। अभिनास बोहोराले २ ओभरमा १९ रन खर्चिए पनि विकेट लिएनन्।
खेलमा पारस खड्का ढाडको नसा च्यापीएको कारण खेलेका छैनन्। ललित राजबंशीलाई पनि बाहिर राखिएको छ।
पहिलो खेलमा नेपाल कतारसँग पराजित भएको हुँदा आजको खेलमा जित्दै २ अंक प्राप्त गर्नु नेपालको लागि टि-२० विश्वप ग्लोबल छनोट पुग्न महत्वपूर्ण रहेको छ।
मलेसियाले यस अघि आफ्नो पहिलो खेलमा कुवेतलाई पराजित गरिसकेको छ।