सिंगापुर । आगामी वर्ष अष्ट्रेलियामा हुने विश्व २०-२० मा सहभागी हुने लक्ष्यसहित सिंगापुरमा एसिया छनोट फाइनल खेलिरहेको नेपालले खराब सुरुवात गरेको छ।
प्रतियोगिताको मुख्य दाबेदार मानिएको नेपाल प्रतियोगिता अन्तर्गत पहिलो खेलमा मंगलबार कतारसँग ४ विकेटले पराजित भएको छ। अब नेपालले दोस्रो खेल मलेसियासँग भोलि बुधबार खेल्नेछ।
नेपाललाई अघिल्लो चरणको सम्भावना कायमै राख्न मलेसियाविरूद्धको खेल कुनै पनि हालतमा जित्नैपर्ने दबाब छ।
यता मलेसिया भने पहिलो खेलमा कुवेतलाई ४२ रनको फराकिलो अन्तरले हराउँदै उच्च मनोबलका साथ दोस्रो स्थानमा छ।
पहिलो पटक ग्लोबल छनोटमा पुग्ने लक्ष्य राखेको मलेसिया नेपाललाई स्तब्ध पार्दै अफ्नो स्थान बलियो बनाउन चाहन्छ।
सहभागी ५ टिमबाट एउटा टिम मात्रै अक्टोबरमा युएईमा आयोजना हुने ग्लोबल क्वालिफायर खेल्न छनोट हुने भएकाले हरेक टिमका लागि हरेक खेल महत्वपूर्ण हुन्छ।
दोस्रो दिनको खेल सकिँदासम्म सिंगापुर २ खेलमा ३ अंक सहित अंकतालिकाको शीर्षस्थानमा रहेको छ। सिंगापुरले एउटा खेलमा जित हात पार्यो भने आज कुवेतसँगको खेल भने वर्षाको कारण हुन नपाउँदा १/१ अंक बाँड्न बाध्य भयो।
यस्तै दोस्रो स्थानमा मलेसियाको एक खेलबाट २ अंक जोडेको छ। नेपाललाई हराएको कतारले २ खेलबाट १ जित र १ हार बेहोर्दै २ अंकसहित तेस्रो स्थानमा छ।
पहिलो खेलमा मलेसियासँग हारे पनि दोस्रो खेल वर्षाले रद्ध हुँदा सिंगापुरसँग अंक बाडेँको कुवेत तेस्रो तथा शून्य अंकसहित नेपाल पुछारमा छ।
पहिलो खेलमा हारे पछि अब नेपालले विश्वकप ग्लोबल छनोटमा छनोट हुन बाँकी ३ खेलमा जित्नुपर्ने छ। बाँकी ३ खेलमा नेपाल विजयी नेपाल छनोट हुनेछ।
सबै खेल जितेको खण्डमा र अन्य कुनै एउटा टिमले पनि ३ खेलमा जित हात पारे नेट रनरेटको आधारमा उत्कृस्ट टिम चयन हुनसक्ने छ।
नेपालले अब जुलाई २७ मा कुवेतसँग र जुलाई २८ मा सिंगापुरसँग खेल्नेछ।
जारि प्रतियोगिता अघि मलेसियासँग २ वटा खेलको टी-२० सिरिज खेलेको नेपालले दुवै खेलमा जित हाँसिल गरेको थियो।
दोस्रो खेलमा नेपालले ६ रनको जित हाँशिल गर्दा पहिलो खेलमा भने ७ विकेटको सहज जित हाँसिल गर्दै टी ट्वान्टी शृंखला क्लीनस्वीप गरेको थियो।
तर सिंगापुरमा मलेसियाका ब्याट्सम्यान लयमा आउनु नेपालको लागि घातक हुनसक्छ। टि-२० सिरिजमा पनि दोश्रो टि-२० मा मलेसियन ब्याट्सम्यानहरुले नेपालको जित खोस्न खोजेका थिए। झनै सिंगापुरको छोटो बाउन्ड्री भएको मैदानमा मलेसियाका ब्याट्सम्यानहरु खतरनाक सावित हुन सक्नेछन्।
नेपालको भने परम्परानै बनेको ब्याटिङ कमजोरी मलेसियासंग सुधार हुनुपर्नेछ। कतारसँग मात्र १२२ रनमा समेटिएपछि अब दोस्रो खेलमा भने ब्याट्सम्यानहरुले गल्ति दोहोर्याउन पाउने छैनन्।
मलेसियासँग नेपालले हालसम्म ६ वटा टी-२० खेलेको छ भने २ वटा टी-२० अन्तर्राष्ट्रिय मान्यता पाएको खेल खेलेको छ।
त्यसमध्ये एउटा खेलमा बाहेक नेपालले सबै खेलमा जित हाँसिल गरेको छ।
नेपाललाई प्रभाव पार्ने खेलाडीहरू
पारस खड्का (अलराउण्डर)
नेपाली कप्तान पारस खड्का पछिल्लो समय उत्कृष्ट लयमा छन्। कप्तान खड्कालाई धेरैले ‘वान म्यान आर्मी’ अर्थात एकल योद्धा भन्ने गर्दछन्। पारस लयमा हुनु नेपालको लागि बलियो पक्ष हो। नेपालको अधिकांश जित कप्तान पारसको प्रर्दशनमा निर्णायक रहने गर्छ।
छनोटको पहिलो खेलमा २८ रन मात्र जोडे पनि पारसले मलेसियासँगको पहिलो खेलमा ८६ रनमा अविजित रहँदै उत्कृष्ट इनिङ खेलेका थिए। दोस्रो खेलमा पनि २३ रन जोड्दै राम्रो सुरुवात दिलाएका थिए। ऐतिहासिक टी ट्वान्टी सिरिज जिताउन पनि पारसको योयदान महत्वपूर्ण थियो।
१८ खेलमा १७ इनिङ्समा ब्याटिङ गर्दै २८.४६ को औषतमा उनले २ अर्धसतकसहित ४२७ रन बनाइसकेका छन्। यस्तै बलिङतर्फ पनि ३ विकेट आफ्नो नाममा लेखाइसकेका छन्। कप्तान खड्का मलेसियाका लागि घातक बन्न सक्छन्।
सन्दीप लामिछाने
नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने मलेसियाका लागि घातक बन्न सक्नेछन्। टी २० अन्तर्राष्ट्रियमा ८ खेलबाट १२ विकेट लिइसकेका लामिछानेले छनोटको पहिलो खेलमा कतारविरूद्ध ३ विकेट लिएका छन्। यस्तै मलेसिया विरूद्धको सिरिजमा पनि उनले दुबै खेलमा समान २-२ विकेट लिएका छन्।
अन्तर्राष्ट्रिय फ्रेन्चाइज टी २० मा विश्वभर छाएका सन्दीप मलेसियाका लागि घातक बन्न सक्नेछन्।
सोमपाल कामी (अलराउन्डर)
नेपाली तीव्र गतिका बलिङ अलराउन्डर सोमपाल कामी टी ट्वान्टी आईमा नेपालबाट सर्वाधिक रन बनाउने चौथो खेलाडी हुन्।
१८ खेल मध्ये १२ इनिङमा ४ पटक नट आउट रहँदै कुल १ सय २४ रन जोडेका छन्। कुल ११ चौका र ४ छक्का प्रहार गरेका सोमपालको स्ट्राइकरेट १ सय ११ रहेको छ।
उनले १८ खेलबाट २० विकेट लिइसकेका छन्। उनले मलेसियाविरूद्धको सिरिजमा समान १-१ विकेट लिइसकेका छन्। उनी पनि मलेसियाका लागि घातक बन्न सक्छन्।
मलेसियालाई प्रभाव पार्ने खेलाडीहरू
सैयद अजीज (अलराउण्डर)
मलेसियाका २० वर्षिय अलराउण्डर सैयद अजीज टोलीका प्रमुख खेलाडी हुन्। मलेसियाका लागि टी २० आईमा ७ खेलमा ३ अर्धशतक सहित कुल २ सय ४० रन जोडेका उनको स्ट्राइक रेट १३७.९३ को छ।
अजीजले नेपालसँगको दोस्रो खेलमा ५० रनको उत्कृष्ट इनिङ खेलेका थिए। साथै एक विकेट पनि लिएका थिए। त्यसै कुवेतसँगको खेलमा ३४ रन जोड्नुको साथै २ विकेट लिदै म्यान अफ द म्याच समेत चुनिएका थिए। अजीज नेपालका लागि घातक बन्न सक्नेछन्।
अनवार रहमान (बलर)
२२ वर्षिय युवा स्पिनर अनवार रहमान मलेसियाका लागि टी२० अन्तर्राष्ट्रिय खेलमा सर्वाधिक विकेट लिने खेलाडी हुन्। अनवारले ५ खेलमा १० किकेट लिइसकेका छन्।
नेपालसँगको पहिलो खेलमा उनले२ विकेट लिएका थिए भने सिंगापुरमा पनि कुवेतकाएक खेलाडीलाई पवेलियन फर्काएका थिए। अनवार पनि नेपालका लागि घातक बन्न सक्छन् ।
फ्रिती साम (बलर)
२६ वर्षिय स्पिनर फ्रिती साम मलेसियाका लागिउत्कृष्ट बलर हुन्। टी २० अन्तर्राष्ट्रियमा मलेसियाबाट सर्वाधिक विकेट लिने दोस्रो खेलाडी उनले ६ टी२० इनिङमा ६ को इकोनमीमा खर्चिदै ९ विकेट लिएका छन्।
उनले कुवेतसँगको खेलमा कसिलो बलिङ गर्दै २ विकेट लिएका थिए। त्यस्तै नेपालसँगको दोस्रो टी ट्वान्टी खेलमा उनले ३ र पहिलो खेलमा १ विकेट लिएका थिए। राम्रो लयमा देखिएका उनी नेपालको लागि घातक बन्न सक्छन्।