विश्वकप छनोटमा नेपाल र कतार भिड्दै LIVE

तस्बिरः एजेन्सी

सिंगापुर । उपाधिको प्रमुख दाबेदार नेपाल आईसीसी टी२० विश्वकप छनोट एसिया फाइनलमा कतारसँग खेल्दैछ।

उपाधिको एक्लो दाबेदारका रूपमा हेरिएको नेपालले कतारलाई सहजै हराउनसक्ने अनुमान गरिएको छ। कतार सोमबार पहिलो खेलमा आयोजक सिंगापुरसँग ३३ रनले पराजित हुँदै भएको थियो भने नेपालको पहिलो खेल हो।

पहिलो पटक ग्लोबल छनोट पुग्ने लक्ष्य बोकेको कतारलाई आज नेपालमाथि जित्नै दबाब छ ।

कतारसँग अन्तिम पटक नेपालले १० वर्षअघि सन् २००९ एसीसी टी-२० मा खेलेको थियो। इतिहासमै नेपालले कतारसँग मात्र २ पटक टी-२० खेलेको छ जसमा एउटा खेलमा नेपाल र एउटामा कतार विजयी भएको थियो।

कतारले सन् २००७ मा कुवतेमा भएको एसीसी टी २० प्रतियोगितामा नेपाललाई ३ विकेटले पराजित गरेको थियो। यस्तै सन् २००९ मा कतारलाई नेपालले ६ विकेटले पराजित गरेको थियो। आईसीसी टी २० वरीयता अनुसार नेपाल ११ र कतार २१ औं स्थानमा छन् ।

गत वर्ष अप्रिलमा कुवेतमा आयोजना भएको टी-२० विश्वकप छनोट (एसिया पश्चिम) प्रतियोगिताको उप-विजेताको रुपमा कतार एसिया फाइनल खेल्न छनोट भएको हो। त्यस प्रतियोगितामा कतारले युएईसँग बाहेक अन्य ४ खेलमा जित हाँसिल गरेको थियो। युएई टी-२० विश्वकप ग्लोबल छनोट खेल्न आयोजक रुपमा छनोट भइसकेको छ।

कतारभन्दा नेपाल सबै पक्षमा अब्बल देखिन्छ। नेपाललाई मध्यक्रमका ब्याट्सम्यान ज्ञानेन्द्र मल्लको खराब लयले भने चिन्ता थपेको छ। मल्ललाई आफूलाई प्रमाणित गर्ने यो राम्रो अवसर समेत हो । मल्ल बाहेक अन्य सबै खेलाडी लयमा देखिन्छन्।

गत जेठमा प्रधानमन्त्री कप क्रिकेटमा घाइते दीपेन्द्रसिंह ऐरी पूर्णरुपमा फिट हुँदा नेपालको मध्यक्रम ब्याटिङ झनै बलियो बनेको छ । औंलामा चोटका कारण दीपेन्द्रले मलेसियासँगको दुई टी२० खेल गुमाएका थिए ।

नेपालको ओपनिङ कप्तान पारस खड्काले गर्ने निश्चित छ। पारसलाई साथ प्रदीप ऐरी र पवन सरार्फमध्य एकले साथ दिने छन् । मध्यक्रममा दीपेन्द्रसँगै,शरद भेषवकर र रोहित कुमार पौडेलले समाल्ने छन् ।

उत्कृष्ट लयमा देखिएका हिटर विनोद भण्डारीले फिनिसिङको जिम्मेवारी समाल्नेछन्। करण केसी र सोमपाल कामीबाट तल्लोक्रममा ठूला सर्टको आसा गर्न सकिन्छ। नेपालले तीन तीब्र गतिका बलर र दुई स्पिनर मैदान उतार्न सक्छ। स्पिनरको रुपमा सन्दीप लामिछानेको स्थानमा टोलीमा निश्चित जस्तै हुँदा ललित नारायण राजवंशी र वसन्त रेग्मी मध्ये एकले स्थान पाउने छन्। यदी तीन स्पिनर खेलाए तीब्र गतिका बलर अभिनाष बोहोरालाई बेन्चमा राख्ने सम्भावना देखिन्छ।

नेपालका लागि कप्तान पारस खड्का, सोमपाल कामी र सन्दीप लामिछाने प्रमुख हतियार हुन्।

यता तमुर सज्जाद कप्तान रहेको कतारको बलिङ भन्दा ब्याटिङ पक्ष बलियो मानिन्छ। मुहम्मद तन्भिर, तमुर सज्जाद, मोहम्मद रिज्लान जस्ता ब्याट्सम्यानहरु ठूलो इनिंग खेल्न सक्छन्। बलिंगमा तिब्र गति बलर इकबाल हुसेन र नौमन सरवार पनि लयमा रहेका छन्।

सिंगापुरसँग हारको बाबजुद इकबाल हुसेनले ४ विकेट लिएका थिए भने ब्याटिङमा मोहम्मद रिज्लानले अविजित ३३, तमुर सज्जादले ३४, ओपनर फैसल जावेदले २९ तथा मुहम्मद तन्भिरले २६ रन बनाएका थिए।

नेपाल जस्तो ठूलो वरियताको टिमसँग खेलेको अनुभव नभए पनि कतार आस्चर्यजनक नतिजा ल्याउन सक्ने टिम हो।

सिंगापुरको इन्डियन एसोशिएसन मैदान छोटो भएकोले नेपाली बलरहरुले सावधानी भने अपनाउनुपर्नेछ।

कतारले नेपालसँग पहिलो पटक टी २० अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो ।

टिम नेपाल :- पारस खड्का ( कप्तान ) , ज्ञानेन्द्र मल्ल, शरद भेसावकर, पवन सर्राफ, दिपेन्द्र ऐरि , रोहित पौडेल, बिनोद भण्डारी, प्रदिप ऐरि , बसन्त रेग्मी, सोमपाल कामि, करन केसी, सन्दिप लामिछाने, ललित राजबंशी, अभिनाश बोहरा

टिम कतार :- इमाम उल हक, फैसल जावेद, कमरान खान, मुहम्मद तन्भिर, तमुर सज्जाद ( कप्तान ) , नौमन सरवार, मोहम्म्मद रिज्लान, जाहिर इब्राहिम, अवेस मलिक, इकबाल हुसेन, मोहम्मद नदीम

प्रकाशित मिति: : 2019-07-23 07:08:00

प्रतिकृया दिनुहोस्