भेनेजुएलाका विवादित राष्ट्रपति निकोलस मदुरोकोका छोरा निकोलस अर्नेस्टो मदुरो गुयरा अघिल्लो शनिबार १५ सदस्यीय नेपाली टोलीको प्रतिनिधित्व गर्दै नेपाल आइपुगे । नेकपाको भ्रातृ संगठन युवा संघको निमन्त्रणामा उनी नेपाल आएको बताइएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको साधारण कक्षबाट नेपाल प्रवेश गरेका भेनेजुएलाका राष्ट्रपतिका छोरा गुयरा, त्यहाँका मन्त्री र टोलीका अन्य सदस्य आएको खबर सोमबार मात्रै सार्वजनिक भयो । उनी आएको खबर सार्वजनिक हुनु अघि उक्त टोलीले नेकपा नेता वामदेव गौतम र नारायणकाजी श्रेष्ठ लगायतसँग भेट गरिसकेका थिए ।
भेनेजुएलामा गत वर्ष भएको निर्वाचनमा निकोलस मदुरो राष्ट्रपतिमा निर्वाचित भएपछि अमेरिकाले मान्यता दिएन । समानान्तर राष्ट्रपतिको रुपमा जुआन गुआइडोलार्ई अमेरिकाले अगाडि सारेको थियो । यही विवादका कारण भेनेजुएलामा राजनीतिक संकट चुलियो । यसलाई लिएर शक्तिराष्ट्रहरूसमेत विभाजित भए । सोही सन्दर्भमा कम्युनिस्ट पार्टीको सम्बन्धका हिसाबले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निकोलस मदुरोको पक्षमा नेपालमा विज्ञप्ति जारी गरे । प्रचण्डको विज्ञप्तिप्रति अमेरिकाले आपत्ति जनायो । अमेरिकालाई साम्राज्यवादी भएको टिप्पणी गर्दै सत्तारूढ पार्टीको अध्यक्षले विज्ञप्ति जारी गरेपछि नेपाल र अमेरिकाबीचको सम्बन्धमै चिसोपन आउने अवस्था सिर्जना भयो । अध्यक्ष दाहालको वक्तव्य अनुपयुक्त भएको भन्दै पछि प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसलाई केही सच्याउने खालको ‘सफ्ट’ वक्तव्य जारी गरे ।
भेनेजुएलामाथि अमेरिकाले नाकाबन्दी लगाएको छ । त्यसैगरी नेपाल भ्रमणमा आएका मदुरो पुत्र गुएरामाथि पनि अमेरिकाले प्रतिबन्ध लगाएको छ । भ्रष्टाचार, मानवअधिकारको उल्लंघन, लागुऔषधको ओसारपसारलगायतका मुद्दामा अमेरिकाले गुएरासहित राष्ट्रपति मदुरो, उनकी श्रीमती सिलिया फ्लोर्स र १ सयभन्दा बढी भेनेजुएलाका सरकारी अधिकारीमाथि प्रतिबन्ध लगाएको छ ।
पुत्र गुयराको नालीबेली
२९ वर्षीय गुएरा मदुरो सरकारको एक महत्वपूर्ण पात्र हुन् । उनी बाबुको राजनीतिक आडमा कम उमेरमै यति ठूलो राजनीतिक उचाइ हासिल गर्ने व्यक्ति हुन् । उनी भेनेजुएलाको सुन व्यापारका महत्वपूर्ण खेलाडी मानिन्छन् । अमेरिकी खुफिया संयन्त्रका पूर्वप्रमुखसमेत रहेका म्यानुअल रिकार्डो क्रिस्टोफर फ्गियुराले दी गार्जियनलाई बताएअनुसार उनले एक सहयोगीको नाममा अमेरिकामा सुन व्यापारका लागि कम्पनी नै स्थापना गरेका थिए । उनले सुनखानीबाट सस्तो मूल्यमा सुन खरिद गरेर मूल्य वृद्धि भएको समयमा भेनेजुएलाको केन्द्रीय बैंकलाई बिक्री गर्ने काम गर्थे ।
यूएस ट्रेजरी डिपार्टमेन्टले अमेरिकामा रहेको गुएराको सम्पत्ति पनि रोक्का गरेको थियो भने कुनै पनि अमेरिकी नागरिकलाई गुएरासँग मिलेर व्यापार व्यवसाय गर्नसमेत प्रतिबन्ध लगाएको थियो । ट्रेजरी डिपार्टमेन्टका महासचिव स्टेभेन म्युचीनका अनुसार बाबु मदुरोले अमेरिकामा रहेका आफ्ना छोराको सम्पत्ति र आफ्नो अधिनायकवादी शासन सत्ताको आडमा भेनेजुएलाका जनतामाथि शोषण गर्दै आएका छन् ।
सन् २०१३ मा मदुरो राष्ट्रपति भएसँगै उनी एकाएक राजनीतिक उचाइमा पुगेका थिए । उनलाई नातावादका आधारमा २३ वर्षको उमेरमा भेनेजुएलाको ‘इन्स्पेक्टर बडी’ का प्रमुख बनाइएको थियो भने सन् २०१४ मा ‘भेनेजुएला स्कूल अफ सिनेमा’ को निर्देशकमा नियुक्त गरिएको थियो । भेनेजुएलाका नाटककार जेम्स थोमसले भनेका थिए, “गुएरालाई सिनेमाको बारेमा केही थाहा छैन । थाहा छ त केवल क्यामरा चोर्ने कला ।”
विवादित को– को आए ?
विश्व राजनीतिमा विवादित व्यक्तिको नेपाल भ्रमण यो पहिलो पटक भने होइन । यसअघि पनि विश्व राजनीतिमा विवादित तथा विभिन्न देशमा प्रतिबन्धित व्यक्तिहरु नेपाल भ्रमण गरेको पाइन्छ ।
यसअघि मंसिर १५ र १६ गते काठमाडौंमा सम्पन्न एसिया प्यासिफिक समिटका प्रतिनिधि पनि विवादित पात्रहरु नै थिए । त्यस समयमा संविधानविपरित सरकार नै धर्म प्रचारमा लागेको भन्दै सरकारको निकै आलोचना भएको थियो । विश्वका विभिन्न मुलुकमा प्रतिबन्ध लगाइएको धर्म प्रचारक संस्था यूनिफिकेशन चर्चकी प्रमुख हाक जा हान मून पनि उक्त कार्यक्रममा उपस्थित भएकी थिइन् ।
उनका श्रीमान सन म्यूङ मूनको नेतृत्वपछि यूनिफिकेशन चर्चको नेतृत्व हाक जा हानले गरिरहेकी छन् । उक्त संस्थाको जिम्मेवारी उनका २८ वर्षीय छोरा यूङ जीन मूनलाई दिइएको थियो । यस संस्थालाई सिंगापुरमा पनि प्रतिबन्ध लगाइएको छ । अमेरिकामा पनि युनिफिकेसन चर्चले धार्मिक स्वतन्त्रता बिथोल्न लागेको भनेर त्यहाँको सर्वोच्च अदालतमा मुद्दा परेको थियो ।
त्यसैगरी सोही कार्यक्रममा विशेष अतिथिको रुपमा आएकी म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकी पनि विवादमा थिइन् । उनले पाएको नोबेल शान्ति पुरस्कारसमेत फिर्ता गर्नेसम्म बहस चलेको थियो । म्यानमारमा मुस्लिम रोहिंगाको नरसंहार गरेको आरोप उनलाई लगाइँदै आएको छ । त्यस समयमा १० हजारभन्दा बढी मुस्लिम रोहिंगा मारिएका थिए भने करिब ७ लाख म्यानमार छोडेर विभिन्न देशमा शरण लिन पुगेका थिए ।
त्यसैगरी पाकिस्तानका पूर्वप्रधानमन्त्री युसुफ राजा गिलानीले नेपाल भ्रमण गरेका थिए । सन् २०१२ मा गिलानीलाई त्यहाँको सर्वोच्च अदालतले प्रधानमन्त्री पदका लागि अयोग्य ठहर गरेको थियो । त्यसैगरी एन्टी करप्सन कोर्टले समेत उनलाई जेल सजाय तोकेको थियो । उनी लामो समय फरार थिए । त्यसअघि पनि सन् २००१ मा उनलाई भ्रष्टाचार अभियोगमा जेल सजाय तोकिएको थियो भने सन् २००६ मा उनी जेलमुक्त भएका थिए ।
इरानका पूर्व उपराष्ट्रपति रहेका हसन गोफरी फ्राड पनि उक्त कार्यक्रममा सहभागी हुन नेपाल आएका थिए । तत्कालीन समयमा इरानमाथि अमेरिकाले प्रतिबन्धको घोषणा गरेको थियो ।
मदुरो पुत्र गुएरा नेपाल भ्रमणमा आएपछि परराष्ट्र सम्बन्धका विषयमा विभिन्न टिकाटिप्पणीहरु भइरहेका छन् । एकातिर कम्युनिस्ट मुलुकसँग सम्बन्ध बढाएर नेपाललाई पनि अधिनायकवादको बाटोमा लैजान थालेको भन्ने टिप्पणी भइरहेका छन् भने अर्कोतिर विवादित पात्रलाई कसैको स्वार्थ पूरा गर्न नेपाल बोलाएर अन्य देशहरुसँगको कुटनीतिक सम्बन्ध बिगार्न लागेको भन्दै टिप्पणी भइरहेका छन् । माथि उल्लेखित केही त्यस्तै व्यक्ति हुन् जसको विश्वका विभिन्न भागमा आलोचना भएका थिए ।
तर, कुनै राष्ट्रसँगको सम्बन्धले कोही विदेशी नेता नेपाल आउनु नै हुँदैन भन्ने अर्थ्याउनु गलत भएको परराष्ट्रविद्हरु बताउँछन् । उनीहरुका अनुसार कुनै पनि सार्वभौम मुलुकले कहाँ जाने, कसलाई बोलाउने भन्ने निर्णय गर्ने अधिकार भएको र तेस्रो मुलुकले हस्तक्षेप गर्न नहुने उनीहरुको तर्क छ । प्रस्तुत छ, उनीहरुको भनाइ आफ्नै शब्दमाः
अमेरिकालाई चिढ्याउनु मूर्खता–डा. खड्ग केसी, त्रिवि अन्तर्राष्ट्रिय सम्बन्ध विभागका प्रमुख
मदुरोका छोरा गुएरोको विषयमा के हो भने नेपाल सरकारको परराष्ट्र मन्त्रालयले बोलाएको भए त्यो हाम्रो राज्यको स्वार्थसँग नजोडिएको विषयलाई किन बोलाए होलान् शासन सञ्चालन गर्नेहरुले भन्न सकिन्थ्यो ।
राज्य सोझै यसमा संलग्न भएको भए त्यो अपरिपक्व र अदूरदर्शी भन्न सकिन्थ्यो । तर, सत्तारुढ दलका मानिसहरुले विवादित पात्रलाई ‘प्रमोट’ गर्दा अवश्य सोच्नुपथ्र्यो । यस विषयमा सोचिएन । सत्तारुढ दलका एकजना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत सत्ता सञ्चालनमा निर्णायक भूमिका खेल्ने व्यक्तिहरुको भेटलाई कुटनीतिमा यस्ता कुराले महत्व राख्छन् भन्ने विषयमा अपरिपक्वता हो कि भन्ने देखिन्छ । भेनेजुएलासँग हाम्रो भाइचाराको सम्बन्ध रणनीतिक होइन ।