हजार्डको ‘डेब्यू’ खेलमा रियल म्याड्रिडको हार

तस्बिरः एजेन्सी

स्पेनिस क्लब रियल म्याड्रिड जर्मन च्याम्पियन बायर्न म्युनिखसँग पराजित भएको छ।

प्रि–सिजनको इन्टरनेसनल च्याम्पियन्स कपमा रियल म्याड्रिड जर्मन च्याम्पियन बायर्न म्युनिखसँग ३–१ ले पराजित भएको हो।

अमेरिकाको टेक्ससमा आइतबार बिहान सम्पन्न खेलमा बायर्नको जितमा कोरेन्टिन टोलिसो, रोवर्ट लेवान्डोस्की र सर्जी जिनब्रीले समान एक-एक गोल गरे। रियलका लागि रोड्रिगोले एक गोल फर्काएका थिए।

खेलको १५औं मिनेटमा कोरेन्टिन टोलिसोले गोल गर्दै बायर्नलाई सुरूवाती अग्रता दिलाएका थिए।

पहिलो हाफसम्म १-० को अग्रता लिएको बायर्नले दोस्रो हाफमा थप दुई गोल गर्दे सहज जित निकाल्यो।

खेलको ६७ औं मिनेटमा रोवर्ट लेवान्डोस्कीले गोल गर्दै अग्रता दोब्बर पारे। त्यसको तीन मिनेटपछि ७०औं मिनेटमा सर्जी जिनाब्रीले गाेल गर्दै बायर्नलाई ३–० ले अघि बढाएका थिए।

तर खेल सकिन ९ मिनेट बाँकी हुँदा बायर्न १० खेलाडीमा समेटियो। बायर्नका एसभेन अलरिइच रातो कार्ड खादै मैदानबाट बाहिरिएका थिए।

त्यसको फाइदा उठाउँदै रियलका लागि ८५औं मिनेटमा रोड्रिगोले गोल गर्दै खेललाई ३–१ को अवस्थामा ल्याए। तर पनि टोलीको हार टार्न सकेनन्।

रोड्रिगोको रियालमा ‘डेब्यू’ गोल हो।

यसै सिजन इंग्लिस क्लब चेल्सीबाट १ सय ५० मिलियन पाउन्डमा ५ वर्षका लागि रियल पुगेका हजार्डले पहिलो रोजाईमा खेलेका थिए। तर उनले आफ्नो प्रभाव देखाउन सकेनन्। उनलाई दोस्रो हाफको शुरुमै भेनेसियस जुनियरले प्रतिस्थापन गरे।

च्याम्पियन्स कपमा बायर्नको पहिलो जित हो। बायर्न पहिलो खेलमा आर्सनलसँग २–१ ले पराजित भएको थियो। बायर्नले २ खेलबाट ३ अंक जोडेको छ। रियाल अंकबिहीन छ।

प्रकाशित मिति: : 2019-07-21 08:31:37

प्रतिकृया दिनुहोस्