अमेरिकी दूताबासको भिसा च्याट : प्रश्न- भिसा किन अस्वीकृत ? , उत्तर : सन्तुष्ट नपारेर !

अमेरिकी दूताबासको भिसा च्याट : उही प्रश्न, त्यही उत्तर । ले-आउट : ब्रेक एन लिंक्स ग्राफिक्स ।

काठमाडौंस्थित अमेरिकी दूतावासले फेसबुक पेजमा आयोजना गरेको पछिल्लो भिसा च्याटमा पनि पुरानै प्रश्न र तिनीहरूका रेडिमेड उत्तर दोहोरिएका छन् ।

पाक्षिक रूपमा आयोजना हुँदै आएको भिसा च्याटको शुक्रबारे संस्करणमा अधिकांश सहभागीको एउटै प्रश्न थियो-  विद्यार्थी वा भिजिटर भिसा अस्वीकृत किन हुन्छ ? जवाफमा दूतावासका कन्सुलर अधिकृतका तर्फबाट दिइएको जवाफमा पनि उही रेडिमेड जवाफ नै आएको थियो- भिसाका लागि आवश्यक सबै कानुनी प्रावधान पूरा गरेकोबारे कन्सुलर अफिसरलाई सन्तुष्ट नपारेर । 

अब प्रश्न उठ्छ - भिसाका लागि आवश्यक सबै कानुनी प्रावधान पूरा गरेकोबारे कन्सुलर अफिसर सन्तुष्ट नहुनुको कारण चाँहि के हो ? 

यस प्रश्नको उत्तरमा कन्सुलर अफिसरको उत्तर छ- विद्यार्थी भिसाका लागि योग्य हुन अमेरिकामा काम नगरी पढ्ने मात्र आशय भएको, पढाईका लागि आर्थिक व्ययभार थेग्नसक्ने आधार भएको र पढाईसकेपछि अमेरिका छाड्ने आशय भएको
हुनुपर्छ । यी तीन आधारमा कन्सुलर अफिसर सन्तुष्ट भएपछि मात्र विद्यार्थी भिसा स्वीकृत हुन्छ । 

अमेरिकी दूताबासका कन्सुलर अफिसरहरू यी तीनवटै आधारमा अन्तर्वार्ता दिनेहरू खह्रो उत्रन नसक्ने कारणले नै विद्यार्थी भिसा अस्वीकृत गर्छन् । उनीहरूका अनुसार अधिकांशले पढ्न हैन, अमेरिका पस्नकै लागि विद्यार्थी भिसाको वहाना गर्छन् । अधिकांशको अमेरिकामा काम नगरी शुल्क तिरेर पढ्नसक्नै आर्थिक हैसियत नै हुदैन ।

यसैगरी भिजिटर भिसा अस्वीकृत हुनुको मूलकारण भ्रमणपछि स्वदेश फर्कने कुराबाट कन्सुलर अधिकृतहरू आश्वस्त हुन नसक्नु नै भएको बताइएको छ । अमेरिका भ्रमणमा जान चाहनेहरूसँग भ्रमण अवधिभर खर्च गर्ने हैसियत भए पनि उनीहरू नेपाल फर्कनैपर्ने कारण देखिदैन । र, यसरी भ्रमणका लागि मात्र गएकाहरू विरलै मात्र फर्कने गर्छन्, त्यसैले पनि आवेदककै कारण भिसा अस्वीकृत गर्न सजिलो भएको छ । 

भिसा च्याटमा सोधिएका बाँकि प्रश्नहरू पनि यही मूलप्रश्नका पुरक प्रश्नजस्ता देखिएका थिए । धेरैको प्रश्न थियो- भिजिटर भिसाका लागि स्पोन्सर चाहिन्छ । जवाफमा कन्सुलर अधिकृतले भनेका थिए- चाँहिदैन । यही आर्थिक पक्षसँग जोडिएको अर्को एक प्रश्नको उत्तरमा भनिएको थियो- भिसा जारी गर्दा दूतावासले बैंक ब्यालेन्स हेर्दैन तर भ्रमणको खर्च कसरी बेहोर्ने भन्ने कुरा आवेदकले अन्तरवार्तामा प्रस्ट पार्न सक्नु पर्छ । 

अर्को प्रश्न थियो- एकपटक भिसा अस्वीकृत भएपछि आवेदन दिन पाइन्छ कि पाइदैन ? जवाफ थियो- जतिपटक पनि पाइन्छ । तर, पहिला के कारणले भिसा अस्वीकृत भएको थियो, त्यो कारणमा परिवर्तन आएपछि मात्र भिसाका लागि पुन: आवेदन दिनु श्रेयस्कर हुन्छ । यसै प्रसंगमा यसो पनि भनिएको थियो- विगतमा के कारणले भिसा अस्वीकृत भएको थियो भन्ने विवरण फेरि हेरिदैन । 

 

 

प्रकाशित मिति: : 2019-07-21 03:21:34

प्रतिकृया दिनुहोस्