डोल्पो महोत्सवको निम्तोः संस्कृति र प्रकृतिमा रमाउने अबसर

तस्बिरः बिएल

काठमाडौं । हिमाली जिल्ला डोल्पामा पर्यटक बढाउने उद्देश्यले भदौ २४ देखि २८ गतेसम्म डोल्पो महोत्सव हुने भएको छ । डोल्पोबुद्ध गाउँपालिका र भिजन डोल्पो नामक संस्थाले धो–तराप उपत्यकामा महोत्सव गर्न लागेका हुन् ।

फोक्सुन्डो ताल, शे–गुम्बा, धो–तराप उपत्यका, प्राचीन गुम्बा, काञ्जिरोवा हिमालका साथै विभिन्न जडीबुटीको भण्डार मानिएको डोल्पाको प्रवद्र्धनमा महोत्सव कोशेढुंगा हुने विश्वास गरिएको छ ।

महोत्सव संयोजक ग्याल्पो थापा भोटेका अनुसार महोत्सवले डोल्पामा सडक, खानेपानी, बिजुली, सञ्चार लगायत आधारभूत पूर्वाधार विकासका लागि सरकारको ध्यानाकर्षण गराउने छ ।

महोत्सवमा लामाहरुको प्रवचन, घोडा दौड, तीर हान्ने प्रतिस्पर्धा, सांस्कृतिक कार्यक्रम र स्थानीय परिकारहरुको प्रदर्शन गरिने छ । महोत्सवकै अबसरमा धो–तरापमा होमस्टे शुभारम्भ गरिनेछ । हाल त्यहाँ केही होटल सञ्चालनमा छन् ।

गत मंसिरदेखि डोल्पा सदरमुकाम दुनै सडक सञ्जालसँग जोडिएपछि आन्तरिक पर्यटन प्रवद्र्धन हुनेमा डोल्पाली आशावादी छन् । स्वदेशी तथा विदेशी दुवै खाले पर्यटकको स्वागतका लागि तम्तयार रहेको एक्सप्लोर डोल्पो टे«क्स एन्ड एक्सपिडिसनका अध्यक्ष जितेन्द्र झाँक्रीले बताए ।

जाजरकोटदेखि दुनैसम्म ११८ किमि छ । ठाउँठाउँमा पुल बनिसकेको छैन । त्यसैले ठाउँठाउँमा जीप परिवर्तन गर्दै दुनै पुग्नु पर्छ ।

महोत्सवस्थल पुग्न दुनैबाट तीन दिन हिँड्नु पर्छ । धो–तरापमा महोत्सव हेरेर नुमला र बगला भञ्ज्याङ चढेर फोक्सुन्डो ताल झर्न सकिन्छ । तालबाट दुई दिनमा दुनै बजार पुगिन्छ ।

अर्को विकल्प नेपालगञ्जबाट जुफालसम्म ३५ मिनेट हवाई यात्रा गर्न सकिन्छ । जुफालबाट १० किमिमा दुनै बजार जीपमा यात्रा।

आहा! मनै लोभ्याउने फोक्सुन्डो हेर्नुहोस् तस्बिर र भिडियोमा

प्रकाशित मिति: : 2019-07-20 12:22:20

प्रतिकृया दिनुहोस्