१ साउन, चितवन । बुढ्यौलीले लर्बराएको बोली, हराएको स्मरण शक्ति । कहिले के, कहिले के तर्कनाले सताउँछ । घरी हात्ती आयो, कहिले बाघ आयो भन्दै कराउँछिन् । ‘दानकी देवी’ को उपमा पाएकी मैयादेवी श्रेष्ठको दैनिकी यसरी नै बितिरहेको छ ।
नारायणगढको क्षेत्रपुरस्थित घरमा अरूको स्याहार सुसारमा दिन गुजारिरहेकी छिन्, मैयादेवीले ।
सहयोगीहरुले सुताउने, उठाउने र खुवाउने गर्छन् । उनलाई न विगतको स्मरण छ, न त भविश्यको चिन्ता । विगत ८ बर्षदेखि पार्किन्सन्स् रोगबाट पीडित ९१ वर्षीया मैयादेवीको हेरचारमा धर्म छोरा टंकनाथ पौडेल र अन्य तीन जना खटिएका छन् ।
दानबारे मैयादेवी श्रेष्ठको भनाइ छ, ‘मान्छेलाई दान नगर भनेर १० वटा हात्ती बराबरको तागतले छेकिरहेको हुन्छ, त्यो तागतलाई जित्नेहरुले मात्रै दान दिन सक्छन् । दानीलाई हानी चाहिँ कहिल्यै हुँदैन ।’
त्यो तागतलाई जितेर ईच्छा लागेअनुसार दान गर्दै आएकी मैयादेवी खासमा यो उमेर देवघाटमा बिताउन चाहन्थिन् । तर, पार्किन्सन्सका कारण सम्भव भएन । रोग लाग्नुअगाडि उनी समय–समयमा देवघाट र भारतको हरिद्वारमा पनि बसिन् ।
जता बसे पनि दानलाई जीवनको ध्येय बनाएकी उनी नारायणगढको लगभग ८ करोड मूल्य पर्ने घर–जग्गा ट्रस्टलाई हस्तान्तरण गरेपछि केही समय भदाहाको घरमा बसिन् । त्यसपछि केही लाखमा क्षेत्रपुरमा किनेको घर बाँकी जीवन बिताइरहेकी छन् ।