अबका केही दिन लगातार वर्षा हुने अनुमान जल तथा मौसम पूर्वानुमान महाशाखाले गरेको छ।
बर्खाका समय यसरी निरन्तर पानी परिरहँदा बाढी र पहिरोको जोखिम पनि बढ्दै गएको छ।
पछिल्लो समय नदीमा पानीको सतह बढ्दै जाँदा खतरा निम्त्याउन सक्ने अवस्था आउनु अघिनै मोबाइल फोनमा सूचना आउने भएकाले यो प्राकृतिक विपदबाट जोगाउन सहज भएको बर्दीया राजापुर नगरपालिका-३ को विपद व्यवस्थापन समितिकी सचिव सविता थारू बताउँछिन्।
"पहिला बाढीको खतराबारे पूर्व जानकारी दिने खालका एसमएस हामीकहाँ आउँदैन थियो। त्यसैले माथिबाट खोला बढ्दै आएपछि हाम्रो धेरै धनजनको क्षति हुन्थ्यो। अचेल त्यस्तो निकै कम भएको छ," उनले भनिन् ।
प्रविधिको प्रयोग
यस्ता सूचना प्रवाह गर्न मोबाइल फोन र इन्टरनेट लगायतका प्रविधिको प्रयोग बढेसँगै बाढी पहिरोलगायतका विपदबारे दिइने पूर्व सूचनाको प्रभावकारिता बढेको जल तथा मौसम पूर्वानुमान महाशाखाका अधिकारीहरू पनि बताउँछन्।
उनीहरूका अनुसार एसएमएस, सामाजिक सञ्जाल, वेबसाइटलगायतबाट दिइने जानकारी जनस्तरसम्म छिटो पुर्याउन सकिने भएकाले विपदबाट हुने क्षतिमा पनि न्यूनीकरण हुन थालेको छ।
२०७२ सालमा गएको भूकम्पपछि प्राकृतिक विपदबारे एसएमएस मार्फत् सूचना दिने प्रणालीको राम्रोसँग विकास भएको यस क्षेत्रका जानकारहरू बताउँछन्।
एसएमएसको प्रयोग
प्राकृतिक विपदबाट हुन सक्ने क्षति कम गर्ने उपायका रूपमा यसलाई अघि सारिएको अधिकारीहरू बताउँछन्।
त्यसैले पानीको सतह बढेका खोला र नदीको आसपासमा बसोबास गर्नेहरूले अचेल एसएमएस मार्फत् बाढीबारे पूर्व सूचना पाउने गरेका छन्।
महाशाखाका जलस्रोतविद् विनोद पराजुलीका अनुसार देशभर विभन्न स्थानमा ७३ वटा बहाव मापन यन्त्र र ८९ वटा स्थानमा वर्षा मापन केन्द्र उपलब्ध छन्।
यी यन्त्रले तत्कालै पठाएका तथ्याङ्कको विश्लेषणका आधारमा बाढी पूर्वानुमान गरिन्छ।
सामाजिक सञ्जाल
उनीहरूले सामाजिक सञ्जाल ट्विटर र फेसबुक मार्फत् पनि यस्तो सूचना हेर्न सक्छन्।
मौसम पूर्वानुमान महाशाखाले दुई वर्षयता विभिन्न माध्यमबाट दिँदै आएको यस्तो सूचनाका कारण धेरै सकारात्मक परिवर्तन भएको महाशाखाका जलस्रोतविद् विनोद पराजुलीले बताए।
"ट्विटरमा हामीले राखेका सन्देश निकै धेरै रिट्विट हुने गरेको छ। यसकै आधारमा धेरै सञ्चार माध्यमले समाचार बनाएको पनि हामीले पाएका छौँ। हामीले एकपटक पोस्ट गरेको सूचना एकैपटक धरै मानिसकोमा जाने र ती प्रयोगकर्ताले रिट्विट गर्दा त्यो अझ छरिने भएकाले यो निकै प्रभावकारी भएको हामीले पाएका छौँ," पराजुलीले भने।
हाल करिब २० हजार फेसबुक र ट्विटर प्रयोगकर्ता महाशाखाका यी सामाजिक सञ्जालका माध्यमसँग जोडिएका छन्।
प्रविधिको सहारा
जनशक्ति कम भएको महाशाखाले महत्त्वपूर्ण सूचना समयमै पुर्याउनका लागि प्रविधिको सहारा लिएको उनको भनाइ छ।
महाशाखाको वेबसाइटमा पनि देशभरका विभिन्न स्थानका मौसम विवरण अपडेट भइरहेका हुन्छन्। त्यस्तै मौसम विवरण लिन चाहनेका लागि एउटा पैसा तिर्न नपर्ने टोल फ्रि नम्बरको पनि प्रयोग गर्न सकिन्छ।
सीमित श्रोत साधन भएका मुलुकले प्रविधिको मार्फत् विपद न्यूनीकरणका लागि गरेको प्रयासको अन्तराष्ट्रिय मञ्चहरूमा पनि प्रशंसा हुने गरेको पराजुलीले बताए, "इन्टरनेटको राम्रो व्यवस्था र पहुँच भएका देशमा यस्तो सूचना विभिन्न एपहरू मार्फत् दिइन्छ। तर हामीकहाँ प्रयोग गरिएको एसएमएस र टोल फ्रि सेवाको अन्य मुलुकले पनि अनुसरण गर्न थालेका छन्।"
इन्टरनेटको पहुँच सबैमा नभएका कारण एसएमएस सबैभन्दा भरपर्दो माध्यम हुने गरेको अधिकारीहरू बताउँछन्।
प्रभावकारी बनाउनुपर्छ
करिब दुई वर्षअघि तराई क्षेत्रमा गएको बाढीका समय दशौँ लाखको सङ्ख्यामा खतराको सूचना सहितको एसएमएस सन्देश पठाइएको उनीहरूले बताए।
"अचेल अधिकांश मानिसले मोबाइल बोक्छन्। यस्तै कुनै पनि परिवारमा कम्तीमा एकजना सदस्यले त मोबाइल पक्कै बोक्छन्। त्यसैले एसएमएस मार्फत् दिइएको सूचना एकैपटकमा लगभग सम्बन्धित सबैकोमा पुग्छ," पराजुलीले भने।
"हामीले यसरी विभिन्न प्रणाली मार्फत् सूचना दिन सुरु गरेपछि बाढीकै कारण हुने मानवीय क्षतिमा उल्लेखनीय कमी आएको छ।"
तर अझैपनि नेटवर्कको समस्या र एकैपटक धेरै मानिसलाई एसएमएस पठाउँदा हुने समस्याले एसएमएस सन्देश शतप्रतिशत प्रभावकारी हुन नसकेको कतिपयको भनाइ छ।
यस्ता सन्देश सहितको एसएमएसले निकै सहज बनाएपनि यसमा मात्र निर्भर हुन नसकिने बताउँछिन् विपद व्यवस्थापनमा संलग्न थारू, "कहिले कुनै स्थानमा नेटवर्क नलाग्ने समस्या छ। यस्तो अवस्थामा जतिसक्दो छिटो सूचना पुर्याउनुपर्छ। तर शायद धेरै सन्देश एकैपटक पठाइएको भएर होला कहिलेकाहिँ त्यो अलि ढिलो पनि आउँछ।"
त्यसैले प्रविधिसँगै उनको समुदायमा बाढी आउनु अघि माइक, साइरन, झण्डा लगायत परम्परागत विधिमार्फत् सुसूचित गर्ने काम पनि निरन्तर चलिरहेको उनी बताउँछिन्।