प्रधानमन्त्री केपी शर्मा ओलीको विदेश भ्रमण मोह र राष्ट्रिय ढिकुटीको दोहन जारी छ ।
केही समयअघि कम्बोडिया र भियतनाम पुगेर फर्केका प्रधानमन्त्री ओली शनिबार फेरि नौ दिनका लागि युरोप उड्दैछन् ।
युरोपको तीन देशको भ्रमणमा निस्केका उनको साथमा २२ जनाको जम्बो टोली पनि जादैछ ।
अन्तरराष्ट्रिय श्रम संगठन (आईएलओ) को शतवार्षिकीका अवसरमा स्विट्जरल्यान्डकाे जेनेभामा आयोजना हुने समारोहमा सहभागी हुन प्रधानमन्त्री ओली जेठ २६ र २७ गते त्यहाँ रहनेछन्। यो समारोहमा विश्वका धेरै देशबाट सरकार प्रमुख सहभागी हुदैनन् ।
निम्तो मगाएर जेठ २७ देखि २९ गतेसम्म बेलायतको भ्रमण गर्न लागेका प्रधामन्त्री ओली यतिबेला बेलायत भ्रमणमा जानुको पनि खासै तुक छैन । उनकी बेलायती समकक्षी थेरेसा मे कामचलाउ भैसकेको अवस्थामा उनको यो भ्रमणको पनि कुनै उपादेयता छैन । सन् २००२ पछि नेपालका प्रधानमन्त्रीले बेलायतको भ्रमण गरेको भन्ने समाचार बन्नेभन्दा बढी यसको अर्थ र उपयोगिता नै छैन ।
प्रधानमन्त्री ओलीले जेठ २९ देखि ३१ गतेसम्म गर्ने फ्रान्स भ्रमणलाई पनि फ्रान्सले खासै महत्व दिएको छैन । उनले त्यहाँ पेरिसमा आफ्ना समकक्षी इदोवार्ड फिलिपसँग भेटवार्ता गर्नेसम्मको कार्यक्रम भने मिलाइएको छ ।
प्रधानमन्त्री ओलीको भ्रमण टोलीमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्ट, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार डा। भट्टराई, प्रेस सल्लाहकार डा कुन्दन अर्याल, सांसद विन्दा पाण्डे, परराष्ट्र सचिव र श्रम तथा रोजगार मन्त्रालयका सचिवलगायत २२ जना सहभागी हुनेछन्।
प्रधानमन्त्री ओली आउने असार १ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।