नेपालका मेजर जनरल शिवराम खरेल युनाइटेड नेसन्स डिसइन्गेजमेन्ट अब्जर्भर फोर्स (युएनडीओएफ)को कार्यबाहक मिसन प्रमुख तथा फोर्स कमाण्डरमा नियुक्त भएका छन्।
उनलाई संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटर्सले नियुक्त गरेका हुन्।
यो नियुक्तिसँगै उपरथि खरेल अब इजरायल र सिरिया मामिला हेर्ने कमाण्डर भएका छन्। गोलान क्षेत्रमा रहेको यो कमाण्मा नेपालका तीनसय २८, फिजीका दुई सय ३९, भारतका एकसय ८०, आयरल्याण्डका एकसय ५९ र घानाका नौजना सैनिक कार्यरत छन्। फोर्स कमाण्डरकै मातहतमा नै समग्र मिसनको नेतृत्व हुन्छ।
घानाका मेजर जनरल फ्रान्सिस भिव सान्जिरीको गत अप्रिलमा अचानक मृत्यु भएपछि खरेललाई सो पदमा नियुक्त गरिएको हो।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हिसाबले राम्रो छबि बनाएका उपरथि खरेलले युनिफिल लेबनानमा पनि डेपुटी फोर्स कमाण्डरका रुपमा काम गरेका थिए। यसअघि उनले संयुक्त राष्ट्र संघअन्तर्गत रहेर सन् २०१२ र २०१३मा पश्चिमी सहारामा जनमत संग्रहका समयमा मद्धत गर्नुका साथै २००५ देखि २००६ सम्म कंगोमा रहेर पनि काम गरेका थिए ।
स्मरणीय छ, केही समयअघि नेपालका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले संयुक्त राष्ट्र महासचिवलाई भेटेर नेपाली सेनालाई पनि नेतृत्वदायी भूमिका दिन आग्रह गरेका थिए।