राष्ट्रिय प्रतियोगिता बन्यो ‘जोक’: खेलाडी खेल्न तयार, पौडी पोखरी अझै बनेन

तस्बिरः नविन अर्याल

राष्ट्रिय प्रतियोगितामा यो भन्दा ठूलो ‘जोक अरू के नै हुन सक्छ र! खेलाडीहरु सबै आफ्नो क्षेत्रबाट यहाँ प्रतियोगिता खेल्न आइसके। तर, खेलस्थलको निमार्ण कार्य अहिलेसम्म सम्पन्न भएको छैन। 

घटना हो, नेपालगञ्जस्थित नवनिर्मित पौडी पोखरीको। नेपालगञ्जमा दुई वर्ष अगाडि आठौं बृहत राष्ट्रिय खेलकुद घोषणा भएको थियो। यस अवधिमा तीन पल्ट राष्ट्रिय प्रतियोगिताको मिति सारियो। तर, यति गर्दा पनि नेपालगञ्जमा निर्धारित समयमा पौडी पोखरी निमार्ण कार्य सम्पन्न भएन।

आइतबारदेखि पौडीतर्फ ३४ स्वर्णका लागि खेल हुँदैछन्। यो प्रतियोगितामा सहभागी हुन नेपाली पौडीकी युवा प्रतिभा गौरिका सिंह बेलायतबाट शुक्रबार नै नेपालगञ्ज पुगिसकेकी छिन्। तर, पौडी पोखरीको अत्तोपत्तो नहुँदा शनिबार खेल आयोजना हुने स्थल अन्यत्र सारिएको छ।

नेपाल पौडी संघका अनुसार नेपालगञ्ज रंगशालामा आयोजना हुने पौडी खेललाई अन्यत्र सारिएको हो। अब यो खेल २५ मिटर लेन्थ भएको सिंगेट होटलमा आयोजना हुँदैछ।

‘हचुवाको भरमा खेल गर्दा यस्तो हुन्छ । यस्तो अवस्थामा खेलाडीले के अनुभव बोकेर जान्छन्?’ संघका एक पदाधिकारीले ब्रेकिङलिंक्ससँग गुनासो गरे, ‘प्रधानमन्त्री समृद्ध नेपालको नारा दिने। खेल पदाधिकारी भने विगतमा समृद्ध रहेको हाम्रो खेलकुदको वातावरणलाई धुजाधुजा पार्ने।’

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशव बिष्टले समयमा बजेट निकास हुन नसक्दा पूर्वाधार निमार्णमा कठिनाई भएको बताउँदै आएका छन्। ‘अर्थ मन्त्रालयले घोषित कार्यक्रममा पहिले नै बजेट निकास गरेको भए पूर्वाधार निमार्ण फितलो हुँदैन्थ्यो,’ आठौं बृहत राष्ट्रियको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा बिष्टले स्पष्टीकरण दिएका थिए।

स्थानीय खेलकर्मी भने यो घटनालाई आवश्यक खेलस्थलको तयारी पुरा नभई प्रतियोगिता आयोजना गर्दाको नतिजा बताउँछन्। ‘नेपालगञ्जमा आठौं बृहत राष्ट्रिय खेलकुद भनेर ढोल पिटियो। यसैका लागि भनेर ४७ करोड बजेट छुट्याइयो। खोई पूर्वाधार?,’ स्थानीय एक खेलकर्मी भन्छन्।

राष्ट्रिय खेलकुद परिषद्का पूर्व कोषाध्यक्ष तथा ओलम्पियन सुरेन्द्र हमाल जुन प्रकारले खेल आयोजना गरियो, यसबाट त्यति सन्तुष्ट छैनन्।

‘बृहत राष्ट्रियको परिकल्पना भनेको खेलकुदको पूर्वाधार तयार पारेर शहरलाई आधुनिकीकरणतर्फ लैजाने भन्ने हो। सबै हचुवाको भरमा हुन थालेपछि भद्रगोल हुन्छ नै। यसले नेपाली खेलकुदको विकास होइन सर्वनाश गर्छ,’ हमालले भने।

सन् १९८४ लस एञ्जल्स ओलम्पिकमा भारत्तोलनबाट नेपालको प्रतिनिधित्व गरेका हमाल अब पनि परिषद्को नेतृत्व नसुध्रिने हो भने नेपाली खेलकुदको स्तर झन खस्कीने बताउँछन्। हमालले आठौं बृहत राष्ट्रिय खेलकुदमा ओलम्पिक टर्च प्रज्वलन गरेका थिए।

प्रकाशित मिति: : 2019-04-20 15:26:08

प्रतिकृया दिनुहोस्