प्रधानमन्त्री केपी शर्मा ओलीले एक जना कर्मचारीमाथि प्रश्न उठेकै भरमा प्रतिपक्षी दलले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्नु निराधार र अनुचित क्रियाकलाप भएको बताएका छन्।
कान्तिपुर मिडिया ग्रुपद्वारा शनिबार आयोजित ‘हाफ म्याराथन’को शुभारम्भपछि कान्तिपुरका व्यवस्थापक र सम्पादकसँगको छलफलमा प्रधानमन्त्री ओलीले गृहमन्त्री लेखकमाथि कुनै आरोप नलागेको र कुनै निकायले छानबिन नगरेको अवस्थामा प्रतिपक्षी दलले असम्भव माग (बटमलाइन) राखेर सदन अवरोध गर्न नहुने स्पष्ट गरे।
‘म प्रतिपक्षको बोल्ने र माग राख्न पाउने अधिकारको सम्मान गर्छु तर माग राख्दा वा विरोध गर्दा आधार चाहीँ चाहिन्छ। गृह मन्त्रालयमातहत धेरै कर्मचारी छन्। एउटा कर्मचारीलाई अख्तियारले बोलायो। बयान लिएको सुनेको छैन। प्रतिपक्षलाई त यो सरकार नै मन परेको छैन, उसले माग बढाएर सरकारकै राजीनामा मागे पनि अस्वभाविक मान्नु पर्दैन,’ ओलीले भने, ‘पोहोर तत्कालीन गृहमन्त्रीको राजीनामा मागिँदा उहाँमाथि गृहमातहतको सीआईबीले छानबिन गरिरहेको थियो। अहिले त्यस्तो अवस्था होइन। त्यसकारण अहिले विरोध गर्न निहुँ नपाएर निहुँ खोजिएको मात्रै हो। यसरी विरोध गरिएको छ कि मानौं ३५ किलो सुन नै ओसारिएको छ, त्यस्तो अवस्था होइन।’
उनले बच्चाहरूले झोला वा खेलौना हात्ति किनिदेउ भन्दा किनिदिन सकिने भए पनि सक्कली हात्तिलाई झोलामा हालिदेउ भन्दा हाल्न नसकिए जस्तै विपक्षीले मागेअनुसार गृहमन्त्रीको राजीनामाको माग पूरा हुन सम्भव नहुने बताए।
कुनै पार्टीभित्रका समस्या वैयक्तिक आकाङ्क्षा-ध्रुवीकरणहरू हुन सक्ने र त्यसका आधारमा विरोध आउन सक्ने भए पनि घर झगडा घरभित्रै गर्न तर आँगनमा निस्किएर छिमेकीलाई डिस्टर्ब हुने गरी नगर्न प्रधानमन्त्री ओलीको आग्रह थियो।