रुस र युक्रेनबीच युद्धबन्दीहरू रिहा गर्ने सहमति भएको छ। तर युद्धबिरामका लागि भनेका सहमति हुन सकेन। टर्कीको इस्तानबुलमा भएको दुई देशका प्रतिनिधिहरूबीच यस्तो सहमति भएको हो।
बैठकपछि युक्रेनका रक्षामन्त्री रुस्तम उमेरोवले दुबै देशले पहिलो चरणमा एक-एक हजार युद्धबन्दीहरू रिहा गर्नेछन्।
‘हामीले युद्धबिराम र युद्धबन्दीहरू रिहा गर्ने विषयमा छलफल गरेका छौं। पहिलो चरणमा एक एक हजार युद्धबन्दीहरू रिहा गर्ने सहमति भएको छ’ उनले भनेका छन्।
यो बैठकमा युक्रेनी प्रतिनिधिले दुबै देशका राष्ट्रहरूबीच सिधा वार्ताको प्रस्ताव गरेका थिए। रुसका प्रतिनिधिहरूले त्यो कुरा आफ्ना राष्ट्रपतिलाई सुनाउने बाचा पनि गरेका छन्।
रुस र युक्रेन दुबै चाँडै नै युद्धबिराम गर्ने मनस्थितिमा छन्।
यसअघि रुसका राष्ट्रपति भ्लादिमीर पुटिनले युक्रेनसँग सिधै वार्ताको प्रस्ताव गरेका थिए। वार्ताको मिति र स्थान पनि उनैले प्रस्ताव गरेका हुन्।
त्यसका लागि युक्रेनी राष्ट्रपति भ्लोदिमीर जेलेन्स्की पनि उत्साहित भएका थिए। तर अन्तिम समयमा रुसले आफ्ना प्रतिनिधिमात्रै पठाउनेगरी वार्ता टोलीको नाम सार्वजनिक गर्यो। त्यसमा पुटिन आफू भने गएनन्।
टर्कीमा आफूले पुटिनलाई पर्खिरहेको बताएका जेलेन्स्की पनि पुटिन नआएपछि वार्तामा बसेनन्। दुबै पक्षको वार्तामा अमेरिकी प्रतिनिधिहरू पनि थिए।
तर अमेरिकी प्रतिनिधिले यो वार्ताबाट आफूहरू धेरै उत्साहित नभएको र अब सिधा पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच वार्ता नभएसम्म युद्धबिरामको सहमतिसम्म पुग्न मुश्किल हुने बताएका छन्।
सन् २०२२मा रुसले युक्रेनमाथि आक्रमण थालेपछि रुस र युक्रेनबीच सिधा वार्ता भएको यो पहिलोपटक हो।