वर्षाका कारण मुख्य राजमार्गहरूमा सास्ती

कतै बाटो बन्द, कतै एकतर्फी

आइतबार बिहानैदेखि देशका विभिन्न भागमा भइरहेको वर्षाका कारण कतिपय राजमार्गहरू अवरुद्ध भएका छन्। मुख्य राजमार्ग मर्मत र विस्तार भइरहेका बेला वर्षा भएपछि झन् सास्ती बढेको हो। 

स्थानीय प्रहरीका अनुसार नारायणघाट-बुटवल सडकखण्डको दाउन्ने क्षेत्रमा अहिले यातायात पूरै अवरुद्ध भएको छ। यो खण्डको सडक निर्माण सक्न यसअघि नै राति ११ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन बन्द गरिएको छ।

वर्षाका कारण सडक चिप्लो भएपछि बिहानैदेखि सवारी ठप्प छन्। पानी पर्दा हिलो हुने र घाम लाग्दा धुलोका कारण वर्षौंदेखि दाउन्ने सडकखण्डमा सास्ती नै सास्ती छ। वर्षायाम भन्दा अघि नै यो सडक बनाइसक्नेगरी काम भइरहे पनि त्यसमा उल्लेख्य प्रगती भने हुन सकेको छैन। 

त्यस्तै काभ्रे-भक्तपुर सडकखण्ड अन्तर्गत सूर्यबिनायक-जगाती क्षेत्र पनि एकतर्फी भएको छ। 

यहाँको सडकलाई ६ लेनमा बिस्तार गर्नेगरी काम भइरहेको छ। सडक खनिएका कारण सवारी आवागमनमा बाधा देखिएको हो। त्यसमा वर्षाका कारण बाटो थप बिग्रिएको छ। 

त्यस्तै वर्षाका कारण बागमतीमा आएको बाढीले डाइभर्सन बगाउँदा काठमाडौं-हेटौंडाको बाटो पनि अवरुद्ध भएको छ। 

कान्ती लोकपथअन्तर्गतको भीमफेदीमा सडक पूरै अवरुद्ध। सडक विभागका कर्मचारी र प्रहरी परिचालन गरेर बाटो खुलाउने प्रयास भइरहेको छ।   

प्रकाशित मिति: : 2025-05-04 09:31:00

प्रतिकृया दिनुहोस्