भारतलाई पाकिस्तानको कडा चेतावनी, ‘नष्ट गरिदिन सक्छौं…’

पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले भारतविरुद्ध कडा चेतावनी दिएका छन्। भारतले पाकिस्तानतिर बग्ने पानी रोक्ने वा त्यसको दिशा बदल्नका लागि कुनै संरचना खडा गरेमा उसलाई ‘नष्ट’ गरिदिने चेतावनी आसिफले दिएका छन्। 

पाकिस्तानको जीयो टेलिभिजनमा ‘नयाँ पाकिस्तान’ नामक कार्यक्रममा बोल्दै आसिफले सिन्धु जलसन्धीको उल्लंघन गर्न भारतका लागि त्यति सजिलो नभएको पनि बताए। 

‘भारतले कुनै तरिकाबाट त्यो सन्धीको उल्लंघन गर्दै पानी रोक्ने वा त्यसको दिशा बदल्नेगरी कुनै संरचना बनाउन खोज्यो भने त्यो पाकिस्तानमाथि आक्रमण गरेकै रुपमा लिइनेछ र त्यसलाई हामीले नष्ट गरिदिनेछौं’ उनले भनेका छन् ‘सिन्धु जल सम्झौताको उल्लंघन त्यति सजिलो छैन। त्यो भनेको पाकिस्तानविरुद्ध युद्धकै घोषणा हो। बन्दुक चलाउन वा मात्रै तोप हान्नुपर्दैन। युद्धका कैयौं रुप हुन्छन्। भारतले पानी रोकेर युद्धको सुरुवात गर्नसक्छ। किनकि उसलाई थाहा छ त्यो पानी बिना पाकिस्तान प्यासले नै मर्नेछ।’ 

पाकिस्तानले भारतको यो एकतर्फी घोषणाविरुद्ध अन्तर्राष्ट्रिय फोरमहरूमा पनि पाकिस्तानले कुरा उठाइरहेको र त्यसको खतरा अझै टरिनसकेको पनि बताएका छन्। 

गत अप्रिल २२ मा पहलगाममा आतंककारीहरूले २६ जना पर्यटकको हत्या गरेपछि भारत-पाकिस्तानबीचको तनाव थप चुलिएको छ। भारत प्रशासित जम्मु कश्मिर क्षेत्र पहलगाममा भएको उक्त आतंककारी आक्रमणमा घुम्न गएका एकजना नेपालीसहित २६ जनाको हत्या भएको थियो। 

‘द रेसिस्टेन्स फ्रन्ट’ले जिम्मेवारी लिएको उक्त आक्रमणको पछि पाकिस्तानकै हात रहेको भन्दै त्यसपछिका दिनमा भारत-पाकिस्तानले एकअर्काविरुद्ध कडा निर्णयहरू लिँदै आएका छन्। भारतले पाकिस्तानी सेनाले नै उक्त आतंकवादी संगठनको संरक्षण गर्दै आएको बताएको छ। भने पाकिस्तानले त्यसमा आफ्नो कुनै हात नरेको भन्दै बरु घटनाको निष्पक्ष छानबिनको माग गरेको छ। 

 

त्यही घटनाको प्रतिक्रियामा भारतले १९६० मा पाकिस्तानसँग भएको सिन्धु जल सम्झौतालाई स्थगन गर्ने निर्णय गरेको थियो। त्योसँगै दुई देशले नै एकअर्का देशका नागरिकलाई आफ्नो देश छोड्न पनि आदेश दिएका थिए। दुबैले आआफ्ना कुटनीतिक अधिकारीहरूलाई पनि फिर्ता बोलाइसकेका छन्। 

त्यो आक्रमणपछि भारतीय सेना आक्रामक भएको छ। सिमानामा गोली हानाहान पनि भइरहेको छ र यसले युद्ध नै निम्त्याउन सक्ने खतरा बढेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय सैनिकलाई पाकिस्तानमाथि आक्रमण गर्न सम्पूर्ण निर्णयका लागि खुला छोडिदिएको घोषणा गरेका छन्। यसबाट भारतीय सैनिकले पाकिस्तानमाथि आक्रमण गर्नका लागि अब सरकारको आदेश कुरिरहनुपर्ने छैन र कहाँ, कहिले अनि कसरी आक्रमण गर्ने भन्ने निर्णय लिन सेना स्वतन्त्र भएको छ। 

योसँगै पाकिस्तानले केही समयभित्रै भारतले पाकिस्तानमाथि आक्रमण गर्नसक्ने भन्दै आफ्ना सैनिक र नागरिकलाई सचेत अनि तयार रहन आह्वान गरेको थियो। 

पाकिस्तानी सरकारका मन्त्री तथा नेताहरूले पनि भारतलाई चेतावनी दिइरहेका छन्। यसअघि पाकिस्तानका पूर्व विदेशमन्त्री तथा पाकिस्तानी पिपुल्स पार्टी(पिपिपी)का अध्यक्ष बिलावल भुट्टोले पनि अतिरञ्जित अभिव्यक्ति दिएका थिए। 

सिन्ध प्रान्तमा आयोजित एक आमसभामा उनले भारतलाई चेतावनी दिँदै ‘सिन्धु नदीमा या पाकिस्तानको पानी या त भारतीयको रगत बग्ने’ चेतावनी दिएका थिए। तर पछि उनले आफूले ‘पाकिस्तानी नागरिकको भावना बोलेको’ भन्दै त्यसमा प्रस्टीकरण दिएका थिए। 

भारत पाकिस्तान दुबै परमाणु हतियारका धनी राष्ट्रहरू हुन्। उनीहरूले एकअर्काविरुद्ध कुनै पनि बेला हुनसक्ने युद्धको भरमार तयारी गरिरहेका छन्। बाँकी विश्वका कतिपय राष्ट्रहरूले भने आपसी द्वन्द्व कायम गरेर शान्तिको दिशामा अघि बढ्न दुबै देशलाई सुझाव दिएका छन्। 


 

प्रकाशित मिति: : 2025-05-03 09:35:00

प्रतिकृया दिनुहोस्