पाकिस्तानलाई चीनको सान्त्वना, भारत थप आक्रामक (भिडिओसहित)

पहलगाम आक्रमणपछि भारतको एकोहोरा दबावमा रहेको पाकिस्तानलाई चीनले समर्थन गरेको छ। गत साता जम्मु कश्मिरको पहलगाममा आतंकवादीले २६ जना पर्यटकहरूको हत्या गरेका थिए। 

उक्त आक्रमणको जिम्मेवारी लिएको आतंकवादी संगठन द रेसिस्टेन्ट फ्रन्टलाई पाकिस्तानी सेनाको समर्थन रहेको आरोप भारतले लगाएको छ। 

घटनापछि भारत र पाकिस्तानबीच फेरि चर्को द्वन्द्व सुरु भएको छ। एकअर्काविरुद्ध युद्धका लागि तयार भएको दाबी दुबै देशले गर्दै आएका छन्। योबीचमा दुबै देशका सेनाहरू पनि निकै आक्रामक देखिएका छन् र सिमानामा दुबै पक्षका सैनिकहरू गोली हानाहान पनि गरिरहेका छन्। 

योबीचमा विश्वका कैयौ राष्ट्रहरूले उक्त आक्रमणको निन्दा गर्दै आतंकवादविरुद्ध भारतको साथमा रहेको जनाएका थिए। 

तर चीनले भने उक्त घटनाको ‘निश्पक्ष जाँच’ हुनुपर्ने पाकिस्तानको मागमा आफ्नो पनि पूर्ण समर्थन रहेको जनाएको छ। 

पाकिस्तानका विदेशमन्त्री इसहाक डार र चिनियाँ विदेशमन्त्री वाङ यीबीच उक्त आक्रमणपछि फोनवार्ता भएको थियो। त्यसक्रममा चीनले पाकिस्तानप्रति आफ्नो समर्थन रहेको प्रस्ट पारेका हो। 

डारका अनुसार चिनियाँ विदेशमन्त्रीले पाकिस्तानसँगको मित्रता र अन्य सम्बन्ध सँगसँगै उसको आन्तरिक र बाह्य सुरक्षाका लागि समन्वय गरिरहने प्रतिवद्धता व्यक्त गरेका थिए। 

वाङले पहलगाम घटनाको निश्पक्ष छानबिन हुनुपर्ने भन्दै भारत र पाकिस्तान दुबैलाई संयमताका साथ तनाव कम गर्ने दिशामा अघि बढ्न पनि अपिल गरेका थिए। 

‘यस्तो द्वन्द्वले भारत र पाकिस्तान दुबैको हित गर्दैन र क्षेत्रीय शान्ति कायम राख्ने हामी सबैको उद्देश्य पनि पूरा हुनसक्दैन’ उनले भनेका छन्। 

लामो समयदेखि पाकिस्तान र चीनबीच गहिरो सम्बन्ध रहिआएको छ। चिनियाँ आर्थिक रणनीतिको एक महत्वपूर्ण साझेदारका रुपमा पाकिस्तानलाई चीनले रक्षा क्षेत्रमा पनि धेरै सहयोग गर्दै आएको छ। 
अंग्रेज शासनबाट स्वतन्त्र भएपछि चीनले भारतलाई नै प्राथमिकतामा राखेको थियो। तर जब १९५६ मा चिनियाँ प्रधानमन्त्री चाउ एन लाईले पाकिस्तान भ्रमण गरेपछि दुबै देशको सम्बन्धमा नयाँ युग सुरु भएको मानिन्छ। 

सिमा विवादका कारण १९६२ मा चीन र भारतको युद्ध भयो। त्यसपछि चीन र पाकिस्तान दुबैले आफ्नो ‘साझा दुश्मन’ भारतलाई नै ठाने। यसपछि यी दुई देशबीच सम्बन्ध अझ बढ्दै गयो। 

पाकिस्तानी सेनालाई चिनियाँ सेनाले प्रशिक्षण पनि दिँदै आएको छ। त्यस्तै चीनले पाकिस्तानलाई परमाणु हतियार, युद्धपोत, लडाकु बिमान तथा क्षेप्यास्त्रजस्ता हातहतियार सहयोग पनि गर्दै आएको छ। 

योसँगै चिनले उत्पादन गर्ने हातहतियारमध्ये सबैभन्दा धेरै किन्ने पनि पाकिस्तान नै हो। एक तथ्याङ्कअनुसार चीनले उत्पादन गर्ने कूल हतियारमध्ये लगभग ४२ प्रतिशतभन्दा धेरै हतियार पाकिस्तान एक्लैले खरिद गर्छ।
 

प्रकाशित मिति: : 2025-04-29 08:54:00

प्रतिकृया दिनुहोस्