निरयघाट, तीन दशक अघिसम्म बागलुङ प्रवेश गर्ने एकमात्र नाका थियो। २०१३ साल अगाडिसम्म बागलुङवासी डुङ्गामा कालीगण्डकी तरेर पर्वतको खनियाघाट हुँदै पोखरा, काठमाडौंलगायत ठाउँमा आवतजावत गर्थे।
त्यसबेला सडकले बागलुङ जोडिएको थिएन। पोखरा-बागलुङ राजमार्ग निर्माण भएपछि २०५१ सालमा मालढुङ्गामा मोटरेबल पुल बन्यो। त्यसपछि बागलुङवासी खनियाघाटमा पुगेर काली तर्ने बाध्यता हटेको हो।
मालढुङ्गामा बनेको पुलबाट यात्रा गर्न थालेपछि निरयघाट ओझेलमा पर्यो। तत्कालीन जिल्ला विकास समितिले १२ लाख विनियोजन गरेर गणेश घुम्तीबाट सडक निर्माण गर्यो र ओझेलमा परेको नियरघाटलाई जोड्यो। आर्थिक वर्ष २०६०/६१ मा खुलेको सोही सडक दुई दशकपछि स्तरोन्नति हुँदैछ। विश्व बैंकको लगानीमा ‘सहरी शासकीय पूर्वधार विकास कार्यक्रम’अन्तर्गत असारदेखि उक्त सडकको स्तरोन्नति गर्न थालिएको हो।
कालीगण्डकी नदीको तटमा रहेको निरयघाट बागलुङवासीको दाहसंस्कार गर्ने मुख्य घाट अर्थात् दाहस्थल पनि हो। दैनिकजसो सयौँ नागरिक कालीगण्डकीमा स्नान गर्न पुग्छन्। सडक खुलेको दुई दशकसम्म स्तरोन्नति नहुँदा सबैभन्दा बढी सास्ती मलामीले भोग्नुपरेको स्थानीयको गुनासो छ। अप्ठ्यारो सडकमा शव बोकेर हिँडेका कति मलामी घाइते भए, त्यसको लेखाजोखा छैन।
अहिले भने त्यसरी सास्ती र सकस खेपेका मलामीमात्र होइन, साँघुरो सडक त्यसमाथि खाल्डाखुल्डी, हिलो र धुलोले वर्षौँदेखि आजित बनेका निरयघाट र माझी बस्तीका स्थानीय खुसी छन्। पोहोरसम्म सडकको धुलोले घरको छानो र पिँढी ढपक्क ढाकिने गरेको बागलुङ नगरपालिका–१ माझी बस्तीका ७५ वर्षीय बलबहादुर माझी बताउँछन्।