सुनसरी सदरमुकाम इनरुवासहित विभिन्न स्थानमा लाग्दै आएको एकमहिने ‘सिरुवा’ मेला सुरु भएको छ। नयाँ वर्षको आगमनसँगै सुनसरीको विभिन्न स्थानमा गरेर एक महिनासम्म लाग्ने जिल्लाकै पौराणिक एकमहिने सिरुवा मेला सुरु भएको हो।
इनरुवा–६ मधेसबाट सुरु भएको यो मेला जिल्लाका विभिन्न स्थानमा लागेर मोरङमा समापन हुने गरेको इनरुवाका पूर्वप्रमुख एवं अग्रज ८५ वर्षीय गोपाल कोइरालाले बताए। विसं २००७ को क्रान्ति र झोडा फँडानीपछि यहाँ लाग्दै आएको एकमहिने मेला लाग्दै मोरङमा गएर समापन हुने उनले जानकारी दिए।
यो मेला सदरमुकाम इनरुवाको, मधेस, इनरुवा–७ चान्दबेला, इनरुवा–८ गणेशपुर, इनरुवा–१ भगवती मन्दिरसहित रामधुनी नगरपालिकाको पाञ्चायन थान, कोसी–२ पश्चिम कुशाहास्थित सलहेस थानलगायत ठाउँ हुँदै मोरङमा गएर समापन हुन्छ।
'एक महिनासम्म प्रत्येक ठाउँमा बिहान ८ बजेदेखि लाग्ने यो मेला साँझ अन्त्य गरिन्छ। अर्को दिन पुनः अर्को ठाउँमा लाग्ने गर्दछ', इनरुवा–१ का वडा सदस्य प्रदीप ढकालले भने। मेला भर्नका लागि जिल्लामा पाहुनाका रूपमा अन्य जिल्लाबाट आफन्त यहाँ आउने गरेका छन्।