नयाँवर्ष २०८२ मनाउन परराष्ट्रमन्त्री आरजु राणा देउवासहित करिब १५ देशका राजदूत एवम कुटनीतिज्ञहरू इलाममा छन्। मन्त्रालयको नियमित कार्यक्रम अन्तर्गतको ‘डिप्लोम्याटिक रिट्रिट’का लागि उनीहरू यस पटक इलाम पुगेका हुन्।
आइतबार इलामको कन्याम पुगेर सांस्कृति पहिरनसहित घोडा सवार गरेका उनीहरू सोमबार अन्तु भ्रमणमा छन्। सोमबार बिहान अन्तुडाँडामा पुगेर सूर्योदय दृश्यावलोकन गरेका उनीले अन्तु पोखरीमा डुंगा सयर पनि गरे।
डुंगा सयरपछि चियाबारीमा उत्रिएका उनीहरूले मौलिक पारामा चिया टिपेर मनोरञ्जन समेत लिएका छन्। डाडाँमा चिया टिपेर चोयाको डालोमा लगाएर रमाइलो गरिरहेका उनीहरूले नेपालमा चिया पर्यटनको चर्चा समेत गरेका छन्।
परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईसहित सबै राजदूतहरूले चिया बगान छिरेर आधा घन्टासम्म चिया टिपेका थिए। ‘सबै राजदुतहरूले फरक अनुभव लिए। नेपालीहरूले चिया टिप्ने शैली उनीहरूले बुझ्ने मौका पाए। चिया कसरी तयार गरिन्छ भन्ने जानकारी समेत लिए,’सचिव राईले भने।
सूर्योदयका नगर प्रमुख रणबहादुर राईले राजदूतहरूले टिपेको चिया प्रशोधन गरी तयार पारेर उनीहरूलाई नै कोशेली स्वरुप पठाउने घोषणा पनि गरे। इलामको चिया चिनाउनका लागि यस्तो प्रयास गरिएको उनले जानकारी दिए।
अन्तु भ्रमणकै सिलसिलामा अनौपचारिक कार्यक्रम अन्तर्गत अन्तुमै चिया टेस्टिङ पनि गराइएको छ। सूर्योदय टी प्रोडुर्सस एसोसिएसन र राष्ट्रिय चिया तथा कफी विकास बोर्ड चिया विस्तार योजना फिक्कलले विभिन्न १६ जातका चिया टेस्टिङ गराए।
नेपाली चियाका विभिन्न जात चखाएर नेपाली चिया विश्वबजारमा प्रवर्द्धन गर्नका लागि चिया टेस्टिङको कार्यक्रम राखएको सूर्योदय टी प्रोडुर्सस एसोसिएसनका सचिव गोपाल कट्टेलले जानकारी दिए।
चिया टेस्टिङसंगै चियाका प्रकार बारेमा जानकारी गराइएको थियो। ब्ल्याक टी, अर्थोडक्स ग्रीन टी, उलङ टी, सिल्भर टी, गोल्डेन टीको स्वाद चखाइएको राष्ट्रिय चिया तथा कफी विकास बोर्ड चिया विस्तार योजना फिक्कलका चिया प्राविधिक नविन कोइरालाले जानकारी दिए।
नेपाली नयाँवर्ष २०८२ को अवसरमा नेपालका लागि विभिन्न देशका राजदुत आइतबार इलामको सूर्योदय नगरपालिका पुगेका हुन्। परराष्ट्र मन्त्रालय र नेपाल टुरिजम बोर्डको आयोजना तथा नगरपालिकाको समन्वयमा अनौपचारिक भ्रमण अन्तर्गत १५ देशका राजदुत आइतबारदेखि इलाम भ्रमणमा गएका हुन्।
परराष्ट्रमन्त्री डा.देउवाको नेतृत्वमा, मन्त्रालयका सचिव राईसहितका कर्मचारी, टुरिजम बोर्डका कर्मचारी राजदुतसहित ४५ जना बढी उच्च तहका पदाधिकारी भ्रमणमा सहभागी छन्।
भ्रमण अन्तर्गत सोमबार अन्तु पोखरीमा राजदूतहरूलाई डुंगा सयर गराउनुका साथै माछा मार्ने (फिसिङ) गरिएको छ।
मन्त्रालयले वार्षिक रुपमा विभिन्न देशका राजदूतलाई नयाँवर्षको अवसरमा नयाँ पर्यटकीय गन्तब्यमा भ्रमण गराउने कार्यक्रम अनुसार यसपटक सूर्योदय नगरपालिकाको अन्तुमा र कन्याममा कार्यक्रम तय भएको थियो।
नगरले राजदुतको स्वागतमा विभिन्न सांस्कृतिक तथा सांगीतिक कार्यक्रम आयोजना गरेको छ। राई, लाप्चा र नेवारी नृत्यसहित साकेला र झाक्री नाचले स्वागत गरिएको थियो।
भ्रमणमा इजिप्ट, दक्षिण कोरिया, यूके, स्वीटजरल्याण्ड, थाइल्याण्ड, अष्ट्रेलिया, फ्रान्स, इजरायल, जापान, मलेसिया, श्रीलंका, बंगलादेश र इसीमोडका राजदूत सहभागी छन्। टोली वैशाख २ गतेसम्म इलाममा नै रहनेछन्।
कूटनीतिज्ञहरू नेपालको पर्यटनका ‘राजदूत’ बन्नुपर्छः मन्त्री राणा
भ्रमणका क्रममा राखिएको एक समारोहमा परराष्ट्र मन्त्री डा.आरजु राणा देउवाले नेपालको विकास र समृद्धको आधार पर्यटन भएको बताइन्। उनले नेपालका अद्वितीय संस्कृति र सम्पदा एवं प्राकृतिक सौन्दर्य विश्वका प्रमुख आकर्षण भएकाले मुलुकको विकास र समृद्धिका आधार रहेको पनि औंल्याइन्।
मन्त्री राणाले नेपालको सांस्कृतिक र प्राकृतिक विविधताका साथै इलामको सौन्दर्य, हरियाली, जैविक विविधता एवं सम्पदा र हिमशृङ्खलाको पनि प्रशंसा गरिन्। इलाम क्षेत्रको महत्त्व स्पष्ट पार्दै मन्त्री राणाले इलामलाई चियाका फाँटैफाँट, कुहिरोले ढाकेका डाँडाहरू र आत्मीय मनसहितका बासिन्दाहरूको भूमिका रूपमा पनि चित्रण गरिन्। उनले इलामको चिया, शुद्ध हावा, परम्परा र जीवनशैली अनुभव गर्न सबैलाई आग्रह पनि गरिन्।
साथै मन्त्री राणाले सहभागी कूटनीतिज्ञहरूलाई नेपालको पर्यटनका ‘राजदूत’ बन्न पनि आग्रह गरिन्।