काठमाडौं महानगरपालिकाको शिक्षा विभागले आज आधारभूत तह कक्षा ८ को अन्तिम परीक्षाको नतिजा प्रकाशन गरेको छ।
महानगरपालिकाका प्रवक्ता नविन मानन्धर, सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झासहितको बैठकमा परीक्षा समितिले नतिजाको विश्लेषण गर्दै नतिजा प्रकाशन गरेको हो। त्यस अवसरमा परीक्षा समितिका संयोजक केशव ज्ञवालीले नतिजा सम्बन्धी प्रस्तुतिकरण गरेका थिए।
ज्ञवालीका अनुसार ३.६ देखि ४ जिपिए प्राप्त गर्ने विद्यार्थीको संख्या २ हजार ७३० जना रहेको छ। यस्तै ३.२ देखि ३.६ सम्म जिपिए प्राप्त गर्ने ६ हजार ४५५ जना, २.८ देखि ३.२ जिपिए प्राप्त गर्ने ३ हजार ९७ जना, २.० देखि २.४ जिपिए प्राप्त गर्ने २८ जना विद्यार्थी छन्। यस्तै ० देखि १.६ सम्म जिपिए ल्याउने विद्यार्थी ५ हजार १७४ जना छन्।
विषयगत रुपमा हेर्दा गणित विषयमा सबैभन्दा धेरै ३ हजार ९५६ जना विद्यार्थीले नो ग्रेड पाए। ३६ प्रतिशत अङ्क प्राप्त नगर्ने विद्यार्थीहरु नो ग्रेडमा पर्छन्। दोस्रोमा सामाजिक तथा मानव मूल्य शिक्षामा १ हजार ९८२ जना, विज्ञान तथा प्रविधिमा १ हजार ७९६ जना, स्वास्थ्य शारीरिक तथा सिर्जनात्मक कला विषयमा १ हजार २१२ जना, नेपाली विषयमा १ हजार ४४४ जना, अंग्रेजीमा १ हजार ११७ जना र नेपाल भाषामा ६६७ जना विद्यार्थीले नो ग्रेड ल्याएका छन्।
नतिजामा कसैलाई ग्रेस मार्क दिइएको छैन। विषयगत नो ग्रेड प्राप्त गर्ने विद्यार्थीहरुले ग्रेड वृद्धि परीक्षामा सहभागी हुनुपर्ने समितिले निर्णय गरेको छ।
प्राप्त नतिजाका विषयमा जानकारी लिएपछि प्रवक्ता मानन्धरले, परीक्षाफलले विद्यालयहरुको वास्तविक अवस्था दर्शाएको उल्लेख गरे। यथार्थ अवस्थामा आधारित नतिजाले विषयगत रुपमा सिकाइका कमजोरी देखाएकोले सुधार गर्न आधार तयार भएको उनको भनाइ थियो।
आयोगका सदस्य झाले विद्यालय, शिक्षक, विद्यार्थी र अभिभावक सबै पक्षलाई थप जिम्मेवार हुनुपर्छ भन्ने सन्देश दिएको उल्लेख गरे। महानगरपालिकाको शिक्षा विभागले पनि अझ काम गर्नु पर्ने नतिजाले देखाएको बताउँदै उनले पठन संस्कार विकास भएर समग्र नतिजामा सकारात्मक प्रभाव राख्ने अपेक्षा राखेको बताए।
आफूले प्राप्त गरेको अङ्क चित्त नबुझेर पुनर्योग गर्न चाहेमा विद्यार्थीले बैशाख ४ गतेसम्ममा विद्यालयमा आवेदन दिन सक्नेछन्। विद्यालयहरुले बैशाख ५ गतेभित्र शिक्षा विभागमा पेश गर्नुपर्नेछ।
विषयगत रुपमा सैद्धान्तिकतर्फ नो ग्रेड प्राप्त गरेका विद्यार्थीले ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउनेछन्। बैशाख ८ गतेदेखि १४ गतेसम्म ग्रेड वृद्धि परीक्षा सञ्चालन हुनेछ। यो परीक्षामा सहभागी हुन पुन फाराम भर्नु पर्दैन। थप शुल्क पनि तिर्नु पर्दैन।
यसरी सञ्चालन गरिने परीक्षामा साधारणतर्फ पहिलो अर्थात् ८ गते गणित, ९ गते अंग्रेजी, संस्कृत रचना, १० गते नेपाली, ११ गते विज्ञान तथा प्रविधि, १२ गते सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षा, १३ गते स्वास्थ्य शारीरिक तथा सिर्जनात्मक कला र १४ गते नेपाल भाषा तामाङ् भाषाको परीक्षा हुनेछ। परीक्षा केन्द्र विभागले तोक्नेछ।
चैत ७ गतेदेखि सुरु भएको परीक्षा १४ गते सकिएको थियो। विषयगत परीक्षा सकिएपछि स्रोत केन्द्रहरुमा उत्तर पुस्तिका जम्मा गरेर कोडिङ् गरिएको थियो।
कोडिङ् गरिएका उत्तरपुस्तिका रोष्टरमा भएका शिक्षकहरुबाट परीक्षण भएको थियो। परीक्षण गरिएका उत्तरपुस्तिका डिकोडिङ् गरेर स्रोत केन्द्रहरुले विभाग पठाए। यसपछि विद्यार्थीहरुले प्राप्त गरेको अङ्क एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणाली (इमिस) मा प्रविष्ट गराइएको थियो। परीक्षाफल प्रकाशित गर्नुअघि उत्तरपुस्तिकामा प्राप्त अङ्क र प्रणालीमा प्रविष्ट गराइएको अङ्क रुजु गरिएको थियो।
परीक्षालाई विश्वसनीय, व्यवस्थित र प्रभावकारी बनाउन यस वर्षदेखि आधारभूत तहको परीक्षा केन्द्र अध्ययन गरिरहेको विद्यालयबाट बाहिर राखिएको थियो। महानगरपालिकाको १६ औँ नगर सभाबाट स्वीकृत बजेट तथा कार्यक्रममा कक्षा ८ को परीक्षा होम सेन्टर नपर्ने गरी केन्द्रअनुसार सञ्चालन गर्ने, उत्तरपुस्तिका परीक्षण एवं नतिजा प्रकाशन तथा विश्लेषण व्यवस्थापन, प्रश्न पत्र निर्माणका लागि रोष्टर शिक्षकको प्रशिक्षण, कार्यशाला र प्रश्नपत्र निर्माण सफ्टवेयर खरिद तथा अनुगमनका लागि १ करोड ७६ लाख रुपैयाँ विनियोजन गरिएको थियो।
यसलाई कार्यान्वयन गर्दै यस वर्ष होम सेन्टर नपर्ने गरी ५६ वटा परीक्षा केन्द्र तोकिएका थिए। परीक्षाका लागि १८ हजार २९४ जना विद्यार्थीले आवेदन दिएका थिए। आवेदन दिएकामध्ये वडा नं. ४ सुकेधारामा सञ्चालित ग्राण्ड एकेडेमी र वडा नम्बर ४ कै महाराजगञ्जमा रहेको स्किम पब्लिक स्कूलबाट कुनै पनि विद्यार्थी परीक्षामा सहभागी भएनन्। परीक्षा समितिका सदस्य सचिव ओमप्रसाद गौत्तमका अनुसार यस वर्ष १२४ जना विद्यार्थी अनुपस्थित भएका थिए।
महानगरपालिकाभित्र आधारभूत तहसम्म सञ्चालित ५०४ वटा विद्यालय छन्। यीमध्ये २ वटाले परीक्षामा विद्यार्थी सहभागी नगराएपछि यो संख्या ५०२ भएको छ। यसमा ७४ वटा सामुदायिक, २० वटा वैकल्पिक र ४०८ वटा संस्थागत विद्यालय छन्।
जगन्नाथ माध्यमिक विद्यालय र बन्दी विकास आधारभूत विद्यालय गरी २ वटा विद्यालय भद्रगोल जेलभित्र छन्। यी विद्यालयबाट यस वर्ष क्रमशः २० जना र १२ जना गरी ३२ जना विद्यार्थी परीक्षामा सहभागी हुनुपर्नेमा जेलका १ जना विद्यार्थी कैदमुक्त भएपछि ३१ जना विद्यार्थी सहभागी भए। केन्द्रीय बहिरा माध्यमिक विद्यालयबाट २७ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए।
केन्द्रीय वहिरा माध्यमिक विद्यालय र कारागारभित्रका विद्यालयहरुमा अध्ययनरत विद्यार्थीलाई आफ्नै विद्यालयबाट परीक्षा लिइएको थियो। विद्यार्थीको विशेष अवस्थालाई ध्यानमा यस्तो व्यवस्था गरिएको हो। यस्तै अटिजम, बौद्धिक अपाङ्गता, डाउन सिन्ड्रोम लगायत अवस्था भएका विशेष प्रकृतिका विद्यार्थीहरुले परीक्षा केन्द्रबाटै परीक्षा दिएका थिए।