एकपटक फुट्नेवित्तिकै कम्युनिस्टहरू ‘फेरि मिल्न सक्दैनन्’ भन्नु मार्क्सवादी सोचाइ होइनः प्रचण्ड

फाइल तस्बिर
फाइल तस्बिर

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले एक पटक फुट्नेवित्तिकै कम्युनिस्टहरू फेरि मिल्न सक्दैनन् भन्ने सोचाइ गलत भएको बताएका छन्।

मंगलबार प्रगतिशील लेखक संघको १३औं राष्ट्रिय सम्मेलनबाट निर्वाचित समितिलाई बधाइ तथा शुभकामना दिँदै उनले फुट्ने वित्तिकै अब कुनै हालतमा कम्युनिस्ट एकता हुँदैन भन्नु मार्क्सवादी सोचाइ नभएको टिप्पणी गरेका हुन्।

उनले भने, ‘हिजो विभाजन भएकाले अब एकता असम्भव छ भन्नु चाहिँ मार्क्सवादी सोचाइ हुन सक्दैन। त्यो द्वन्द्वात्मक भौतिकवाद हुन सक्दैन।’

उनले वामपन्थीहरू विभाजित भएपनि, कहिलेकाँही एकअर्काको आलोचना गरेपनि एकताको झण्डा भने कहिल्यै नछाडेको दाबी गरे।

‘हामी विभाजित पनि भयौं। कहिलेकाहीँ एक अर्काप्रति आलोचना पनि गरेका छौं। तर, हामीले एकताको झण्डा चाहिँ छाडेका छैनौं। अन्ततः फेरि वामपन्थी कम्युनिस्ट भन्नेहरू एक ठाउँमा आएर अघि बढ्नुपर्छ।’

उनले यसअघि पनि पटकपटक कम्युनिस्ट एकताका प्रयास भएको तर सोचेजस्तो परिणाम नआएपनि शिक्षा भने राम्रो मिलेको बताए।

उनले भने, ‘पछिल्लो चरणमा देशका दुईवटा अलि प्रभावशाली कम्युनिस्ट पार्टीका बीचमा एकताका प्रयास भए। एकता भयो पनि। सबैले अनुमोदन पनि गरे। तर दुर्भाग्य हामीले त्यसलाई बचाउन सकेनौं। झण्डै दुई तिहाइको नजिक पार्टी पुग्दा पनि सरकारबाट सबैले प्रशंसा गर्ने भनौं वा इतिहासमा नाम रच्ने र पार्टीको एकतालाई बचाउन पनि सकेनौं। हामीले त्यसबाट शिक्षा लिनुको अर्को विकल्प छैन।’

प्रकाशित मिति: : 2025-04-08 14:13:00

प्रतिकृया दिनुहोस्