नेपाललाई ‘हिन्दु राष्ट्र’ बनाउने अभियानमा जुट्न विश्व हिन्दु महासंघका नेताको आह्वान

Break n Links
Break n Links

विश्व हिन्दु महासंघका सदस्य एवं कलाकार मदनदास श्रेष्ठले नेपाललाई हिन्दु राष्ट्र बनाउने अभियानमा सबैजना जुट्नुपर्ने बताएका छन्।

आइतबार काठमाडौंमा रामनवमी पर्व र हिन्दु महासंघको ४५औं स्थापना दिवसको अवसरमा आयोजित समारोहमा उनले विश्वभरका छरिएर बसेका सनातन हिन्दु समाजलाई एकताबद्ध गर्ने अभियानमा महासंघ जुटेको भन्दै सबैलाई यसमा जोडिन आग्रह गरेका हुन्।

उनले भने, ‘विश्व हिन्दु महासंघ नेपाल अधिराज्यभर र विश्वभरका छरिएर बसेका ओमकार परिवार र सनातन हिन्दु समाजलाई एकताबद्ध गर्न, हिन्दु धर्मको संरक्षण, संवर्द्धन गर्न साथै विकासका लागि महासंघले काम गरिरहेको छ। सबैजना एक साथ एक मन-तन भएर पुनः नेपाललाई हिन्दु राष्ट्र बनाउने अभियानमा जुट्नुपर्छ।’

साथै, उनले आदर्श पुरुष राम पृथ्वीमा आएपछि र असत्यमाथि सत्यको जित भएको आजको दिनमा विश्व हिन्दु महासंघको स्थापना भएकाले कार्यक्रम गरिएको बताए।

सोही क्रममा राजसंस्था पुनर्स्थापना र हिन्दु राष्ट्र स्थापना अभियानमा सक्रिय रमा सिंहले नेपालमा हाल राजनीतिक व्यवस्था एवम सामाजिक व्यवस्था बिग्रिदै गएकाले त्यसलाई सुधार गर्न हिन्दु राज्य स्थापना हुनुपर्ने बताइन्।

उनले भनिन्, ‘अहिले नेपालमा जुन राजनीतिक व्यवस्था छ, जुन प्रकारले सामाजिक व्यवस्था बिग्रिदै गएको छ। यसलाई सुधार गर्नुपर्छ। सनातनी धर्मको मर्यादामा नेपाललाई स्थापित गर्नुपर्छ भन्ने अभियान चलाइएको छ। यस्तो अभियान नै हाम्रो रामराज्यको परिकल्पना हो।’

प्रकाशित मिति: : 2025-04-06 14:49:00

प्रतिकृया दिनुहोस्