अमेरिकाले अफगानिस्तानमा छोडेका पाँच लाख हतियार कहाँ छन्?

Break n Links
Break n Links

अफगानिस्तानबाट फर्किने बेला अमेरिकी सेनाले छोडेका करिब पाँच लाख अत्याधुनिक हातहतियार र अरु युद्ध सामग्रीहरूका विषयमा अहिले अमेरिका र तालिबान सरकारबीच विवाद चुलिएको छ। 

दोस्रो कार्यकालका लागि राष्ट्रपति पद सम्हालेलगत्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तालिबानसँग ती हतियारहरू फिर्ता मागेका थिए। तर तालिबानले हतियार नदिने जवाफ पठाएपछि फेरि ट्रम्पले तालिबानलाई धम्कीसमेत दिएका छन्। 

ती हातहतियार कहाँ र कसको नियन्त्रणमा छन् भन्ने यकीन भने छैन। तर संयुक्त राष्ट्रसंघ लगायत केही सुपरिवेक्षक संघसंस्थाहरूले ती हतियार तालिबानको नियन्त्रणमा रहेको र केही हतियार अलकायदाजस्ता विश्व आतंककारी संगठनसम्मै पुगेको जनाएका छन्। 

तर यसको स्वतन्त्र पुष्टी भने हुन सकेको छैन। अमेरिकाले विश्वका कैयौ आतंकवादी संगठनहरूलाई तालिबानले ती अमेरिकी हातहतियारहरू बेच्ने गरेको आरोप लगाएका थिए। 

‘आतंकवादीहरूले कसरी त्यस्ता हातहतियारहरू प्रयोग गरिरहेका छन् भनेर अचम्म मान्नुपर्दैन। ती हातहतियार हाम्रा हुन् र तालिबानले त्यसलाई बेचेको हो’ केही समयअघि आफ्ना हातहतियार फिर्ता माग्दै ट्रम्पले भनेका थिए ‘हामीलाई ती हातहतियार फिर्ता चाहिन्छ। हामीले उनीहरूलाई पैसा दिनपरे पनि दिन्छौं तर ती हतियार कुनै आतंकवादीलाई प्रयोग गर्न दिँदैनौं।’ 

ट्रम्पले अहिले तालिबान त्यस्ता अवैध हातहतियार विश्वभरि फैलाउने ‘डिलर’ हुन थालेको पनि ट्रम्पको आरोप छ। 

सन् २०२१ मा तालिबान विद्रोहीले अफगानिस्ताको सत्ता कब्जा गरेपछि अमेरिकी सैनिक त्यहाँबाट फिर्ता भएका थिए। करिब २० वर्षसम्म अफगानमा रहेर तालिबानसँग लडेको अमेरिकी सैनिक फर्किदा हातहतियार र युद्ध सामग्रीहरू त्यहीँ छुटेका थिए। 
आधिकारिक प्रतिवेदनमा करिब पाँच लाख त्यस्ता हातहतियार तालिबानको नियन्त्रणमा रहेको बताइए पनि कतिपय रिपोर्टहरूले त्यहाँ दश लाखभन्दा धेरै हातहतियार रहेको दाबी गरेका छन्। 

तीमध्ये केही अमेरिकी सेनाका हुन् र केही भने अफगानको सरकारी सेनाका पनि हुन्। सत्ता तालिबानले सत्ता कब्जा गर्ने बेलामा कैयौ अफगान सैनिकहरू भागेका थिए र कतिले हतियारसहित आत्मसमर्पण गरेका थिए। 

अहिले अमेरिकामा यो हतियारको विषय राजनीतिक मुद्दा पनि बनेको छ। ट्रम्पले करिब ८५ अर्ब डलर बराबरको हतियार तथा युद्ध सामग्रीहरू अफगानिस्तानमा रहेको दाबी गरेका छन्। 

प्रकाशित मिति: : 2025-04-06 10:03:00

प्रतिकृया दिनुहोस्