पछिल्ला दिनहरूमा आफ्नै पार्टी एकीकृत समाजवादीमा पनि अलि भिन्न भएर प्रस्तुत भइरहने झलनाथ खनाल पूर्वप्रधानमन्त्री पनि हुन्। नेपालको कम्युनिस्ट आन्दोलनमा इतिहासका एक हिस्सासमेत रहेका खनाल राष्ट्रिय राजनीतिबाट आजभोलि अलि टाढाजस्तो देखिन्छन्। तर पनि उनी सक्रिय छन्। पछिल्ला समय देशमा फेरि राजसंस्थाको माग हुन थालेपछि खनालले पनि त्यसमा कडा प्रतिक्रिया दिइरहेका छन्। गत चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनपछि अहिले देशको राजनीति अलि फरक मोडमा पुगेको छ। यसबारे खनालसँग गरिएको छोटो कुराकानीको अंश:
पछिल्लो समय राजावादीहरू सडकमा आइरहेका छन्। राजतन्त्र पुनस्थापनाको माग चर्किरहेको छ, यो कत्तिको सान्दर्भिक छ?
गणतन्त्र मास्नुपर्छ, राजतन्त्र ल्याउनुपर्छ, हिन्दुराष्ट्र बनाउनुपर्छ भनेर राजावादीहरु भनिरहेका छन्। यीनिहरु सबै संविधान विरोधी कुराहरु हुन्। गणतन्त्र विरोधी कुराहरु हुन्। स्वभाविक कुरा होइनन्। उनीहरुको सुरुदेखिको गतिविधि हेरिरहेको छु। त्यो दिन अर्थात १५ गतेको वामपन्थी र राजावादीहरुको दुवै प्रदर्शनका गतिविधिहरु सुरुदेखिनै ठूलो भिन्नता देखिन्छ। राजावादीहरु सुरु देखिल नै हिंस्रक देखिएका छन्। सुरुदेखि उत्ताउलो गतिविधि गर्दै बसेका थिए। त्यस्तै गतिविधिका विच अश्रुग्याँस खसेको देखिन्छ। त्यसपछि अराजक र अराजनीतिक भीड बढ्दै गएको देखिन्छ। योजनाबद्ध तरिकाले पेट्रोल बम पनि बोकेर हिडेको देखिन्छन्। त्यो पुरै गुण्डागर्दी शैलीको छ। पन्चायत कालमा मण्डलेहरुले गरेको जस्तो गतिविधि देखियो।
आन्दोलनको नेतृत्व दुर्गा प्रसाईं मात्र होइन अन्य विद्धान नेताहरु पनि गर्नुभएको थियो नि। थाहा छ हजुरलाई?
डा.प्रकाशचन्द्र लोहनी पनि त्यो प्रदर्शनमा थिए । नवराज सुवेदीलाई भने कसैले बोकेर लगेको देखेको थिएँ। तर उनीहरुले त्यो मासलाई शान्त पार्न एक शब्द पनि बोलेनन्। धवल शम्शेरको धवल कहाँ पुग्यो कुन्नि थाहा पाइएन्। बीबीसीका पूर्वपत्रकारले पनि केही गर्न सकेनन् अझ आक्रोस पैदा गरेको जस्तो देखिएको थियो। दुर्गा प्रसाईले त झन् प्रहरीहरु भएको ठाँउमा गाडी लगेर किच्न गएजस्तो देखिएको छ। उनी कसरी कमाण्डर भए बुझ्न सकिएको छैन्। उनीहरुमा सामान्य लोकतन्त्रको अभ्यास, शिक्षा, आचरण, स्वभाव सम्बन्धि ज्ञानको अभाव देखियो। गुन्डागर्दीको पक्षमा लाग्ने, जसले पैसा दिन्छ त्यसको पछाडि लाग्ने जस्ता विभिन्न स्वार्थी मानिसहरु त्यहाँ आएको स्पष्ट देखिन्छ।
त्यसोभए त्यो आन्दोलनको जिम्मेवारी कसले लिनुपर्छ?
राजनीतिक रुपले भन्नुपर्दा घटनाको मुख्य जिम्मेवार भनेको पूर्वराजा ज्ञानेन्द्र शाह नै हुन्। फागुन ६ गतेको अभिव्यक्ति र २५ गते जुन खालको स्वागत समारोह गर्न लगाए त्यही क्रियाकलाप परिणाम हो। त्यसैले सम्पूर्ण घटनाक्रमको मुख्य जिम्मेवार पूर्वराजा नै हुन्। ज्ञानेन्द्रलाई जोगाउनको लागि म जिम्मेवार हुँ जस्ता कुरा गरेर कसैले ढाल बन्न खोज्ला, ढाल बन्न चाहन्छन् होला, बन्दै रहुन। १६ वर्षभन्दा अगाडिसम्म नेपालमा राजतन्त्र थियो, त्यो राजतन्त्रको अन्तिम राजा ज्ञानेन्द्र थिए अब नेपालमा राजतन्त्र छैन्, राजा छैनन्। यद्यपी नेपालमा राजारामहरु छन्, राजा शाक्यहरु छन्, अझ राजेन्द्रहरु पनि छन् तर अब राजा नभएको मुलुक घोषणा भइसकेको छ। यो गणतन्त्र मुलुक हो। त्यसकारण अब राजा नेपालमा समाप्त भइसके। कसैले राजा फर्काउछु भनेर फर्किन सक्दैन्। बिहान पश्चिमबाट घाम झुल्काउछु भनेर सक्छ कसैले भन्न त पाउँछ। मूर्खता व्यक्त गर्न पाउछ तर त्यो पश्चिमबाट झुल्किनेवाला छैन्। राजतन्त्र यो मुलुकमा फर्किनेवाला छैन्।
अनि राजावादीको माग सम्बोधनचाहीं कसले गर्ने त?
यसलाई सम्बोधन गर्ने भनेको त संविधानले नै हो। संविधानले सम्बोधन गर्छ। यदी कसैलाई राजा चाहिएको हो भने ‘राजा चाइयो’ भन्ने पार्टी बनाएर आउनुहोला। अनि त्यो पार्टीले संविधान अनुसार चुनाव पनि लड्नुपर्छ। चुनावमार्फत दुई तिहाई बहुमत ल्याउनुपर्छ र संविधान संशोधन गरेर राजा राख्ने व्यवस्था गर्नुहोला। त्यो संवैधानिक हकको कुरा हो। त्यो वाहेक अर्को बाटोबाट नेपालमा राजा आउने सम्भावना छैन्।
पूर्वराजा ज्ञानेन्द्र स्वंयले राजगद्दी सम्हाल्छु भन्नुभएको छ भन्ने सुनिन्छ नि।
इच्छा राख्न पाए। दुइचार जनाले उहाँलाई साथ दिनु सामान्य कुरा हो। जतिबेला देशमा क्रान्ति हुन्छ त्यो क्रान्तिपछि प्रतिक्रान्तिको काल आउछ भन्ने गरिन्छ। क्रान्ति भएपछि नेतृत्व निर्माण हुन्छ त्यो नेतृत्वले क्रान्तिको वास्तविकता, तात्पर्य, उद्देश्य र सारलाई बुझेर समाजलाई रुपान्तरण गर्न सकेन भने प्रतिक्रान्तिको एउटा क्षण आउँछ। मलाइ लाग्छ अहिले यस्तै भएको हो र प्रतिक्रान्ति गर्न खोजिएको हो। नेपाली जनता सचेत छन्। त्यसैले हामीले यतिबेला जनतालाई अझ राम्ररी संगठित गर्नतिर लाग्नुपर्छ। अहिले नेपालमा विभिन्न प्रबृत्तिहरु देखा परिरहेका छन्। एउटा पुर्नउत्थानप्रवृति, अर्को यथास्थिती प्रवृति हो त्यो सत्ताधारीहरुमा देखिन्छ। र अर्काे आमूल परिवर्तन गर्नुपर्छ भन्ने क्रान्तिकारी जनताहरुको प्रवृति हो। हामीले जनताको आमूल परिवर्तन गर्ने प्रबृत्तिलाई मलजल गर्नुपर्छ। आउने चुनावमा यो प्रवृति आम जनताका नेताको विजय हुनुपर्छ। जनताका पार्टीहरुले विजय प्राप्त गर्नुपर्छ। जनताका सांसद, प्रतिनिधीहरु जसले क्रान्तिको वाहन गर्न सक्छन्, भुमी सुधार, कृषि क्रान्ति, यान्त्रिकीकरण गर्ने, शिक्षा, स्वास्थ्यमा व्यापक सुधार गर्ने, देशमा औद्योगीकरण गर्ने, रोजगारी सिर्जना गर्ने शक्तिलाई साथ दिनुपर्छ। राष्ट्रियताको सवालमा कमजोरी देखिरहेका छन् त्यसलाई बलियो बनाउनेतर्फ जानुपर्छ।
यहीबेला नेकपा एकीकृत समाजवादी पार्टीले देशव्यापी भण्डाफोर अभियान गर्दैछ। यसको उद्देश्य के हो?
अब पुर्नउत्थानवादीको भण्डाफोर गरेर मात्र हुदैंन्, भण्डाफोर राजनीतिक अभियान मात्र हो। यथास्थितीवादीले ठिक ढङगको नीति लिएर जनता र राष्ट्रको निम्ति काम गर्न नसक्नुको कारणले पुर्नउत्थानवादीहरुको उत्पती भएको हो। यथास्थितीवादीहरुका विरुद्ध नै हो हाम्रो लडाई। क्रान्तिकारी जनताले आमूल परिवर्तन हुनुपर्छ भन्ने चाहेका छन्। खासगरी वामपन्थी शक्तिहरु, क्रन्तिकारी, समाजवादी शक्तिहरु अब समाजवाद नै विकल्प हो भनेर भनिरहेका छन्। त्यसैले उनीहरु सबै उठ्नुपर्छ। सारा वर्गीय शोषणहरुलाई अन्त्य गर्ने एक मात्र विकल्प समाजवाद हो, सामाजिक विभेदहरुलाई अन्त्य गर्ने विकल्प समाजवाद हो, भष्ट्राचारलाई अन्त्य गर्ने, कृषि क्रान्ति, भूमि सुधार, औद्योगीकरण गर्ने एक मात्र विकल्प भनेको समाजवाद नै होे। त्यसैले जनताको हित गर्ने शक्तिहरुलाई विजय गराई राज्य सत्तामा ल्याएमात्र मुलुक समाजवादतर्फ जान्छ। यसमा जनतालाई व्यापक शिक्षित गर्नुपर्ने छ। भण्डाफोर अभियान त्यही शिक्षाका लागि पनि हो। पुर्नउत्थानवादी प्रवृतिबाट केही हुनेवाला छैन्, सर्तक रहौ। यो यथास्थितीवादी सरकार वा सत्ताबाट पनि केही भइरहेको छैन त्यसको विकल्प खोजौ। दुई पार्टी मिलेर जे गरिरहेका छन् यिनीहरु अकर्मण्डीय र नीतिहीन छन्। उनीहरुसँग उद्देश्य पनि छैन्, जनताप्रतिको प्रतिवद्धता पनि छैन्। त्यसकारण जनताको संघर्षलाई प्रतिनीधित्व गर्ने राजनीतिक नेता र पार्टी लार्ई विजयी गराउनुपर्छ भनेर जनतालाई शिक्षित गराउने नै भण्डाफोर अभियान हो।
तर पार्टीभित्रै अन्तरविरोध र बेमेल देखिन्छ। यस्तो अवस्थामा भण्डाफोर अभियान प्रभावकारी होला र?
कम्युनिस्ट पार्टीहरुमा पनि दक्षिणपन्थी अवसरवाद छ। कोही कांग्रेसको पुच्छर बन्दै छन्, कोही कांग्रेसको बुई चढेर मात्र केही गर्न सकिन्छ भन्ने किसिमका छन्। कोही कांग्रेसको पकेटमा छिरेर भएपनि सत्तामा एउटा÷एउटा मन्त्री लिएर भएपनि बसौ भन्ने छन्। यी सबै दक्षिणपन्थी अवसरवादी हुन्। त्यस्ताहरुलाई जनताले बडार्नुपर्छ र पार्टी भित्रै भएका त्यस्ता तत्वलाई पन्छाउनुपर्छ। पार्टी भित्रका क्रान्तिकारी तत्व, नेता, कार्यकर्ताहरु बीच गोलबन्द भएर अगाडि बढ्नुपर्छ। प्रभाव बढाउनुपर्छ र त्यस्ता पार्टीहरुबीच एकता हुनपर्छ। त्यसैले सम्पूर्ण क्रान्तिकारी वामपन्थीहरुबीच व्यापक एकता बनाएर वामपन्थी मोर्चा चुनावमा क्रान्तिकारी हस्तक्षेपको साथमा राष्ट्रव्यापी उमेद्वार उठाएर अगाडि बढ्नुपर्छ।
सामाजवादी मोर्चा छँदै छ वामपन्थी मोर्चा किन चाहियो?
साथीहरु समाजवादी मोर्चा भन्नुहुन्छ। म समाजवादी मोर्चा देख्दिनँ। त्यो वामपन्थी कार्यगत एकता हो। बेकारमा समाजवादी मोर्चा आदी इत्यादी भनेर मुख दुखाउने काम गर्नुहुन्छ। यो मुख दुखाउने र गफ गर्ने बाहेक अरु केही पनि होइन। तर व्यवहारिकता चाहीं के हो भने वामपन्थी समूहहरुको कार्यगत एकता चाहीं पक्कै हो। अस्ति प्रदर्शनी मार्गमा भएको सभा पनि चारवटा वामपन्थी समूहहरुले मिलेर गरेको कार्यगत एकता हो। मार्चा भन्नु बेकार छ। एकता हो त्यो, बरु यस्तो एकता अरु सबै वामपन्थीहरु बीचमा विस्तार गरेर व्यापक बनाएर लानसके त्यसले चाहीं फल निकाल्न सक्छ।