थाइल्याण्ड जाँदै प्रधानमन्त्री, त्यहाँका ‘राजा’लाई भेट्ने, माेदीसँग अनिश्चित

प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार दिउँसो थाइल्याण्डको औपचारिक भ्रमण जाँदैछन्। थाइल्याण्डसँगकाे कुटनीतिक सम्बन्ध गाँसिएकाे लगभग ६५ वर्षपछि पहिलाेपटक नेपाली प्रधानमन्त्रीकाे याे औपचारिक भ्रमण हाे।
 
मंगलबार प्रधानमन्त्री ओली थाइल्याण्डका प्रधानमन्त्री फेथोङथान सिनावात (पैटोङ्टार्न शिनावात्रा)को मैत्रीपूर्ण निमन्त्रणामा औपचारिक भ्रमणमा जान लागेका हुन्।

उनको भ्रमणसँगै बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौं शिखर सम्मेलनमा सहभागी हुने कार्यक्रम रहेको छ। 

मंगलबार दिउँसो १२:३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा पत्रकारसँग भेट गरेर ओली थाइल्याण्ड प्रस्थान गर्ने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ। 

प्रधानमन्त्री ओली २३ गते शनिबार स्वदेश फर्किने कार्यक्रम रहेको छ।

यसअघि सोमबार संसदका दुबै बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भ्रमणबारे जानकारी गराएका थिए। 

उनका अनुसार त्यहाँ उनले थाइल्याण्डका प्रधानमन्त्री तथा त्यहाँका ‘राजा’ (नरेश)लाई पनि भेट्नेछन्। त्यहाँ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि हुनेछन्। उनीसँगको भेट भने अनिश्चित भएको छ। थाइल्याण्डमै भेट्ने चाँजोपाँचो मिलाउन खोजे पनि भारतीय प्रधानमन्त्रीले ओलीलाई भेट्ने समय निश्चित गरिसकेका छैनन्। 

यसपटक पर्यटन र सँस्कृतिको सन्दर्भमा २ वटा समझदारी पत्रमा हस्ताक्षर हुन्छ। दुई प्रधानमन्त्रीको उपस्थितिमा गैरसरकारी क्षेत्रबीच ६ वटा समझदारी पत्रमा हस्ताक्षर हुनेछ। द्विपक्षीय वार्तापछि थाइल्याण्डका प्रधानमन्त्रीसँगै संयुक्त प्रेस ब्रिफिङ हुनेछ। थाइल्याण्डका नरेशसँगको भेटपछि एकदिने औपचारिक भ्रमण समाप्त हुनेछ।

२१ गते (३ अप्रिल) विहान थाइल्याण्डका प्रतिष्ठित व्यावासायीहरूसँग भेटघाट र छलफल हुनेछ। दिउँसो एशियन इन्स्टीच्युट अफ टेक्नोलोजीमा प्रधानमन्त्रीले सम्बोधन गर्नेछन्।
साँझ हुने बिमस्टेक शिखर सम्मेलनका नेताहरुलाई दिइने औपचारिक डिनरमा सहभागी हुनेछन्।

शिखर सम्मेलन लगत्तै बाँकी मुलुकका नेताहरुसँग सम्भव भएसम्म साइडलाइन वार्ताको योजना गरिएको छ। २२ गते प्रधानमन्त्रीसहितको टोली बिमेस्टक शिखर सम्मेलनमा सहभागी हुनेछन्। विहान मेरिटाइम ट्रान्स्पोर्ट कोअपरेशन अग्रिमेन्टमा हुने हस्ताक्षर समारोहमा सहभागी हुनेछन्। दिउँसो शिखर सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। साँझ दुतावासमा हुने कार्यक्रमसँगै भ्रमणका कार्यक्रम सकिने छन्। 

प्रकाशित मिति: : 2025-04-01 08:23:00

प्रतिकृया दिनुहोस्