‘सरकार अब हेरेर बस्दैन’

राजावादीहरूको आन्दोलन हिंसामा परिणत भएपछि सरकारले उनीहरूलाई कडा चेतावनी दिएको छ। शुक्रबार राजधानीमा ‘शक्ति प्रदर्शन’ गर्न उत्रिएका उनीहरू सुरुवातदेखि नै हिंसामा उत्रिन थालेका छन्। 

उनीहरूका लागि तीनकुनेको खाली चउरमा आमसभा र त्यसैवरिपरि प्रदर्शन गर्न भनेर प्रशासनले एरियासमेत तोकिएदिएको थियो। तर उनीहरूले तीनकुनेमा जम्मा हुँदै गर्दा बानेश्वरतिर पनि छिर्न खोजे। अलि पर भृकुटीमण्डपमा गणतन्त्रवादी दलहरूको प्रदर्शन थियो। 

प्रहरीले राजावादीहरूलाई तिनकुने पुल पार गर्न नदिने रणनीति लिएको थियो। तर उनीहरू जबर्जस्ती गर्न थाले त्यहीबीचमा त्यो आन्दोलनका कमाण्डर कहलिएका दुर्गा प्रसाईं आफै गाडी हाँकेर आए र भीडलाई उत्तेजित बनाउन थाले। त्यो बेलासम्म तीनकुनेमा प्रदर्शनकारीले व्यक्तिका घरहरूमा आगजनी गरिरहेका थिए। 

राजावादीको यो हिंसात्मक प्रदर्शनका क्रममा दुईजनाको मृत्यु भएको छ। प्रहरीको गोली लागेर एकजना प्रदर्शनकारीको मृत्यु भएको छ भने आन्दोलनको दृश्य खिचिरहेका पत्रकारको पनि मृत्यु भएको छ। एभीन्युजका पत्रकार सुरेश रजक राजावादीले आगो लगाइदिएकै घरको चौथो तलाबाट दृश्य खिचिरहेका थिए। उनको त्यहीँ जलेर मृत्यु भयो। 

राजावादीहरूले कैयौ घरहरूमा आगजनी गरेका छन्। एकीकृत समाजवादी पार्टीको कार्यालय, जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनीको कार्यालय,भाटभटेनीलगायत थुप्रै ठाउँमा उनीहरूले आगजनी र तोडफोड गरेका छन्। 

सरकारले यो सबको जिम्मेवार दुर्गा प्रसाईंलाई मानेको छ। उनलाई पक्राउ गर्नका लागि प्रहरी खटिइसकेको जानकारी पनि गृहमन्त्रालयले दिएको छ। 

सरकारले अब राजावादीको आन्दोलनमा कठोर हुनसक्ने चेतावनी दिएको छ। 

गृहमन्त्रालयका प्रवक्ता छबि रिजालले शुक्रबार भएका सबै घटनापरिघटनाहरूका लागि दुर्गा प्रसाईं नै जिम्मेवार रहेको बताएका छन्। 

‘सरकार अब हेरेर बस्दैन। किनकि यो कुनै राजनीतिक आन्दोलन होइन। यो आपराधिक लुटपाटको हिंसाजनक अमानवीय कार्य हो। यसमा सरकार आज जस्तै संयमित भएर आगामी दिनमा बस्छ जस्तो मलाई लाग्दैन’ उनले भने ‘यो सबको जिम्मेवार दुर्गा प्रसाईं हुन् भन्ने हाम्रो ठहर हो। उनीहरूलाई कानुनअनुसार कारबाहीमा ल्याएरै छोड्छौं।’ 

प्रकाशित मिति: : 2025-03-28 21:00:00

प्रतिकृया दिनुहोस्