राजावादी प्रदर्शनकारीहरूले आगो लगाइदिएको घरभित्र जलेर नचिनिने अवस्थामा भेटिएको शव एकजना पत्रकारको भएको गृहमन्त्रालयले पुष्टि गरेको छ।
तीनकुनेस्थित एउटा ब्यापारिक भवनमा राजावादीहरूले आगजनी गरेका थिए। उक्त घरको छतमा बसेर आन्दोलनको दृश्य खिचिरहेका एभिन्यूजका पत्रकार सुरेश रजकको मृत्यु भएको प्रहरीले जनाएको छ।
आगो लागेपछि उनी त्यहाँ थुनिएका थिए। एभिन्यूजका सञ्चालक तथा त्यहाँका पत्रकारहरूले पटक पटक उद्धारका लागि आग्रह गरिरहे पनि प्रहरी-प्रशासनले समन्वय गरिरहेको थिएन।
यससँगै प्रहरीको गोली लागेर घाइते भएका एकजना प्रदर्शनकारीको पनि उपचारका क्रममा मृत्यु भएको छ। आजको हिंसात्मक आन्दोलनमा दुई दर्जनभन्दा धेरै घाइते भएका छन्।
दिनभरि हिंसा भड्किएपछि ४ बजेदेखि तीनकुने बानेश्वर क्षेत्रमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले कर्फ्यू लगाएको छ।