राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बज बस्दैछ। आइतबार बसेको बैठकमा नेताहरूले बोल्ने पालो नसकिएपछि त्यसैको निरन्तरतामा बैठक बस्न लागेको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिएका छन्।
केही दिनयता राजावादीहरूले देशब्यापीरुपमा आन्दोलन तीब्र पारिरहेका छन्। पूर्व राजा ज्ञानेन्द्र शाहले आफ्ना भरपर्दो मान्छे भन्दै पुराना पञ्च नवराज सुवेदीलाई अघि सारेपछि अहिले राजावादीहरू भने आपसमै विभाजित भएका छन्।
राजेन्द्र लिङ्देनको राप्रपा र कमल थापाको राप्रपा नेपालले उनको नेतृत्वलाई स्वीकार्न सकिरहेका छैनन्। सोमबारमात्रै सुवेदीले पार्टी परित्याग गरेर राजावादीहरूको एकीकृत आन्दोलनको नेतृत्व लिन घोषणा गरेका थिए।
उनले त्यसक्रममा राजेन्द्र लिङ्देन तथा कमल थापालाई समेत आन्दोलन समितिमा राखेका थिए। उनीहरूलगायत राप्रपाका थुप्रै पुराना र बरिष्ठ नेताहरूको नाम त्यो समितिमा राखिएको छ। तर त्यसमा आफूहरूलाई सहमति नभएको भन्दै लिङ्देन र थापाले त्यसलाई अस्वीकार गर्ने बताएका छन्।
राप्रपाको आन्दोलन परिचालन समितिको संयोजकको जिम्मेवारी पाएका महामन्त्री धवल समशेर राणा पनि सुवेदीको आन्दोलन परिचालन समितिमा छन्।
आजको केन्द्रिय कार्यसम्पादन समितिको बैठकमा पनि त्यसबारे छलफल हुने बताइएको छ। कार्य सम्पादन समितिमा रहेका कतिपय नेताहरू पनि सुवेदीको नेतृत्वको भेलामा सहभागी भएका थिए।