यस्ताे छ देशको ढुकुटी

Break n Links
Break n Links

नेपाल राष्ट्र बैंकले देशका केही आर्थिक सूचकहरू सार्वजनिक गरेको छ। वर्तमान आर्थिक तथा वित्ती स्थितिबारे प्रतिवेदन अनुसार देशको आर्थिक चित्र यस्तो छ:

प्रतिवेदनअनुसार देशमा एक वर्षभित्र कुल विदेशी मुद्रा सञ्चिती १६.१ प्रतिशतले बढेको छ। गत वर्षको माघ महिनासम्म २० खर्ब ४१ अर्ब १० करोड रहेको कुल विदेशी मुद्रा सञ्चिती चालु वर्षको सोही अवधिमा २३ खर्ब ६९ अर्ब ८ करोड रुपैयाँ पुगेको छ। 

कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिति २०८१ असार मसान्तमा १८ खर्ब ४८ अर्ब ५५ करोड रुपौयाँ रहेकोमा २०८१ माघ मसान्तमा १३.९ प्रतिशतले वृद्धि भई २१ खर्ब ५ अर्ब १४ करोड रुपैयाँ पुगेको छ। राष्ट्र बैंक बाहेक अरु बित्तीय संस्थाहरूमा यस्तो सञ्चिती २०८१ असार मसान्तमा १ खर्ब ९२ अर्ब ५५ करोड रुपैयाँ रहेकोमा २०८१ माघ मसान्तमा ३७.१ प्रतिशतले वद्धि भई २ खर्ब ६३ अर्ब ९३ करोड रुपैयाँ कायम भएको छ। योमध्ये भारतीय मुद्राको हिस्सा २२ प्रतिशत छ। 

यो सञ्चित विदेशी मुद्राले १७.२ महिनाको वस्तु आयात र १४.४ महिनाको वस्तु तथा सेवा आयात धान्न सकिने पनि राष्ट्र बैंकले जनाएको छ। 

यस्तै, राष्ट्र बैंकको उक्त प्रतिवेदनअनुसार चालु वर्षको माघ महिनासम्म मुलुकको शोधनान्तर स्थिति २ खर्ब ८४ अर्ब ४१ करोडले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ९७ अर्ब ७२ करोडले बचतमा रहेको थियो। 

यो समीक्षा अवधिमा रेमिट्यान्स (विप्रेषण आप्रवाह) ७.३ प्रतिशतले बढेर ९०० अर्ब ५८ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १८.८ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह ५.३ प्रतिशतले वृद्धि भई ६ अर्ब ६५ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १६.४ प्रतिशतले बढेको थियो।

योबीचमा वैदेशिक रोजगारीका लागि २ लाख ७४ हजार ६२२जनाले नयाँ श्रमस्वीकृति लिएका छन् भने १ लाख ९० हजार ८८६जनाले पुनः श्रम स्वीकृति लिएका छन्। अघिल्लो वर्ष यो संख्या क्रमशः २ लाख ४५ हजार ४३२ र १ लाख ५७ हजार ४५ थियो।

त्यस्तै राष्ट्र बैंकको आर्थिक प्रतिवेदनअनुसार देशमा ४.१६ प्रतिशत महंगी बढेको छ। यो अघिल्लो वर्षभन्दा अलि कम हो। यही अवधिमा अघिल्लो वर्ष महंगी(मुद्रास्फिती) ५.०१प्रतिशत थियो। प्रतिवेदनअनुसार खाद्य तथा पेय पदार्थ का सामग्रीमा महंगी ४.९५ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको३.७४ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरुको मुद्रास्फीति क्रमशः ६.५९ प्रतिशत र ३.९८ प्रतिशत रहेको थियो।

त्यस्तै आर्थिक वर्ष २०८१-८२ को सात महिनामा वस्तु निर्यात ४६.५ प्रतिशतले बढेको छ। यो भनेको नेपालबाट लगभग १ खर्ब २७ अर्ब २० करोडको सामान निर्यात गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ७.१ प्रतिशतले कमी आएको थियो।

नेपालबाट खासगरी भारत, चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ६६.९ प्रतिशत, ८.६ प्रतिशत र ३.५ प्रतिशतले वृद्धि भएको छ। वस्तुगत आधारमा भटमासको तेल, पोलिस्टर यार्न र थे्रड, चिया, अलैंची, पार्टिकल बोर्ड लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, जिंक शिट, अदुवा, जडिबुटी, तयारी पोशाक लगायतका वस्तुको निर्यात घटेको छ।

त्यस्तै यो अवधिमा आयात पनि बढेको छ। आर्थिक वर्ष २०८१-८२ को सात महिनामा कुल वस्तु आयात १०.१ प्रतिशतले वृद्धि भई रु.९ खर्ब ८८ अर्ब ५९ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा २.३ प्रतिशतले कमी आएको थियो। वस्तु आयात गरिने मुलुकका मुख्यगरी भारत, चीन र अन्य मुलुकबाट भएको आयात क्रमशः ७.५ प्रतिशत, ११.२ प्रतिशत र १७.५ प्रतिशतले वृद्धि भएको देखिन्छ।

वस्तुगत आधारमा भटमासको कच्चा तेल, चामल÷धान, यातायात उपकरण, सवारी साधन तथा अन्य सवारी साधनका स्पेयर पार्टस्, खाने तेल, स्पन्ज आइरन लगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, पामको कच्चा तेल, हवाइजहाजको पार्टपुर्जा, केराउ, लेख्ने तथा छाप्ने कागज लगायतका वस्तुको आयात घटेको छ।

प्रकाशित मिति: : 2025-03-10 18:53:00

प्रतिकृया दिनुहोस्