सत्तारुढ नेपाली काँग्रेस र नेकपा एमाले बार एशोसियसनमा पनि मिलेर जाने भएका छन्।
सत्ता सहकार्यमा रहेका दुई दलबीच कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बारको आगामी चैतमा हुने निर्वाचनमा यौटै प्यानल बनाएर जाने सहमति भएको हो।
अध्यक्ष कांग्रेस निकट डिएलए र महासचिव एमालेको पिपिएलएले लिने सल्लाह भएको छ।
उक्त सहमतिका आधारमा डिएलएले विजयप्रसाद मिश्रलाई अध्यक्ष उठाउने भएको छ भने महासचिवमा पिपिएलएका केदार कोइराला उम्मेदवार बन्ने छन्।
सत्ताधारी दल निकट ठूला संगठन मिलेपछि दबाबमा परेका विपक्षीहरु पनि एकजुट भएका छन् । नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी र राप्रपा सम्वद्ध वकिलहरुले छुट्टै संयुक्त प्यानल खडा गरेका हुन्।
यो प्यानलबाट माओवादीको आरपिएलएका रमण श्रेष्ठ अध्यक्ष र महासचिवमा रास्वपानिकट स्वतन्त्र कानुन व्यवसायी मञ्चका यज्ञमाणी न्यौपाने उठ्ने छन्। एकीकृत समाजवादीसम्वद्ध एसपिएलएलाई उपाध्यक्ष दिने सहमति छ।
एमाले, माओवादी र एकीकृत समाजवादीले वामपन्थीहरुको गठबन्धन बनाउने प्रयास भएको थियो । तर, आरपिएलएले अध्यक्षको दाबी नछोडेको भन्दै पिपिएलए डिपिएलएसँग मिल्न पुगेपछि वाम एकताको प्रयास खेर गएको हो।
आगामी चैत २३ गते नेपाल बारको २५ सदस्यीय नयाँ कार्यसमिति चयनका लागि मतदान हुँदै छ। आज बिहान ११ बजेदेखि साँझ ३ बजेसम्म उम्मेदवारी दर्ता गर्ने कार्यतालिका छ।