अमेरिकाले विश्व शान्ति होइन, युक्रेनको खनिज चाहेको हो: शंकर पोखरेल

Break n Links
Break n Links

अमेरिकी र युक्रेनी राष्ट्रपतिबीच ह्वाइटहाउसमा भएको भनाभन र विवादपछि विश्वका धेरा राष्ट्रहरूले आफ्नो धारणा सार्वजनिक गरेका छन्। कतिपय राष्ट्रका नेताहरूले पनि त्यसबारे टिप्पणी गरेका छन्। 

नेपालका कुनै पनि राजनीतिक दलहरूले त्यसबारे औपचारिकरुपमा टिकाटिप्पणी नगरे पनि केही नेताहरूले अमेरिका र युक्रेनबीचको विवादबारे मुख खोलेका छन्। तीमध्ये एक हुन्, नेकपा एमालेका महासचिव शंकर पोखरेल। एमाले अहिले सत्ताको नेतृत्व गरिरहेको पार्टी हो।

उनले अमेरिका र युक्रेनको पछिल्लो तनावलाई अमेरिकी स्वार्थ भनेर टिप्पणी गरेका छन्। उनले अमेरिकाले विश्व शान्ति नचाहेको भन्दै बरु उसको स्वार्थ युक्रेनको खनिजमा रहेको पनि पनि बताएका छन्। सामाजिक सञ्जालमा उनले यस्तो टिप्पणी सार्वजनिक गरेका हुन्।

‘अमेरिकाको पछिल्लो रणनीतिले अवको एशिया नै भूराजनीतिको द्वन्द्वको केन्द्र बन्न सक्ने संकेत गर्दछ। गाजा क्षेत्र प्यालेस्टानीहरुवाट खोस्ने योजनाले त्यसकै संकेत गर्दछ। साथै रुस र युक्रेन बीचको युद्ध अन्त्यको नाममा भएको अमेरिकी प्रयास विश्वशान्तिको उद्देश्यसँग जोडिएको देखिएन’ उनले लेखेका छन् ‘त्यसको केन्द्रमा खनिज सम्पदाको प्राप्ति मुख्य चासोको विषय बन्न पुगेको छ। यस प्रकारको स्वार्थपरक नीतिले अन्ततः आर्थिक स्वार्थ आधारित नयाँ प्रकारको भूराजनीतिक द्वन्द्वको विकास गर्नेछ। यस प्रकारको परिस्थितिवाट एशियाली राष्ट्रहरु विशेष ढंगले सचेत बन्नु आवश्यक छ।’
पोखरेलले छिमेकीसँग सम्बन्ध सुधार तथा क्षेत्रीय शान्तिका कुरा पनि उठाएका छन्। 

‘अमेरिका र युक्रेन बीच अमेरिकामा भएको प्रत्यक्ष वार्ताले धेरैलाई धेरै कुराको पाठ सिकाएको छ। हरेक राष्ट्रले आफ्नो राष्ट्रिय हितका लागि छिमेकसंगको सम्वन्धलाई प्राथमिकतामा राख्नु पर्दछ। छिमेकीसंगको सम्वन्ध विग्रदा ठुला र शक्तिशाली देशहरुले पनि दुःख पाउनु पर्दोरहेछ। छिमेकका विरुद्ध वाहिरवाट प्राप्त हुने सहयोग अस्थायी र कतिपय अर्थमा स्वार्थ आधारित हुदो रहेछ’ उनले लेखेका छन् ‘शान्ति र स्थायित्वका लागि अव हरेक देशले सोंच्नुपर्दछ, क्षेत्रिय शान्ति विना विश्व शान्ति सम्भव हुँदैन। त्यसमाथि एशियाली देशहरुले आपसी सम्वन्धको विकासमा जोड़ दिने हो भने एशिया विश्वसभ्यताको केन्द्रका रुपमा पुनः स्थापित हुने अवस्था छ।’
 

प्रकाशित मिति: : 2025-03-01 11:50:00

प्रतिकृया दिनुहोस्