राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद तोसिमा कार्कीले मुख्य निर्वाचन अधिकृतको कार्यालयविरुद्ध दिएको रिटमा सर्वोच्च अदालतले निर्णय सुनाउने भएको छ।
आइतबार न्यायाधीशहरू मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको इजलासमा निर्णय सुनाउने पेसी तोकिएको हो।
ललितपुर क्षेत्र नम्बर-३ बाट उम्मेद्वारी दिएकी कार्कीविरुद्ध उजुरी परेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले उम्मेद्वारी रद्ध गरिदिएको थियो।
नेपाल मेडिकल काउन्सिलकी निर्वाचित सदस्य कार्कीले पदत्याग नगरी उम्मेदवारी दिएको र सार्वजनिक पद धारण गरेको व्यक्ति निर्वाचनमा उम्मेद्वार हुन नसक्ने भन्दै उनीविरुद्ध उजुरी परेको थियो।
कार्कीले निर्वाचन आयोग, मुख्य निर्वाचन अधिकृतको कार्यालय ललितपुरलाई विपक्षी बनाएर २०७९ कात्तिक १४ गते सर्वोच्चमा रिट दायर गरेकी थिइन्। उनको रिटमा सर्वोच्च अदालतका न्यायाधीश कुमार चुडालको इजलासले अन्तरिम आदेश जारी गर्दै आयोगको निर्णय बदर गरिदिएको थियो।
२०७९ कात्तिक २८ गते न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले पनि अन्तरिम आदेशलाई नै निरन्तरता दिएको थियो। त्यसपछि उनले निर्वाचन लड्न पाएकी थिइन्। र ललितपुर क्षेत्र नम्बर-३ बाट प्रतिनिधि सभा सांसद निर्वाचित भएकी थिइन्।