संकटमा ओली सरकारः वर्षमानलाई शंकरले फाेन गरेर किन मागे सहयोग!

Break n Links
Break n Links

नेकपा एमालेका महासचिव शंकर पोखरेलले गठबन्धन सरकारले ल्याएको अध्यादेश संसदीय संसदबाट स्वीकृत गर्न प्रमुख प्रतिपक्षी माओवादी केन्द्रसँग आग्रह गरेका छन्। उनले माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनलाई टेलिफोनमार्फत अध्यादेशमा सहयोग मागेका हुन्।

माओवादी केन्द्र गुल्मीको चन्द्रकोट गाउँपालिका अधिवेशनलाई शनिबार सम्बोधन गर्ने क्रममा नेता पुनले अध्यादेश अस्वीकृत हुने र सरकार छाड्न नैतिक दबाब पर्ने भएपछि एमाले आत्तिएको टिप्णणी गरेका छन्। आफूले पोखरेलको प्रस्ताव ठाडै अस्वीकार गरेको उनको भनाइ थियो।

अध्यादेशअघि सामान्य छलफल समेत गर्न आवश्यक नठानेको एमाले नेतृत्व र प्रधानमन्त्री केपी ओली नैतिक संकटमा फस्ने भएपछि आफूहरूसँग सहयोगको हात बढाएको पुनको भनाइ थियो। अध्यादेशबाट शासन गर्न उद्धत भएर आफूहरूलाई बाइपास गरको एमालेले अप्ठ्यारोमा परेपछि सहयोग माग्न थालेको उनले बताएका छन्।

‘दुई तिहाईको दुहाई दिने सरकारले अध्यादेबाट शासन गर्न खोजेको छ। संविधान संशोधनको सहमति गर्दा दुई तिहाई छ भनेर हामीलाई बाइपास गर्न खोज्नुभयो। राष्ट्रियसभामा बहुमत नभएपछि अहिले हारगुहार गर्दै हुनुहुन्छ। आज मात्रै म पाल्पामा आइपुग्दा एमालेका महासचिव शंकर पोखरेलजीले फोन गरेर अध्यादेशमा सहयोग गर्न भन्दै हुनुहुन्थ्यो’, पुनले भने, ‘अस्तीसम्म हामीसँग दुई तिहाई छ भनेर धाक लगाउँदै हिँड्नुभएको थियो। अब दुई दलीय व्यवस्थामा लान्छौं भन्ने हुंकार गनुृहुन्थ्यो। अहिले सहयोग गर्नुहोस् भनेर अनुरोध गर्ने ठाउँमा पुग्नुभएको छ।’

गठबन्धन सरकारले सुशासन प्रबद्र्धन तथा सार्वजनिक सेवा प्रवाह, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्वसम्बन्धी, निजीकरण ऐन–२०५० लाई संशोधन गर्न बनेको अध्यादेश, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी अध्यादेश, सहकारीसम्बन्धी अध्यादेश र भूमिसम्बन्धी अध्यादेश ल्याएको थियो।

सरकारले गत १८ माघमा सुरु संसदको हिउँदे अधिवेशनको पहिलो बैठकमा प्रतिनिधिसभा र राष्ट्रिय सभामा अध्यादेशहरू पेस गरेको थियो। 

बिहीबारको प्रतिनिधिसभा र राष्ट्रिय सभा बैठकमा अध्यादेश निर्णयार्थ पेस गर्ने तयारी थियो। 

प्रतिनिधिसभामा सुविधाजनक बहुमत भए पनि राष्ट्रियसभामा अल्पमतमा रहेको सरकारले अन्तिम समयमा आएर कार्यसूचीबाटै उक्त विषय हटाएको थियो।

६० दिनभित्र संघीय संसदबाट प्रतिस्थापन विधेयक पारित भएर राष्ट्रपतिले अनुमोदन नगरे कानूनी रिक्तता हुन्छ कि भन्ने दबाबमा सरकार छ।

प्रकाशित मिति: : 2025-02-09 07:29:00

प्रतिकृया दिनुहोस्