एमालेमा वामदेव एक्लै, चार उपाध्यक्षसहित बहुमत सदस्य माओवादी प्रवेशको तयारीमा

मंगलबार नेकपा एमाले प्रवेशको तयारी गरेका वामदेव गौतमको नेकपा एकता अभियानका चार उपाध्यक्ष नेकपा (माओवादी केन्द्र)सँग वार्ताका लागि जुटेका छन्।

चार उपाध्यक्षसहित बहुमत केन्द्रीय समितिले माओवादीसँग एकता गर्ने निर्णय गरेको हो। आइतबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै उपाध्यक्ष एवं लुम्बिनी इन्चार्ज महेन्द्र अर्यालको नेतृत्वमा बहुमत केन्द्रीय सदस्यले वामदेवको अभियान त्यागेको घोषणा गरेका हुन्।

वामदेवको अभियान त्याग्ने उपाध्यक्षहरूमा अर्यालसहित, उपाध्यक्ष एवं कर्णाली इन्चार्ज डिल्लीराज भट्टराई, उपाध्यक्ष एवं कोशी इन्चार्ज इन्द्र सुब्बा र उपाध्यक्ष एवं मधेश प्रदेश इन्चार्ज हरि काफ्ले छन्।

वामदेव गौतम ढुलमुले चरित्रका व्यक्ति रहेको भन्दै निःशर्त एमाले प्रवेश गर्नुभन्दा एमालेभन्दा अग्रगामी शक्ति माओवादीसँग एकता गर्नु उपयुक्त हुने उनीहरूको निष्कर्ष छ।

माओवादीसँग वार्ताका लागि उपाध्यक्ष अर्यालको नेतृत्वमा चार सदस्यीय वार्ता समितिसमेत गठन गरिएको छ।

प्रकाशित मिति: : 2025-01-21 15:32:00

प्रतिकृया दिनुहोस्