विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दैनिक १८ घण्टासम्मको लोडसेडिङ अन्त्य गर्न आफूलाई उपभोक्ताले ठूलो सहयोग गरेको बताएका छन्।
२०७३ सालको तिहारदेखि काठमाडौंलाई लोडसेडिङ मुक्त गरेसँगै २ वर्षभित्रै देशलाई लोडसेडिङ मुक्त बनाउने अभियानमा आफुलाई उपभोक्ताले ठूलो साथ दिएको उनले बताए।
शनिबार नेपाल इन्जिनियरिङ कलेजबाट स्नातक पुरा गरी बिदा भएका विद्यार्थीहरूलाई संवोधन गर्दै घिसिङले उपभोक्ताले विद्युत प्रयोग गर्ने व्यवहार परिवर्तन गरेकाले आफू लोडसेडिङ हटाउन सफल भएको बताएका हुन्।
‘उपभोक्ताको मागलाई कसरी म्यानेज गर्ने, उपभोगको शैली कसरी सुधार गर्ने कसैले सोचेकै थिएन। मैले एक नम्बरमा उपभोक्ताको व्यवहार र उपभोगको शैलीलाई परिवर्तन गरें। उपभोक्ताले पनि साथ दिनुभयो, त्यसपछि म सफल भए।’
कार्यकारी निर्देशक घिसिङले डेडिकेटेड र ट्रङ्क लाइनको बक्यौदाको विषय जनतालाई दैनिक १८ घण्टासम्म अन्धकारमा राखेर उद्योगहरूलाई दिइएको विद्युत भएको बताउँदै उक्त विद्युत उपभोगको रकम तिर्नैपर्ने बताए।
उनले भने, ‘जनतालाई लोडसेडिङमा पारेर तत्कालिन म्यानेजमेन्टसँग पनि मिलेर उद्योगीले २० घण्टा २४ घण्टासम्म विद्युत उपभोग गरेको पैसा नतिरेको आज मात्र हैन त्यो बेलादेखि नै लिन खोजेको हो। बीचमा उहाँहरूले धेरै अदालत र मुद्दा गर्नुभयो। त्यो लिनुपर्छ।’
लोडसेडिङको समय एउटै उद्योगलाई ४० मेगावाटसम्म सप्लाई हुने गरेको जिकीर गर्दै कार्यकारी निर्देशक घिसिङले ४० मेगावाट विद्युतले ४० वटा पहाडी जिल्लालाई पुग्ने दाबी गरे।
‘४० मेगावाट एउटै उद्योगमा सप्लाई हुन्थ्यो। ४० मेगावाटले १० वटा जिल्लालाई पुग्छ। बेलुकाको टाइममा एउटै उद्योगले ४० मेगावाट चलायो भने १० वटा जिल्ला अन्धकार हुन्छ।’ पहाडी जिल्लामा ४ मेगावाट पनि खपत नहुने घिसिङले बताए।