बुटवलको सुप्रिम सहकारीको रकम ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीमा मुद्दा दायर भएको छ।
जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले आइतबार रुपन्देही जिल्ला अदालतमा मुद्दा दायर गरेको हो। सरकारी वकिल कार्यालय रुपन्देहीले पूर्व गृहमन्त्री रवि लामिछानेसहित २२ जना विरुद्धको पुरक मुद्दा दर्ताका लागि अदालत पठाएको छ। योसँगै सुप्रिम सहकारी ठगी प्रकरणमा ४२ जना प्रतिवादी पुगेका छन्।
जिल्ला अदालतले सरकारी वकिल कार्यालयबाट प्राप्त अभियोजन पत्र रुजु र अध्ययनको काम गरिरहेको छ।
सुप्रिम सहकारीका १० हजार ३ सय ९१ जना बचतकर्ताको १ अर्ब ३१ करोडमध्ये ८६ करोड १८ लाख रुपैयाँभन्दा बढी रकम अपचलन भएको छ। त्यसमध्ये १४ करोडभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्कमा गएको प्रहरी अनुसन्धानमा खुलेको छ। गत शुक्रबार प्रहरीले पूर्व गृहमन्त्री रवि लामिछाने र पूर्व डीआइजी छविलाल जोशीसहित १४ जनालाई मुद्दा चलाउन रायसहितको प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझाएको थियो।
रुपन्देही सरकारी वकिल कार्यालय स्रोतका अनुसार उनीहरूविरुद्ध मुलुकी फौजदारी अपराध संहिताको ठगी र संगठित अपराधको कसुरमा मुद्दा दायर गरिएको छ।
प्रहरी स्रोतका अनुसार रविविरुद्ध व्यक्तिगत रूपमा २ करोड र गोर्खा मिडियाका नाममा सामूहिक २ करोड १५ लाख बिगो माग दाबी गरिएको छ। रविविरुद्ध व्यक्तिगत र सामुहिक गरी ४ करोड १५ लाख २८ हजार रुपैयाँ बिगो माग गरिएको हो।