जलश्रोत तथा सिँचाइ विभागमा कार्यरत तत्कालीन इन्जिनियर विष्णुकुमार श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध ४ करोड ८८ लाख ३० हजार ३२९ रुपैयाँ बिगो कायम गरी आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।
श्रेष्ठले लामो समय सिँचाइ तथा जल उत्पन्न प्रकोप नियन्त्रणका नाममा निर्माण हुने संरचनाहरुबाट ठेकेदारहरुसँग मिलेमतो गरी कमिसन लिएर काठमाडौँ, ललितपुरलगायत विभिन्न स्थानहरूमा घरघडेरी, जग्गाहरु, गाडी खरिद तथा विभिन्न कम्पनीका शेयर तथा कम्पनीमा लगानी गरेको तथा विभिन्न व्यक्तिहरुको नाममा समेत जग्गा जमिन र चलअचल सम्पत्ति लुकाई स्रोत नखुलेको गैरकानूनी सम्पत्ति आर्जन गरेको अख्तियारले जनाएकाे छ।
अख्तियारका अनुसार उनले सार्वजनिक पदमा रहँदा अख्तियारको दुरुपयोग गरी गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्ति र सोबाट बढेको सम्पत्तिसमेत पत्नी लक्ष्मी कुमारी श्रेष्ठ, बाबु हरि कुमार श्रेष्ठ, आमा इन्द्र कुमारी श्रेष्ठ र छोरा विवेक श्रेष्ठ समेतको नाममा राखेको देखिएको छ।
उक्त सम्पत्ति साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ग, दफा २९ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ ख बमोजिम जफत गर्ने प्रयोजनको लागि मात्र उनकी पत्नी, बाबुआमा र छोरालाई प्रतिवादी कायम गरिएकाे छ।
यस्ताे अख्तियार आरोपपत्र
प्रेस विज्ञप्ति
जलश्रोत तथा सिंचाइ विभाग वा अन्तर्गतका बिभिन्न कार्यालयहरुमा कार्यरत तत्कालीन इन्जिनियर विष्णु कुमार श्रेष्ठले लामो समय सिंचाइ तथा जल उत्पन्न प्रकोप नियन्त्रणका नाममा निर्माण हुने संरचनाहरुबाट ठेकेदारहरुसँग मिलेमतो गरी कमिसन लिई काठमाडौं, ललितपुर लगायत बिभिन्न स्थानहरूमा घर घडेरी जग्गाहरु, गाडी खरिद तथा बिभिन्न कम्पनीका शेयर तथा कम्पनीमा लगानी गरेको र बिभिन्न व्यक्तिहरुको नाममा समेत जग्गा जमिन र चलअचल सम्पत्ति लुकाई स्रोत नखुलेको गैरकानूनी सम्पत्ति आर्जन गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा निज विष्णु कुमार श्रेष्ठले सार्वजनिक सेवा प्रवेश गरेको मिति २०४६/०३/३० गतेदेखि मिति २०७७/०३/३१ गतेसम्मको जाँच अवधिमा तलब भत्ता रु.३२,०३,२६७।९४, बाबु हरि कुमार श्रेष्ठको तलब भत्ता रु.२,८२,४०४।-, बाबुको उपदान विदा बापत आय रु.६,२२,८६२।६२, कम्पनीहरुको मुनाफा आय रु.२०,८३,६३७।६९, श्रीमती लक्ष्मी कुमारी श्रेष्ठको पारिश्रमिक आय रु.१३,६६,३७५।-, छोरीको पारिश्रमिक आय रु.३,३१,५००।-, छोराको पारिश्रमिक आय रु.११,७९,४६०।-, जग्गा बिक्री (पैतृक र आर्जित दुवै) आय रु.१,८९,६३,०३६।६९, कृषि आय रु.२१,४९,९३२।६१, बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा आय रु.७,१७,६७,९६७।६२, घर बहाल आय रु.३३,८१,५८६।६६, नगद लाभांश रु.२,४०,१६७।८७, बीमा परिपक्व आय रु.२,१०,५४५।२१, बैंक ब्याज आय रु.२,०५,७७०।५९, जग्गा बिक्रीको बैना बापतको आय रु.९७,२००।०० र शेयर बिक्री आय रु.६४,७९,४८४।६७ गरी जम्मा रु.११,२५,६५,१९९।१७ (एघार करोड पच्चीस लाख पैसठ्ठी हजार एक सय उनान्सय रुपैयाँ र पैसा सत्र) निजको वैधानिक आयको स्रोत खुल्न आएको देखिएको।
त्यसैगरी, सोही जाँच अवधिमा विष्णु कुमार श्रेष्ठको एकासंगोल घर परिवारको नाममा जग्गा खरिद रकम रु.५,३२,०८,९४४।-, घर निर्माण लागत रकम रु.१,१२,६९,५३५।९४, कम्पनी स्थापना तथा सञ्चालन खर्च रकम रु.३२,००,०००।-, शैक्षिक तथा अध्ययन खर्च रकम रु.३०,४३,७६८।४५, बैंक तथा वित्तीय संस्थाहरुको कर्जा भुक्तानी रकम रु.७,३१,००,७७८।१७, शेयर खरिद रकम रु.१,३२,५५,४४५।५८, ब्यक्तिगत वैदेशिक भ्रमण रकम रु.१४,४०,०००।००, कम्पनीको कर भुक्तानी रकम रु.६०,७९०।-, बीमा प्रिमियम किस्ता भुक्तानी रकम रु.५,८५,१३५।-, विधुतीय उपकरण खरिद रकम रु.१,०५,०००।-, सुन खरिद रु.९,४०,०००।- र बैंक मौज्दात रकम रु.११,८६,१३१।५७ गरी जम्मा रु.१६,१३,९५,५२८।७१ (सोह्र करोड तेह्र लाख पन्चानब्बे हजार पाँच सय अठ्ठाइस रुपैयाँ र पैसा एकहत्तर) खर्च तथा लगानी गरेको देखिएकोले निज बिष्णु कुमार श्रेष्ठको जाँच अवधिमा रु.४,८८,३०,३२९।५४ (चार करोड अठासी लाख तीस हजार तीन सय उनान्तीस रुपैयाँ र पैसा चौवन्न) बराबरको खर्च तथा लगानी (सम्पत्ति) को स्रोत नखुलेको हुँदा निजले वैधानिक रुपमा सम्पत्ति आर्जन गरेको भन्ने वस्तुनिष्ठ आधार तथा प्रमाणबाट प्रमाणित गर्न नसकेकोले सार्वजनिक सेवाको पदमा बहाल रहँदा आफ्नो पदीय हैसियतको दुरुपयोग गरी गैरकानूनी सम्पत्ति आर्जन गरी अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको पुष्टि हुन आएकोले निजलाई साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) मा परिभाषित एवं निषेधित गरिएबमोजिमको कसुर गरेको पुष्टि भएको हुँदा निजलाई बिगो रु.४,८८,३०,३२९।५४ (चार करोड अठासी लाख तीस हजार तीन सय उनान्तीस रुपैयाँ र पैसा चौवन्न) कायम गरी साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ ले निर्देश गरे बमोजिम सोही ऐनको दफा ३ तथा दफा २९ को उपदफा (२) र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिमको कैद र जरिवाना हुनका साथै साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ३, दफा १६ग र दफा २९ को उपदफा (१) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख बमोजिम गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्ति जफत एवं असुल उपर हुन मागदाबी लिइएको।
साथै, निज विष्णु कुमार श्रेष्ठले सार्वजनिक पदमा रहँदा अख्तियारको दुरुपयोग गरी गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्ति र सोबाट बढे बढाएको सम्पत्तिसमेत पत्नी लक्ष्मी कुमारी श्रेष्ठ, बाबु हरि कुमार श्रेष्ठ, आमा इन्द्र कुमारी श्रेष्ठ र छोरा विवेक श्रेष्ठ समेतको नाममा राखेको देखिएको हुँदा उक्त सम्पत्ति साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ग, दफा २९ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख बमोजिम जफत गर्ने प्रयोजनको लागि मात्र निजकी पत्नी लक्ष्मी कुमारी श्रेष्ठ, बाबु हरि कुमार श्रेष्ठ, आमा इन्द्र कुमारी श्रेष्ठ र छोरा विवेक श्रेष्ठलाई प्रतिवादी कायम गरी आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।