राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेकाे बयान सुरू भएकाे छ।
आइतबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा उनकाे बयान सुरू भएकाे हाे। लामिछानेकाे बयान सकिएपछि थुनछेक बहस हुनेछ।
स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलन गरेको अभियोगमा मुद्दा दायर उनी आइतबार बिहान आफैँ अदालतमा हाजिर भएका हुन्।
पूर्वगृहमन्त्रीसमेत रहेकाे लामिछानेमाथि स्वर्णलक्ष्मी सहकारीकाे ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ हिनामिना गरेकाे आराेप छ।
यसअघि पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा तीन महिनाको अनुसन्धान तथा थुनछेक बहसपछि बिहीबार जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो। त्यसपछि उनी धरौटीमा रकम बुझाएर शुक्रबार काठमाडाैँ आएका हुन्।