३०३औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले सिंहदरबार अगाडि रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका छन्।
राष्ट्रपति पौडेलले शनिबार बिहान नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको सन्दर्भमा सिंहदरबार पश्चिम गेट पुगेर पृथ्वीनारायण शाहको शालीकमा माल्यार्पण गरेका हुन्।
पृथ्वीनारायण शाहको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ। विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो। विसं १७९९ चैत २५ गते पृथ्वीनारायण राजा भएका थिए।
त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो। पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार गर्न उनी सफल भएका थिए। पृथ्वीनारायणको शेषपछि उनका उत्तराधिकारीले पश्चिममा किल्ला काँगडासम्म नेपाल राज्यलाई विस्तार गरेको इतिहास छ।